छवि पुरी,लमही,चैत २५। लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ मा अर्घाखाँची विरुद्ध गुल्मीले ५ विकेटको जीत हासिल गरेको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा जारी प्रतियोगितामा गुल्मीले अर्घाखाँची विरुद्ध ५ विकेटले विजयी भएको हो ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज अर्घाखाँचीले दिएको ८४ रनको मध्यम लक्ष्य गुल्मीले १५ दशमलव २ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै जीत दर्ता गर्याे ।
गुल्मीका लागि सम्राट थापाले २९ बलमा २ चौकासहित अविजित २० रन जोडे । यसैगरी, लक्ष्मण घिमिरे ५ रनमा अविजित रहँदा बिक्रम गौतम १७ रन बनाएर सुप्रिम सुनारको बलमा बोल्ड भए ।
संगम न्यौपानेले ११रन, त्रिदेव कार्कीले १० रन, बिबेक भण्डारीले ८ रन बनाए । अर्घाखाँचीका मनोज भुसालले ३विकेट हात पार्दा बाबुराम थापा र सुप्रिम सुनारले १–१ विकेट लिए ।
यसअघि, टस हारेर ब्याटिङ गरेको अर्घाखाँचीले १७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनायो । अर्घाखाँचीका लागि ओपनर विशेष भाटले सर्वाधिक ३६ रन बनाए ।
उनले ४० बलको सामना गर्दै ३ चौकाको मद्दतमा ३६ रन जोड्दै रनआउट भए । रोशन घिमिरेले ३० बलमा १३ जोड्दै त्रिदेव कार्कीको बलमा बोल्ड भए । अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
अर्घाखाँचीलाई मध्यम लक्ष्यमा रोक्न गुल्मीका रामचन्द्र टण्डनले चार ओभर बलिङ गर्दै जम्मा ९ रन दिएर ६ विकेट लिए । त्रिदेव कार्की, सुरज सारु र प्रदीप भण्डारीले समान १–१ विकेट लिए ।
गुल्मीका लागि जीतको आधार तय गरेका ६ विकेट टेकर रामचन्द्र टण्डन प्लेयर अफ द म्याच भए । जीतसँगै गुल्मी क्वाटरफाइनल प्रवेश गरेको छ ।
प्रदेश सरकारको खेलकुद परिषदले पहिलो पटक आयोजना गरिएको प्रतियोगिता दाङको दुई खेल मैदानमा भईरहेको छ ।
प्रदेशमा क्रिकेटको विकासका लागि खेलकुद परिषदले लुम्बिनीका खेलाडीलाई एकैथलोमा राखेर प्रतियोगिता आयोजना गरेको लुम्बिनी प्रदेश खेलकुुद परिषदका सदस्य कैलाश रोका मगरले बताए ।
दाङमा पछिल्लो समय क्रिकेट प्रतियोगिता भईरहेका छन् । जिल्लामा पर्याप्त क्रिकेट पूर्वाधार र प्राविधिक जनशक्ति उपलब्धताका कारण सहज रुपमा प्रतियोगिता आयोजना गर्न सम्भव भईरहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैँयाले जानकारी दिए ।
उनले लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र घोराहीको घोराही क्रिकेट रंगशालामा एकै पटक खेल आयोजना हुँदा समय र लागत वचतसँगै खेलको प्रभावकारिता बढेको उनले बताए ।
चैत २८ गतेसम्म चल्ने प्रतियोगिताले खेलाडीका क्षमता विकाससँगै आगामी जेठमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका आधार तय गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए
उनले परिषदले पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीको अन्तरनिहित प्रतिभा उजागर गर्न सघाउ पुग्ने बताए ।
साथै, नेपाल क्रिकेट संघ क्यानले मान्यता नदिएका जिल्लामा रहेका प्रतिभावान खेलाडी पहिचान गर्ने प्रतियोगिताले उद्देश्य राखेको पनि बताए ।

