२०८२ बैशाख ७ गते शनिवार

लमहीमा जारी पिएम कप : आज पुलिस क्लब र कर्णाली प्रदेश भिड्दै


छवि पुरी,घोराही,चैत १२ । दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आज विभागीय टीम नेपाल पुलिस क्लब र कर्णाली प्रदेश टीम भिड्दैछन् ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज दुई टीम बीच बिहान ९ बजेपछि खेल शुरु हुनेछ ।

दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अपरााजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लब र पाँचौं स्थानमा रहेको कर्णाली प्रदेश टीम बीच खेल हुन लागेको हो ।

अहिलेसम्म ७ खेल खेलीसकेको पुलिस क्लब ७ खेलमा सतप्रतिशत जीत निकाल्दै १४ अंकका साथ शीर्ष स्थानमा रहँदा समान ८ खेल खेलीसकेको कर्णाली प्रदेश ४ खेलमा जीत र ४ खेलमा हार व्यहोर्दै ८ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा छ ।

आजको खेलमा कर्णालीलाई अन्तिम चारमा पुग्न जीत अनिवार्य छ ।

कर्णाली प्रदेशमा कप्तान दिवान पुनसँगै रविन्द्र शाही, सुनिल धमला, निश्चल रावल, विपिन रावल, दीपेन्द्र रावत, अर्जुन घर्ती, हिमांशु जोशी, दिनेश अधिकारी, प्रकाश जैशी, अनुज चनारालगायत खेलाडी छन् ।

नेपाल पुलिसमा कप्तान दीपेन्द्रसिंह ऐरीसँगै कुशल भुर्तेल, अमित श्रेष्ठ, रासिद खान, आरिफ शेख, गुल्सन झा, शंकर राना, दीलिप नाथ, करण केसी, सागर ढकाल, ललितनारायण राजवंशीलगायत खेलाडी छन् ।

जारी प्रतियोगिता अन्तगत लमहीमा आज अन्तिम खेल हो । यसपछिका बाँकी खेल रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा हुनेछ ।

फाईनल खेल चैत १६ गते सिद्धार्थ रंगशालामा हुने आयोजक नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा
३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् ।

राउण्ड रोविनका आधारमा भईरहेको प्रतियोगिता तीन खेल मैदानमा भईरहेकोे प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् ।

जसमा सोमबारसम्म ४० वटा खेल भईसकेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *