२०८२ बैशाख ७ गते शनिवार

गण्डकी प्रदेशले दियाे आर्मीलाई ११७ रनकाे विजयी लक्ष्य

छवि पुरी, लमही,चैत ८। दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा गण्डकी प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११७ रनकाे मध्यम विजयी लक्ष्य दिएकाे छ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे गण्डकी पदेशले ३० दशमलव ३ अाेभरमा सबै विकेट गुमाउँदै ११६ रन जाेड्याे ।

गण्डकीका लागि अाेपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाए । उनले ४९ बल खेल्दै ४ चाैकाकाे मद्दतमा ३३ रन जाेड्दै साहब अालमकाे बलमा बाेल्ड अाउट भए ।


पहिलाे विकेटका लागि १२ दशमलव ३ अाेभरमा ४६ रनकाे साझेदारी गरेका अर्जुन र समीर कँडेलकाे विकेट पतनपछि गण्डकीका अरुका खेलाडी सस्तैमा समेटिए ।


समीर ८ रन जाेडेर साहब अालमकाे बलमा पहिलाे विकेटका रुपमा अाउट भएपछि गण्डकीका अरु खेलाडीले पारी सम्हाल्न संघर्ष गर्नु पर्याे ।


दीपक डुम्रे १९ रनमा, कमल परियार १७ रनमा, कप्तान विपिन खत्री १५ रनमा अाउट भए । अरु खेलाडीले दाेहाेराे रन जाेड्न सकेनन् ।


अार्मीका साहब अालमले एक्लै पाँच विकेट चट्काए । उनले १० अाेभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए ।
कुशल मल्लले १० अाेभरमा १ मेडनसहित २४ रन दिएर २ विकेट लिँदा नरेन साउदले ३ बल फाल्दै १ रन दिएर २ विकेट लिए ।


दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्मी क्लब र पुछारमा रहेको गण्डकी प्रदेश टीम बीच खेल भईरहेकाे छ ।

अहिलेसम्म ६ खेल खेलीसकेको आर्मी ५ मा जीत र १ मा हार व्यहाेर्दै १० अंकका साथ दोस्रो स्थानमा रहँदा समान ६ खेल खेलीसकेको गण्डकी प्रदेश १ खेलमा जीत र ५ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको दशाैँ स्थान अर्थात पुछारमा छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड राेविनका आधारमा भईरहेकाे प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *