
दाङ,जेठ २४ । नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रेसलाई कमजोर बनाउन भन्दा पनि सवल र सक्षम बनाउन मिडिया काउन्सील बिधेयक ल्याएको बताएका छन ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले शुक्रवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले मिडिया काउन्सील विधेयकले प्रेसलाई नियन्त्रण गर्न भन्दा पनि समृद्ध बनाउनका लागि ल्याएको बताए । वर्तमान सरकारले मिडियालाई अंकुश लगाउने गरि विधेयक ल्यायो भनेर अतिरञ्जीत गर्ने काम भएको मन्त्री बास्कोटाको भनाई थियो ।
मन्त्री बास्कोटाले पत्रकार महासंघका पदाधिकारीलाई विधेयकलाई राम्रोसँग अध्ययन गर्न समेत आग्रह गरे । ‘नागरिक अधिकारमाथि अंकुल लगाउन गणतन्त्र ल्याएको होइनौ’,सूचना तथा सञ्चार प्रविधि मन्त्री बास्कोटाले भने,‘प्रेस र सञ्चारकर्मीलाई सवल र समृद्ध बनाउने गरि ल्याएको विधेयकबाट कोही डराउनु पर्दैन ।’ उनले नेपालको इतिहासमै पहिलो पटक सञ्चार माध्यमलाई देश र जनताप्रति सम्मानित, विश्वनिय र जिम्मेवार बनाउनका लागि सरकार लागी परेको बताए ।
पत्रकारिताको नाममा गलत सूचना दिने र जनतालाई भ्रममा पार्ने काम हुने गरेको भन्दै त्यस्तो प्रवृतिलाई रोक्न आवश्यक रहेको बताए । पत्रकारिताका नाममा गलत गर्नेलाई छुट हुन नसक्ने मन्त्री बास्तोलाको भनाई थियो ।
मन्त्री बास्कोटाले पत्रकार महासंघले आन्दोलन गर्नुको अर्थ नरहेको बताए । विधेयकमा पत्रकार तोकिएको जरिवाना गर्ने विषयलाई शंसोधन गर्न सकिने तर अन्य विषयमा छलफल गर्न आवश्यक नरहेको बताए । ‘पत्रकारलाई जरिवाना गर्ने विषयमा मलाई पनि धेरै भए झै लागेको छ,त्यो विषयमा छलफल गर्न सक्छौ’,उनले भने,‘तर अन्य विषयमा बहस गर्न आवश्यक छैन ।’ मन्त्री बास्कोटाले पत्रकार महासंघलाई न्यूनतम पारिश्रमिक ऐनका विषयमा बहस चलाउन आग्रह गर्दै साना तिना कुरामा नअल्झीन समेत सुझाव दिए ।
पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री बास्कोटाले सरकारले देशका सवै स्थानीय तहमा नेट–इनटरनेटको विकास गर्न लागेको बताए । त्यसका लागि सरकारले अर्काे बर्षसम्म देशका सवै शहरमा फोरजी पु¥याउने लक्ष्य राखेको बताएका थिए ।