
हेमराज शर्मा
दाङ, जेठ २२ ।
नेपाली काँग्रेसले थालेको राष्ट्रिय जागरणअन्तर्गत दाङको रामपुर र लक्ष्मीपुरमा कार्यक्रम भएका छन् । नेपाली काँग्रेस दाङको आयोजनामा क्षेत्र नं. २ का रामपुर र लक्ष्मीपुरमा छट्टाछुट्टै कार्यक्रम भएका हुन् । बक्ताहरुले नेपाली काँग्रेस एकजुट हुन नसक्दा गएको चुनावमा पराजय ब्यहोर्नु परेको भन्दै अश सशक्त रुपमा गाउँतहसम्म पार्टीका गतिविधिलाई लैजानु पर्नेमा जोड दिएका छन् ।
गाउँतहबाट आएका काँग्रेस कार्यकर्ताले चुनावका बेला काँग्रेसदेखि काँग्रेस नै डराउने अवस्था रहनु, केन्द्रमा देखिएको गुटगत राजनीति गाउँतहसम्म पनि रहनु, चुनावको टिकट वितरण ढिलो हुनु, एक नेताले अर्को नेतालाई सिध्याउने खेलमा लाग्नु, पार्टी संगठनलाई मजबुत तरिकाले चलाउन नसक्नुजस्ता कारणले काँग्रेसले चुनावमा पराजय ब्यहोर्नु परेको उनीहरुले बताए ।
विद्यमान समस्यालाई चिर्न सक्ने र काँग्रेसले काँग्रेसलाई भोट हाल्ने स्थिति ल्याउन सक्ने हो भने पार्टी मजवुत हुने बक्ताहरुको भनाई थियो । अहिलेसम्म भएका गल्तीलाई नेताहरुले आत्मसाथ गरी सुदृढ ढंगले पार्टीको कार्यक्रम गर्न सक्ने र अहिले सरकारले गरेका गल्तीलाई जनतासामु छर्लङ्ग पार्ने हो भने काँग्रेसले मजबुत हुने सुझावसमेत राखेका छन् ।
कार्यकर्ताको सुझाव सुनेपछि राष्ट्रिय जागरण अभियान सञ्चालनका लागि जिल्लामा खटिएका पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले काँग्रेसलाई जोगाइराखेका काँग्रेसका गाउँतहका कार्यकर्ताको मनोवल उच्च राख्दै पार्टी अब एक ढिक्का भएर हिडेको सन्देश दिन जागरण अभियान थालिएको बताएका थिए ।
काँग्रेसले गरेका राम्रा कुराको प्रचार गर्न नसकेकै कारण पार्टीले चुनावमा धेरै स्थान हारेको भन्दै उनले चुनावमा काँग्रेसदेखि काँग्रेस नतर्सिने बनाउन जागरण अभियानले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । अहिले कम्युनिष्टहरुको दुई तिहाइको सरकारले जनताको पक्षमा काम गर्न नसकेको तथा क्रमशः निरंकुशतातिर उन्मुख भएको भन्दै केन्द्रीय सदस्य बस्नेतले सरकारकै शैलीका कारण जनता निराश भएको आरोप तर्क गरे ।
नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको सभापतित्व एवं जागरण अभियानका केन्द्रीय प्रतिनिधि पार्टी केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा रामपुरमा भएको कार्यक्रममा बिषय प्रवेश काँग्रेस नेता कमलकिशोर घिमिरेले गराएका थिए । कार्यक्रममा काँग्रेसका पुराना नेता बुद्धिमणि पन्त, डिल्लीराज ज्ञवाली, माया भट्टराई, चन्द्रबहादुर केसी, छविलाल सुनार, चूडामणि आचार्य, लालबहादुर थापालगायतले काँग्रेसको गाउँतहमा देखिएका समस्याबारेमा जानकारी गराएका थिए ।
काँग्रेस साविक रामपुर इकाई सभापति रेवतीप्रसाद घिमिरेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले गरेका थिए । यसअघि मंगलबार बिहान काँग्रेसले थालेको राष्ट्रिय जागरणअन्तर्गत दाङको लक्ष्मीपुरमा पनि कार्यक्रम भएको थियो । कार्यक्रममा बक्ताहरुले वर्तमान सरकार विपक्षी सवै निकायलाई पेलेर देशमा सर्वसत्तावाद लाद्ने दिशामा अघि बढेको भन्दै काँग्रेसले त्यसलाई चिर्न जरुरी रहेकोमा जोड दिएका थिए ।
दाङका सभापति कीर्तिबहादुर खड्काको सभापतित्व एवं जागरण अभियानका केन्द्रीय प्रतिनिधि बस्नेतको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा काँग्रेस क्षेत्रीय सभापति गिरिराज सुवेदीले स्वागत मनतब्य राखेका थिए ।