राजेश खत्री,
दाङ, फाल्गुन २४ । १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राष्ट्र प्रमुखदेखि,प्रधानमन्त्री, शभामुख र मुख्य मन्त्री सबै सबैले शुभकामना दिए । देशभर भएका शहर बजारमा निकै तामझामका साथ दिवस मनाईयो । जहाँ श्रमिक महिलाका बारेमा श्रमिक महिलाको प्रशंशामा धेरै शब्दहरु व्यक्त गरियो । चर्चा परिचर्चा भए । शुक्रवार दाङको तुलसीपुरको एक पार्टी प्यालेसमापनि श्रमिक दिवसको अवसरमा यस्तै एउटा भव्य कार्यक्रम भयो । त्यहाँपनि त्यसैगरी श्रमिक महिलाको पक्षमा भाषणहरु भए । त्यसअवसरमा केही स्थापित महिला नेतृहरुलाई सम्मानपनि प्रदान गरियो । खादा र मालाले उनीहरुका घाँटी सजाइयो ।
तर, विडम्वना तुलसीपुरकै पातुखोलाको बगरमा भने कतिपय श्रमिक महिलालाई त्यसको अत्तोपत्तोपनि थिएन । उनीहरु मध्य कतिपय बालुवा चाल्दै थिए त कतिपय गिट्टी कुट्न तल्लिन थिए । काम नगरी मुखमा माड लाग्ने हैन । त्यसैले यस्ता श्रमिक महिलाहरुलाई न यस्ता सभासमारोहमा जाने फुर्सद नै हुन्न । उनीहरुलाई मतलव केवल हथौंडा र ढुंगाबीचको संघर्षपूर्ण जीवन मात्रै थाहाँ छ । हातभेला ठेला र पिठ्यूभरी ढुङ्गा तथा डोको बोकेका निलडाम अनि टाउकोमा नामलोको डोब । श्रमिक महिलाको परिचय यही हो । यस्ता बास्तविक श्रमिकहरुलाई यर्थाथमा उनीहरुकै लागि भनेर तुलसीपुरको पार्टी प्यालेसमा गरिएको कार्यक्रमका बारेमा कुनै अत्तोपत्तो समेत थिएन ।
बसपार्क नजिके पातुखोलाको बगरमा शुक्रवार दिउँसो घर निर्माणको काम गर्दै गरेको अवस्थामा भेटिएकी सिता पाण्डे जस्ता श्रमिक महिलाहरुको कुरा सुन्दा पार्टी प्यालेसमा आयोजित श्रमिक महिला दिवसको कार्यक्रमले उनैलाई गिज्याइरहेको जस्तै प्रतित हुन्थ्यो ।
पाण्डेले फरककोण संग भनिन् ‘खै कता आउछ श्रमिक महिला दिवस, हामी जस्तालाई केही थाहाँ छैन।’ उनले आफुहरु जस्ता श्रमिक महिलाहरुलाई त्यो कार्यक्रमले कुनै ढंगले पनि सम्वोधन गर्न नसकेको गुणासो गरिन । ‘दिनभर काम नगरे साँझ हातमुख कसरी जोड्न’ उनले यही भनिन् ।
सोही ठाउँमै काम श्रम गर्दै गरेकी अर्की महिला सीता सुनुवारले पनि श्रमिक महिलाको रुपमा होटेल र पार्टी प्यालेसहरुमा मनाइले दिवसको आफुहरु जस्ता श्रमिक महिला संग कुनै साइनो नरहेको बताइन । ‘यो दिवस त ठूला ठालु मान्छेलाई मात्र त हो नि आउने,’ सुनारले भनिन् ‘हामी जस्ता श्रमिक महिलालाई त्यस्ता कार्यक्रमको के अर्थ छ र ?’