यस पटकको चुनावमा तपाइंका मुख्य, मुख्य अजेण्डा के के हुन् ?
खासगरी जनजीवीकाका सवालनै मेरा एजेण्डा हुन् । पुरा गर्न नसक्ने, झुटा वाचा मैले मेरो राजनीतिक जीवनमा कहिल्यै गरिन । मेरा त्यति ठूला र पुरा हुननसक्ने योजनाहरु छैनन् । मेरा एजेण्डाहरु खासगरी शिक्षा, स्वास्थ्य, सिंचाई, सडक विद्युत र रोजगारी नै हन् । म सिंचाई मन्त्रीहुदा छोटै समयमापनि जिल्लामा सिंचाई क्षेत्रमा जुन विकास भयो, त्यसले समग्र कृषि उत्पादनमा टेवापुगेको छ । अझै जिल्लाका कतिपय स्थानमा सिंचाईको समस्या कायमै छ । यसलाई पुरा गर्नु छ । दंगालीउर्वर भूमिमा कृषिको सम्भावना छ । यहाँका थारु दाजुभाई तथा दीदीवहिनीको मुख्यपेशानै कृषि हो । हामीपनि कृषक हौ । तसर्थ कृषि क्षेत्रको विकासमा टेवापुग्ने विश्वासका साथ कृषिलाई आधुनिकीकरणगरि आयआर्जनमा वृद्धि गर्न कृषिकालागि आवश्यक सिंचाई लगाएतका पूर्वाधार, उपयुक्त बजारको व्यवस्था लगाएत नीतिगत कुराहरु मेरा एजेण्डा हुन् ।
गठबन्धनको साझा उम्मेदवारको रुपमा दांग – ३ को विकासका लागि तपाईंहरुका साझा कार्यक्रम के के छन् ?
गठवन्धनका साझा कार्यक्रमहरु पनि जनजीवीकासंगै जोडिएका छन् । शिक्षा, स्वास्थ्य, कृषि प्रसार सेवा, खानेपानी तथा सरसफाई लगायतका गरिबी निवारणसम्बन्धी सार्वजनिक सेवाहरुमा समावेशी पहुँच सुनिश्चित गर्नु, रोजगारीका अवसरहरु तथा बजारमा पहुँच सुनिश्चित गर्न शहरी तथा ग्रामीण विकास प्रवर्द्धन गर्नु, साना तथा मझौला उद्योग र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने, सीप विकास तालिममार्फत आयआर्जनका कार्यक्रम, उद्यमशीलताको विकास, स्वावलम्वी समूह गठन गर्ने र लघुवित्तलगायतका वित्तीय सेवाहरुमा तिनको पहुँच पुर्याउने लगाएतका कार्यक्रमहरु छन् ।
प्रदेश तहमा रहेको प्रदेश विकास प्राधिकरणलाई समग्र राप्तीउपत्यका भालुवाङ क्षेत्रमा नवनिर्माण हुने प्रदेश राजधानी क्षेत्रलाई पुरातात्विक नेपालकै नमुनाप्रदेश राजधानीको रुपमा विकास गर्नु, आधारभूत तथा माध्यमिक तहसम्मको साधारण तथा प्राविधिक तथा व्यावहारिक शिक्षालाई नि:शुल्क, महेन्द्र मावि तुलसीपुरलाइ मेगा विद्यालयको रुपमा स्थापना गर्ने प्रक्रिया थालनी, पश्चिम क्षेत्रको गौरवको रुपमा रहेको सामुदायिक क्याम्पस राप्तीबबई क्याम्पसको स्तरवृद्धि सहित आधुनिक क्याम्पसको रुपमा विकास, पालिकाहरुमा सिपमूलक तालिमको लागि सिपविकास केन्द्र स्थापना, सबै विद्यालयहरुमा इन्टरनेट सुविधासहित प्राविधिकशिक्षाको विकास, सबै विद्यालयमा नर् तथा खेलकुद शिक्षकको व्यवस्था, पाँचवर्षभित्र सामुदायिक विद्यालयलाई गुणस्तरीय शैक्षिक केन्द्रको रुपमा स्थापना गर्नु रहेका छन् । स्थानीय परम्परागत ज्ञान, सीप र प्रविधिको प्रवर्द्धन र संरक्षण कार्यक्रम, सबै विद्यालयहरुलाई आधुनिक प्रविधियुक्त बनाउने, प्रत्येक गाउँपालिका, नगरपालिकामा कम्तिमा एउटा प्राविधिक शिक्षालय खोल्ने नीतिलाई सुनिश्चितगर्दै युवाहरुलाई प्राविधिक शिक्षामा प्रोत्साहित गर्दै शिक्षालाई रोजगारी, स्वरोजगारी र उद्यमशीलतासँग जोड्ने तथा स्व-उद्यम गर्न चाहने युवालाई अनुदानतथा सहुलियत ऋणको व्यवस्थामिलाउने, भौगोलिक विकटताको आधारमा नक्साङ्कन गरी विपन्न विद्यार्थीलाई लक्षित गरी आवासीय सामुदायिक बिद्यालय स्थापनामा जोड, यस्ता विद्यालयहरुमा विपन्न समूहका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था, परम्परागत विद्यालय गुरुकुल, मदरसा, गुम्बाको शिक्षालाई शिक्षाको मूलधारमा समाहित गराउन राष्ट्रिय योग्यता प्रारूप वनाउने, उच्च माध्यमिक विद्यालय र उच्च शिक्षाका विद्यार्थीहरुको लागि आर्थिक भार कम गर्न विद्यार्थी आयआर्जनको क्रियाकलापमा संलग्न गराइने छ ।
साथै व्यवसायमुखी कृषिविकास र प्रवर्द्धनमा नीतिगत रुपमा व्यवस्थापन गरिनेछ । कृषि तथा पशुपालनको बजार विकास, कृषि सडकको विकास र साना सिचाइँ आयोजनाको निर्माण तथा सुधार, तुलनात्मकरूपमा लाभमुखी एवं उच्चमूल्यका कृषिउपजको बजारीकरण निर्यात प्रवर्द्धन गर्ने, भूमिव्यवस्था, शहरी तथा गरिबी निवारणसम्बन्धी कार्यहरुमा राष्ट्रियस्तरमा प्रभाव नपर्ने स्थानीय नाप, नक्सा, सीमानापी आदिकार्य गर्ने, मुक्त कमैया, हलिया लगायत गरिब लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, गुठीकोष तथा ट्रष्टहरुको व्यवस्थापन गर्ने, पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन डिस्पेन्सरी सञ्चालन एवं प्रयोगशालामा सुधार, कृषि तथा पशु बिमा अभियान, सार्वजनिक स्थानमा नि:शुल्क इन्टरनेट सेवाको पहुँच, टेलिफोन, इन्टरनेट आदिको पहुंचमा वृद्धि, सूचनाको हकसम्बन्धी कानूनलाई व्यवहारमा कार्यान्वयन; पत्रकारहरुको क्षमता विकास, लेखनवृत्ति र पत्रकारिताको प्रवर्द्धन लगाएतका साझा कार्यक्रमहरु रहेका छन् । शहिद, द्वन्द्व पीडितका परिवार, अपाङ्गताभएका, दलित, विपन्न, मुक्तकमैया, कम्लहरी, मुस्लिम विद्यार्थीहरुलाई, विद्यालय तथा उच्च शिक्षा अध्ययनमा विशेष छात्रवृत्तिका कार्यक्रमहरु छन् ।
मेडिकल कलेज दाङ्गमा, त्यो पनि क्षेत्र नं ३ मै, खुल्ने भन्ने सम्भावना के छ? यो तपाईंहरुको सस्तो प्रचारबाजी मात्रै त होइन?
स्वास्थ्य क्षेत्रमा दाङ्गमा धेरै काम गर्नु छ । अझै पनि यहाँका आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु सामान्य उपचारका लागि समेत नेपालगञ्ज र लखनऊ जानु पर्ने बाध्यता छ । त्यसैले स्वास्थ्य क्षेत्रको विकाससंगै मेडिकल कलेज पनि जोडिएको छ । यो यहाँको आवश्यकता हो ।उसो त गाँऊपालिका स्तरमा रहेका स्वास्थ्य केन्द्रलाई सुविधायुक्त बनाउनु, राप्ती प्रादेशीक अस्पताललाई सुविधायुक्त बनाउन पनि मैले काम गर्ने छु ।
तपाईंले टरिगाउँ विमानस्थल स्तरोन्नतिको कुरा गर्नु भएको छ। गठबन्धनले सरकार बनायो भने यो विमानस्थलको लागि के गर्छ?
हामी अहिले पनि टरिगाउँ विमानस्थल स्तरोन्नतिको सवालमा गम्भीर भएर लागिपरेका छौ । जिल्लामा छुट्टै विमानस्थलभन्दा पनि भएका संरचनालाई स्तरोन्नति गर्दै राज्यको व्ययभार कमगर्दै विकासका कार्यभारहरु अघि बढाउनुपर्दछ भन्ने हाम्रो मान्यता हो । टरिगाउँ एयरपोर्टमा नियमितरुपमा ठूला प्लेन चलाउने योजना रहेको छ । अहिले रनवे सानो हुँदा सानामात्रै प्लेनले उडान गर्दै आएका छन् ।
अहिलेको गठबन्धन सरकारले एयरपोर्टभित्र सुधारका कामगरिरहेको छ । टर्मिनलभवनको ठेक्काप्रक्रिया अघि बढेको छ भने फ्युल सेन्टर निर्माणको कामपनि अघि बढ्छ । दाङकामानिसलाई प्लेन चढ्नकालागि नेपालगञ्ज र भैरहवाजाने अवस्थाबाट मुक्त गराएर यहाँको पयर्टनलाई अघि बढाउन सकिन्छ ।
रनवे विस्तारका लागि हामीसँग पर्याप्त जग्गा छ । यहाँका मानिसहरु पनि मुआब्जा दिएपछि आफ्नो जग्गा छोड्न तयार छन् । तुलसीपुरमा पहिला नै संरचना बनि सकेकाले अहिलेको अवस्थामा ८ किलोमिटर टाढा रहेको नारायणपुरमा एयरपोर्ट बनाउने योजना राज्यकालागि व्ययभार मात्र हो ।
शैक्षिक बेरोजगारी दांगमा एउटा प्रमुख समस्याको रुपमा देखिएको छ। तपाईं जितेर जानु भयो भने रोजगारी सिर्जना गर्न के काम गर्नु हुन्छ?
रोजगारीका अवसरहरु तथा बजारमा पहुँच सुनिश्चित गर्न शहरी तथा ग्रामीण विकास प्रवर्द्धन गर्ने, साना तथा मझौला उद्योग र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने, सीप विकास तालिममार्फत आयआर्जनका गतिविधि सहजीकरण गर्ने, उद्यमशीलताको विकास, स्वावलम्वी समूह गठन गर्ने र लघुवित्त लगायतका वित्तीय सेवाहरुमा तिनको पहुँच पुर्याउने, वैदेशिक रोजगारीबाट फर्किएका, विदेशमा पढेर वा सेवाप्रदान गरेका उच्च र दक्ष जनशक्ति संग रहेको सीप, अनुभव र स्रोत परिचालन गरी उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्न नेपालीकांग्रेस प्रतिवद्ध छ । कांग्रेस पार्टी र गठबन्धनको प्रतिबद्धता अनुसार दाङ्गमा रोजगारीका नयाँ, नयाँ अवसरहरु सिर्जना गर्ने कामलाई मैले उच्च प्राथमिकता दिने छु।
तपाईं सिंचाई मन्त्री हुँदा शुरु भएका कतिपय आयोजना अझै पनि पुरा हुन सकेका छैनन्? ती आयोजना पुरा गर्ने तपाईंको योजना के छ?
म सिंचाई मन्त्री हुनुपूर्व सांसद हुँदा पनि मेरो निर्वाचन क्षेत्रमा मैले धेरै विकासका योजनाहरूको लागि बजेट व्यवस्था गरी कार्यान्वयनमा ल्याईसकेको थिएँ। जस्तै : दामोदर सडक खण्डमा पातुखोलाको मोटरेवल पुल, मैयाखोलाको मोटरेवल पुल, चिरेगाड खोलाको मोटरेवल पुल ; फुर्केसल्ली बालापुर मख्खनटाकुरी सडक खण्डमा बबई नदिमा बैबाङ्ग गोलटाकुरी बाकीको मोटरेवल पुल; मलई कोरबाङ जुम्लेकुला सुन्दरादेवी भगवती मन्दिर सडक खण्डमा बबई नदिमा ढोलपुर मठेउराको मोटरेवल पुल; तुल्सीपुर कटकुईयाँ सडक खण्डमा गहते खोलामा कटकुईयाँ नयाँबस्ती मोटरेवल पुल जस्ता योजनाहरू टेण्डर गरेर निर्माण प्रक्रियामा गईसकेका थिए भने शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा, पुनर्निर्माण, क्षेत्रमा भौतिक निर्माण तथा प्राविधिक क्षेत्रका योजनाहरू पनि म मन्त्री हुनु पहिले नै कार्यान्वयनमा आईसकेका थिए । यद्यपि फरक यति छ, म सांसद मात्र हुँदा मैले मेरो जिल्ला, निर्वाचन क्षेत्रका योजनाहरूलाई प्राथमिकता दिएको थिएँ तर मन्त्री भए पश्चात् राष्ट्रिय रूपमै विकासका योजनाहरू कार्यान्वयनमा ल्याउन समर्पित भएको हुँ । म सिचाई मन्त्री भए पश्चात्, बृहत दाङ उपत्यका सिंचाई आयोजना, रूपाताल संरक्षण आयोजना कास्की, जोखिम युक्त पहिरो नियन्त्रण आयोजना ललितपुर, लगायत विविध परियोजना र आयोजनाहरूको स्थापना गरी कार्यान्वयनमा ल्याएँ । गुरूयोजना बनाएर पश्चिम राप्ती नदि, बबई नदि लगायत दांग जिल्लाका अन्य खोलाहरूको तटबन्ध गरी जग्गाजमिन तथा मानव वस्तीहरूको संरक्षण गर्न तटबन्धका योजनाहरू कार्यान्वयनमा ल्याउने कार्य भएका हुन् । राष्ट्रिय गौरवका आयोजनाहरूलाई तदारूकतासाथ निरन्तरता दिन र सम्पन्न गर्नतर्फ म समर्पित भएँ । समृद्ध तराई मधेस सिंचाई आयोजना क्षेत्र विस्तार, विभिन्न सिंचाई तथा नदि तटबन्धको लागि राष्ट्रिय रूपमा बजेट व्यवस्थापन एवम् नीतिगत सुधारहरू गरेको थिएँ । मेरो कार्यकालमा सिंचाईको लागि ठाउँठाउँमा नहरहरू, जलासयहरू, डीप बोरीङ निर्माण गरिए। सडकहरू निर्माण तथा कालोपत्रेका केन्द्रीय योजनाहरू सुचारू भए । हापुरे कोहलपुर सडक, सुकौरा चरकमटिया सडक, बंगलापुर फुर्केसल्ली मलई सडक, दोघरे प्रतापकोट मख्खनटीकुरी सडक, पवन नगर हेल्थपोष्टदेखि सुकेकोट मन्दिर सडक जस्ता केन्द्रीय सडकहरू मैले शुरूवात गरेको थिएँ। तर विडम्वना नै भन्नु पर्छ, म सांसद र मन्त्री हुँदा शुरू भएका राष्ट्रिय र जिल्लागत रूपमा सुचारु भईरहेका केहि अल्पकालीन र दीर्घकालिन योजनाहरू केपी ओली सरकारले अवरोध ग-यो । २०७४ सालको निर्वाचनमा म पराजित भए पनि म मेरो गृह जिल्लामा विकास गर्न र आम दांगवासीको सेवामा अनवरत समर्पित छु। चालु आर्थिक वर्ष २०७९/८० मा पनि मैले स्थापना गरेको दाङ बृहत उपत्यका सिंचाई आयोजना मार्फत ३१ करोड ६१ लाख बजेट विनियोजन गरी दांग उपत्यकामा १७२ वटा सिंचाई योजनाहरू कार्यान्वयनमा आएकाछन् । जस मध्ये १०३ वटा सिंचाई योजनाहरू दाङ-३ मा पर्दछन् ।
म निर्वाचित भए पश्चात् विगतमा मेरो कार्यकालमा थालनी भएका सिंचाई, भौतिक एवम् विकासका योजनाहरूलाई पूर्णता गर्नतर्फ म दृढ़ताका साथ अग्रसर हुनेछु । दाङ तुल्सीपुरस्थित टरीगाउँ एयरपोर्टलाई ए क्लासको डोमेस्टिक एयरपोर्ट बनाउने, अमिलिया तुल्सीपुर सल्यान रुकुम राजमार्गलाई स्तरोन्नतिकासाथ कालोपत्रे गर्ने, तुल्सीपुर सुर्खेत सडक कालोपत्रेलाई पूर्णता दिने, हापुरे कोहलपुर सडक निर्माण गर्ने, पुरन्धारा विजय नेटा सल्यान सडक निर्माण गर्ने लगायत कृषि, स्वास्थ, शिक्षा, पर्यटन, संस्कृति तथा विविध क्षेत्रमा टेवा पुग्ने गरी योजना एवम् परियोजनाहरू पूरा गर्ने मेरो मूलभूत लक्ष हुनेछ ।
नेकपा एमालेकी एक लोकप्रिय नेत्री तपाईंकी प्रतिद्वन्दी हुनुहुन्छ। यसलाई कसरी हेर्नु भएको छ ?
म निरन्तर सक्रिय राजनीतिमा होमिएको, लोकतन्त्र र नागरिक अधिकारका लागि समर्पित एक सच्चा सिपाही हुँ । मैले आफ्नो उर्जाशील समय दांगको समृद्धि र आमाबुवा, दाजुभाई तथा दिदीबहिनीको जीवन स्तरमा वृद्धिकै समर्पित गरेको छु । म एक दुइदिनको लागि राजनीतिमा आएको होइन । राजनीतिक रुपमा म अविचलित, अविछिन्नरुपमा आफ्नो कर्म गर्ने व्यक्ति हुँ । चाहे वि.सं. २०३० सालमा १३ वर्षकै उमेर तुलसीपुरस्थित महेन्द्र माविवाट गिरफ्तारीमा परेको घटना होस् वा अञ्चलाधीशको ठाडो आदेशमा पटक पटक हिरासतमा परेको प्रसंग नै किन नहोस्, यस्तै वि.सं २०६२/०६३ मा काठमाण्डौंको गंगबुमा जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रसंग नै किन नहोस् यी सवै घटनाक्रमसंग प्रजातन्त्र र लोकतन्त्र नै जोडिएको छ । त्यसबाहेक मैले आज सम्म प्रतिनीधिसभामा एकपटक प्रतिनिधित्व गर्ने अवसर पाएं, र म छाटो समयका लागि मन्त्री पनि भएं । त्यो छोटो समयमा मैले विकासको दृष्टिवाट के के गरें दंगालीजनतासामे जगजाहेर नै छ । लोकतान्त्रिक आन्दोलनमा कुनै योगदान नगरेकी, बरु उल्टै आन्दोलनको चर्को विरोध गरेकी, रातारात दलबदल गर्दै एमाले प्रवेश गरेकी उम्मेदवार र मेरो बीचमा कसलाइ र किन रोज्ने भन्ने बारेमा दाङ्ग -३ का आदरणीय मतदाताहरुमा कुनै द्विविधा छैन भन्नेमा म ढुक्क छु।
तपाईं यो क्षेत्रबाट विजयीहुने आधार के के छन्?
प्रतिनिधि सभामा दीपक गिरीको बलियो उपस्थितीले जिल्लाको वृहत्तर विकासमा धेरै अर्थ राख्दछ भन्ने कुरा आम दांगवासीले महसुस गर्नु भएको छ । वि.सं. २०७४ को निर्वाचनमा मेरो अनुपस्थितीले सिंगो जिल्लालाई नोक्सान पुग्यो भन्ने कुराको महसुस आम दंगालीवासीलाई भएको छ । यसपटक दंगाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीले प्रतिनिधि सभामा जिल्लागत बलियो उपस्थितीको अपेक्षापनि गर्नुभएको छ । यो संगै जुन लक्ष्य र उद्देश्यका साथ हाम्रो साझा गठवन्धन बनेको छ यो पनि चुनावमा विजयी हुने प्रमुख आधार हो । साझा गठबन्धनको तर्फवाट प्रदेशसभामा प्रदेश सरकारकै नेतृत्व गर्न सक्ने सम्भावना भएका नेताहरु दांग जिल्ला क्षेत्र नं ३ (क) मा डिल्लीबहादुर चौधरी र दांग क्षेत्र नं. ३(ख) मा धन बहादुर मास्की (राजेश) साझा उम्मेदवार हुनुहुन्छ ।
अन्त्यमा, दाङ क्षेत्र नं ३ का बासिन्दालाई के भन्न चाहनु हुन्छ?
दाङ क्षेत्र नं ३ का वासिन्दा आदरणीय आमाबुवा, दाजु भाई तथा दिदीबहिनीलाई मेरो विनम्र अनुरोध छ कि यसपटक मलाई प्रतिनिधि सभा सदस्य पदकालागि रुख चिन्हमा तथा क्षेत्र नं ३ (क) मा डिल्लीबहादुर चौधरी र दांग क्षेत्र नं. ३(ख) मा धनवहादुर मास्की (राजेश) लाई हंसियाहथौडा चिन्हमा अमूल्य मत दिएर विजयी बनाउनुहोस् । हामी समृद्ध दांगकालागि योजनाबद्ध कार्यहरु अघि बढाउंछौ । हाम्रा पूर्वजहरुले विकासकालागि पूर्वाधारहरु बनाउनु भएको छ । त्यसमा हामीले केहि योगदान गरेका पनि छौं । अब ती पूर्वाधारहरुलाई अन्तिम रुप दिनु पर्ने छ । यसकालागि हामीलाई एक पटक फेरि मौका दिनुस् भन्न चाहन्छु ।
श्रद्धेय नेता स्व. खुमवहादुर खड्का तथा श्रद्धेय नेता बलदेव शर्मा मजगैयांको यो जिल्लाको वृहत्तर विकासमा ठूलो योगदान छ । उहाँहरुले कोर्नुभएको मार्गचित्रलाई गन्तव्यमा पुर्याउनु छ । दाङवासीको मुहारमा फेरि पनि आशाको किरण जगाउनु छ । यसकालागि यसपटक गठवन्धन दललाई विजयी बनाउनु मुलुकका लागि आवश्यकता हो ।