बुटवल,असोज २८ । लुम्बिनी प्रदेशका सबै ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादी उम्मेदवारविहीन भएका छन् ।
सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेसले ३३, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा एकीकृत समाजवादी भने उम्मेदवारविहीन भएको हो ।
प्रतिनिधि सभा सदस्यतर्फ प्रदेशका २६ सिटमा दाङ–१, पाल्पा २, गुल्मी–२ र रुपन्देही–२ गरी ४ सिट पाएको एकीकृत समाजवादी प्रदेशसभाको प्रत्यक्षतर्फ भने शून्य उम्मेदवार भएपछि भावी प्रदेश सरकारमा उपस्थिति नहुने सम्भावनाले पार्टीभित्र असन्तुष्टी बढेको छ ।
प्रतिनिधि सभामा चार सिट पाएकाले र उनीहरुको जितका लागि कांग्रेस र नेकपा माओवादी केन्द्रको मत पनि आवश्यक पर्ने भएकाले प्रदेशसभामा टिकट नपाएको विषय एकीकृत समाजवादीका नेताहरुले उठाउन सकेका छैनन् ।
‘हाम्रो पार्टीले प्रदेश सभाका कम्तीमा ७ क्षेत्र मागेको थियो, तर नियोजितरुपमा एक सिट पनि दिइएन’, प्रदेश कमिटीका एक पदाधिकारीले भने, ‘कांग्रेस र माओवादी मात्रै मिलेर वहुमत पुर्याउने र सरकार चलाउने योजना बनाएको देखियो ।’
गठबन्धनका नाममा माओवादीले मात्रै फाइदा लिएकाले आफ्नो पार्टी अन्याय र पीडामा परेको उनको दुखेसो छ । ‘खुलेर विरोध गर्दा प्रतिनिधि सभामा पाएका क्षेत्रमा उनीहरुको भोट नपाएर हार्ने डर छ’, एकीकृत समाजवादीका अर्का एक नेताले भने, ‘चार जना नेताको भाग पुर्याउन खोज्दा प्रदेशमा पार्र्टी कमजोर र प्रदेश सभामा उपस्थिति शून्य हुने डर भयो ।’
लुम्बिनी प्रदेशसभामा समानुपातिक पद्धतिको मतको आधारमा मात्र एकीकृत समाजवादीका सांसद निर्वाचित हुन सक्छन् । समानुपातिकतर्फ कम मत आएमा प्रदेशसभा र प्रदेश सरकारमा पार्टीको उपस्थिति नहुने देखेपछि कार्यकर्ताहरुमा निराशा बढेको छ ।
एकीकृत समाजवादीका प्रदेश इन्चार्ज भागवत विश्वासीले भागवण्डामा गठबन्धनले एक सिट पनि नदिएपछि पार्टीले कपिलवस्तु, बर्दिया, बाँके लगायतका जिल्लाका प्रदेश सभा क्षेत्रहरुमा उम्मेदवारी दिएर गठबन्धनको साथ खोजेको तर उनीहरुले नमानेको स्वीकारे ।
‘हामीमाथि अन्याय र पीडा भएपनि गठबन्धनको पक्षमा उभिनुपर्ने वाध्यता छ’, उनले भने । यसअघि लुम्बिनी प्रदेशसभामा एकीकृत समाजवादीबाट एकजना सांसद थिए । प्रदेशसभाको कार्यकालको अन्तिममा ८१ प्रदेशसभा सदस्य कायम रहँदा नेकपा एमालेको ३६, कांग्रेसको १९, माओवादीको १९, जसपाको ४, राष्ट्रिय जनमोर्चाको एक सांसद थिए ।