तुलसीपुर, असोज २ । दाङको घोराहीमा सहोदर बहिनीले नै केटा साथीसंग मिलेर आफ्नै दाजुको अटो रिक्सा मध्य रातमा आगो लगाएकी छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १५ बिपी चोक नजिक कोठा भाडामा बसेर अटो चलाउँदै आएका टेकबहादुर खत्रीको रा १ ह ८६६० नम्बरको पार्किङ गरि राखेको अटोमा भदौ ३१ गते राति साढे १ बजेतिर आगो लगाएको थियो ।
खत्रीले उक्त अटो आँफु भाडामा बस्दै आएको घर अगाडि पार्किङ गरेर राखेका थिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले अनुसन्धानबाट उक्त अटो खत्रीकी आफ्नै बहिनी बाग्लुङ जिल्लाको साबिक हिल गाविस वडा नं. २ घर भइ झन्डै एक महिनादेखि घोराही १५ मै छुट्टै कोठामा बस्दै आएकी २९ बर्षीया कमला दर्जी र ललितपुर महानगरपालिका वडा नं. १७ कृष्ट हस्पिटल चोक स्थायी घर भइ दर्जी संगै बस्दै आएका २३ बर्षीय मिलन पौडेलले मिलेर आगो लगाएको तथ्य खुलेको जानकारी दिए ।
कमला र मिलन भदौ ८ गते मात्रै काठमाडौंबाट घोराही आएका थिए । कमला पहिले नै बिबाहित महिला हुन ।
त्यही कारण दाजुले कमलाको चरित्र बारे प्रश्न उठाउँदै गाली गरेका थिए । त्यसैको बदला लिन कमला र मिलनले मिलेर पार्किङ गरि राखेको अटोमा आगो लगाएको तथ्य अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
यद्यपी पौडेलले कमलालाई अरु समक्ष बोलाउँदा दिदी भन्ने गर्दथे । डिएसपी गौतमले उनीहरुका बीचमा त्यो बाहेक अरु सम्बन्धपनि रहेको कुरा खुलेको जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
आरोपित कमला र मिलनलाई पक्राउ पछि प्रहरीले सार्वजनिक गरेको छ । आगजनीबाट अटो पूर्ण रुपमा जलेर नष्ट भएको छ ।