तुलसीपुर,भदौ १७ । तुलसीपुर बजारमा पार्किङका लागि भनेर छुट्याइएको स्थानमा ब्यबसाय संचालन गरेको पाइएको छ ।
तुलसीपुरको बजारको ‘क’ लाइन, ‘ख’ लाइन, ‘ग’ लाइनमा पार्किङ स्थलसहितको घर निर्माण गरिएको भएपनि त्यसमा पसल, होटल, गोदामहरु सञ्चालन हुँदै आएका छन् ।
तुलसीपुरको ‘क’ लाइनस्थित राष्ट्रिय वाणिज्य बंैक बसेको घरको पार्किङ गर्ने स्थानमा होटल तथा बुटिक पसल सञ्चालन गरिएको छ ।
नबिल बैंक भएको घरको पार्किङ स्थलमा गोदाम राखिएको छ । काठमाडौंमा महानगरपालिकाले धमाधम पार्किङ खाली गराइ रहँदा यहाँ भने मनपरी भएको पाइएको छ ।
तर, अब भने तुलसीपुर उपमहानगरपालिकाले घरधनी तथा सम्बन्धित व्यवसायीलाई पत्र पठाउने तथा पार्किङ स्थल खाली गर्ने तयारी गरिरहेको छ ।
शुक्रबार अनुगमन उपमेयर स्यानी चौधरीले त्यस्तो बताएकी हुन ।
‘पार्किङ स्थल भनेर घर बनाइएपनि ती स्थानमा व्यवसाय सञ्चालन गरेको पाइयो,’ उनले भनिन् ‘अब उपमहानगरपालिकाले पार्किङ स्थल खाली गराउनका लागि अल्टिमेटम सहितको पत्र पठाउँछ ।’
पार्किङ स्थलमा व्यवसाय सञ्चालन गर्दा सडकमै गाडी, बाइक पार्किङ गर्नु परेको छ । जस्ले सडकको शोभा मात्रै घटाउँदैन दुर्घटनाको जोखिमपनि उत्तिकै निम्त्याइ रहेको छ ।
यो कुरा तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव बिनिल केसीले गरेका थिए । तुलसीपुर बजारमा अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्न जरुरी रहेको उनले आवश्यक्ता औंल्याए ।
‘चार्डपर्व नजिकिएसंगै बजारमा किलमेल गर्नेको भीड हुने र अव्यवस्थित पार्किङका कारण बजारको सुन्दरता हराउनुका साथै दुर्घटनाको जोखिम पनि उत्तिकै हुने गर्छ,’ उनले भने ‘ अब पार्किङलाई व्यवस्थित बनाउन तर्फ सबै लाग्न जरुरी छ । त्यसमा वाणिज्य संघले संधै हातेमालो गर्न तयार छ ।’
तुलसीपुर बजार क्षेत्रमा जथाभावी रुपमा थुपारिएका निर्माणका सामग्री ढुङगा, गिट्टी, बालुवा निर्माण सम्पन्न भएको लामो समयसम्म बाटोमै राखेकाले घरधनीले नहटाए अब उपमहानगरपालिकाले लैजाने उपमेयर चौधरीले बताइन ।
अनुगमन पछि तुलसीपुरका ट्राफिक प्रहरी कार्यालयका प्रमुख उत्तमकुमार जिसीले उपमहानगरपालिकाले ‘ग’ लाइनमा पिचदेखि बाहेकको सडक क्षेत्र डोजरले सम्माएर रोलर लगाएमा पार्किङको लागि ठाउँ उपलब्ध हुने सुझाएका थिए ।