२०८१ चैत्र ६ गते बुधवार

वडा कार्यालयमा लुम्बिनी प्रदेशका मन्त्रालय र निर्देशनालय स्थापना

दाङ,भदौ १० । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले भालुबाङमा स्वास्थ्य निर्देशनालय स्थापना गरेको छ। राप्ती गाउँपालिका वडा नं.१ को कार्यालयमा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको हो।

वडा कार्यालयलाई अन्य भवनमा व्यवस्थापन गरेर स्वास्थ्य निर्देशनालयको सेवा सुरु गरिएको हो। राजधानी कार्यान्वयनको क्रममा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको जानकारी स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले दिए।

‘स्थायी राजधानी कार्यान्वयनको चरणमा छौँ। अन्य कार्यालयहरु पनि आउछन्’उनले भने–‘प्रदेश राजधानी कार्यान्वयन हाम्रो पहिलो प्राथमिकता छ। त्यही भएर यसमा हामीले बेसी ध्यान दिएका छौँ।’ यसअघि सिसहनीयामा स्वास्थ्य मन्त्रालय स्थापना गरिएको थियो। मन्त्रालय र निर्देशनालय मिलेर प्रदेशभरी स्वास्थ्य सेवा प्रवाहको लागि काम गरिने स्वास्थ्य सचिव विकास देवकोटाले बताए।


‘मन्त्रालय स्थापना गर्न पनि निकै साथ सहयोग मिल्यो। अहिले निर्देशनालयको काममा पनि समुदायस्तरबाट प्राप्त भएको सहयोग ठुलो रह्यो’उनले भने–‘सरकारले राजधानी कार्यान्वयनलाई ध्यान दिदै मन्त्रालय र बिषयगत कार्यालयहरु स्थानान्तरण गरिरहेको यहाँहरुलाई जानकारी नै छ।’

मुख्यमन्त्री तथा मन्त्रीपरिषद, अन्य मन्त्रालयहरु पनि बुटवलमा भएकाले स्वास्थ्य मन्त्रालय केही समय सुनसान जस्तै बन्यो। पछी मन्त्री र सचिवहरु मन्त्रालयमा बस्न थालेपछी अहिले सिसहनियाबाट मन्त्रालयको कामकाज भइरहेको छ।

वडा नं. १ को कार्यालय भवन निर्देशनालयको कार्यालय सञ्चालन गर्न दिएर वडा कार्यालय भाडाको घरमा सारिएको वडा अध्यक्ष गेमबहादुर खड्काले जानकारी दिए।

‘राजधानी कार्यान्वयनमा हाम्रो पनि दायित्व र जिम्मेवारी रहनुपर्छ। त्यही भएर हामी बसेको कार्यालय स्वास्थ्य निर्देशनालयलाई दिएका हौँ’वडा अध्यक्ष खड्काले भने–‘राजधानी संग जोडिएका मन्त्रालय र अन्य कार्यालयहरुलाई स्वागत गर्न र तिनको व्यवस्थापनमा जुट्न हामी तयार छौँ।’

स्वास्थ्य मन्त्रालय पनि वडा कार्यालयको भवनमा स्थापना भएको हो। राप्ती गाउँपालिका वडा नं. ५ को कार्यालयमा स्वास्थ्य मन्त्रालय छ। वडा कार्यालय नजिककै भाडाको घरमा सरेको छ।‘मन्त्रालयको आफ्नै भवन नबन्दा सम्म हामी भाडाको घरमा बस्न तयार छौं’वडा अध्यक्ष देवप्रसाद चौधरीले भने–‘प्रदेशको राजधानी कार्यान्वयनमा ढिलाइ हुनु भएन। हामी मन्त्रालयहरुको व्यवस्थापन गर्न तयार छौँ।’

पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय सुरुमा स्थापना भएको थियो। राप्ती प्राविधिक शिक्षालयको भवनमा मन्त्रालय स्थापना भयो। त्यसपछी कर्मचारीहरु आउन मन नगरेपछी सुनसान बनेको थियो।

मुख्यमन्त्री कार्यालय नसर्दा सम्म राजधानीमा सरेका मन्त्रालयहरु काम विहिन जस्तै भएका छन्। आर्थिक कारोबारको लागी बुटवल जानुपर्ने बाध्यता छ। राप्ती प्राविधिक शिक्षालय गोवरडिहामा पूर्णरुमा सरेमा मन्त्रालय र अन्य कार्यालयहरु मौरीघाटमा स्थापना गरिने छ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *