२०८२ जेष्ठ ११ गते शुक्रवार

जहाँ एभोगाडोका फलहरु भूँइमा सडछन्,तर खाँदैनन् स्थानीय

दाङ, साउन २४ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.४ रक्षाचौरस्थित राप्ती आँखा अस्पताल परिशर । साउन ९ गते सोमबार दिउँसो त्यहाँ पुग्दा एभोकाडो (घिउ) फलका दानाहरु भूँइमा यत्रतत्र छरिएका थिए । रुखमा फल उत्तिकै लटरम्म ।
न स्थानीयले ती फल टिपेर खान्छन्, न झरेका फलहरुमा उनीहरुको रुची छ । एभोगाडोका रुखहरु धेरै ठूला भएर चढ्न नसकेर पनि होइन । ती भन्दा संग संगै अस्तित्वमा रहेका स्थानीय आँपका रुखहरु झनै ठूला छन् । जस्मा लबेदो हानेर भएपनि आँप झारेर खान्छन् ।


ती रुखहरुबाट आँपका फलहरु रुखबाट झर्नासाथ मानिसहरु टिपी हाल्छन् । धोइ पखाली खाइहान्छन् । खाइ नसके घर परिवारका सदस्यहरुका लागि भनेर घर लैजान्छन् । तर, एभोगाडो कसैले खाँदैनन् । यो एक बर्ष दुई बर्ष वा पाँच बर्ष यताको कुरा हैन । झन्डै ३० बर्ष यता एभोगाडोका फलहरु त्यसै सडेर खेर गइरहेको छ ।


केही स्थानीयले रमाइलो किस्सा सुनाए – बरु एभोगाडोका झरेका फलहरु केही बर्ष पहिला सम्म यहाँ जंगलबाट स्यालहरु आएर खाने गर्थे । तर, यहाँका मानिसले यो फल खाँदैनन् । किन यस्तो भइरहेको हो ? नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज द्धारा सञ्चालित आँखा अस्पताल राप्ती आँखा अस्पतालका अध्यक्ष कृष्ण गिरीका शब्दमा स्थानीयले एभोगाडो फलको महत्व नबुझेकै यो सबै भइरहेको हो । यति महत्वको फल त्यसै खेर जानुको कारण उनले प्रष्ट्याउन खोजे ।


‘स्थानीयलाई एभोगाडो के हो भन्ने नै थाहाँ छैन,’ उनले भने ‘यो हामी स्थानीयका लागि वनमा बेल पाक्यो कागलाई हर्ष न विस्मात भने जस्तै भइरहेको छ ।’ राप्ती आँखा अस्पताल परिशरमा तीन वटा एभोगाडोका रुखहरु छन् । यहाँ यी रुखहरु रोप्ने ब्यक्ति नर्बेका डा। अलबर्ट कोल्ड स्टार्ड हुन । जस्ले तत्कालिन समय राप्ती आँखा अस्पताल बिक्रम संवत २०४३ सालमा रक्षाचौरमा स्थापना गरेका थिए । नर्वेली जनताको सहयोगमा संकलित रकमबाट साबिक राप्ती अञ्चलका नागरिकलाई आँखाको उपचार दिने उदेश्यले डा। स्टार्डले अस्पताल स्थापना गरेका थिए ।


यो अस्पतालको २०४५ माघ १९ गते तत्कालिन राजा बीरेन्द्र र रानी ऐश्वर्या आएर उद्घाटन गरेका थिए । उनीहरुले रोपेका अशोकका दूई रुखहरु अहिले हुर्किसकेका छन् । ती रुखहरुमा राजा र रानीका नेम प्लेटपनि थिए । गणतन्त्र आएपछि ती झिकेर फालिएको छ ।


तत्कालिन समयमा रणबहादुर शाह, खिमबहादुर शाह र स्थानीय प्रधानपञ्च डिल्लीबहादुर खड्का लगाएतका ब्यक्तिहरुले आँखा अस्पतालको बिकाशमा योगदान गरेको सभापति गिरी बताउँछन् । डा.स्टार्डले रोपेका रुख र एभोगाडो फलको महत्व के हो रु त्यो खान हुने फल वा होइन भन्ने बारे समेत स्थानीयले लामो समय भेउ पाउन सकेनन् ।


केही बर्ष पहिले स्थानीय बासी तथा पूर्व माननीय देवबहादुर केसी एक दिन आँखा अस्पतालमा मोनिङ वाकमा गएछन् । त्यहाँ तीन वटा एभोगाडोको रुखहरु देखेर उनी दंग परे छन् । निरन्तर दुई कार्यकाल अस्पताल सञ्चालक समितिको सभापतिको भूमिकामा रहेका गिरीले अधिबैंसे उमेरमै पूर्व माननीय केसीबाट ‘एभोगाडो’ यहाँपनि फल्ने रहेछ भन्ने नयाँ शब्द सुनेको स्मरण गरे ।


केसीले त्यतिखेरै राजा वीरेन्द्रले एभोगाडोको विरुवा र त्यसको महत्व बारे एक भेटमा वर्णण गरेको गिरीलाई सुनाएका रहेछन् ।
केसीले भनेका कुरा गिरीले खासै वास्ता गरेनन् । मनमा लिएनन् । एक कानले सुनेर अर्को कानले उडाए जस्तै गरिदिए ।
गिरी यो बीचमा अमेरिका पुगे । त्यहाँ एक जना साथीले फलफूल किन्ने क्रममा फेरि ‘एभोगाडो’ शब्द सुने । सुनेनन् मात्रै, संगै गएका साथीले किन्दा एउटा ठूलो एभोगाडोको फललाई दश डरलमा खरिद गरेको गिरी देखेर चकित परे । यो फल यति महंगो रु उनले रक्षाचौरमा फलेर त्यसै खेर गइरहेका एभोगाडोका फलहरु त्यतिखेर झलझली संझिए ।


जुन कुरा उनी घर फर्किएपछि केहीलाई सुनाए । तर, सबैले गफ सुनिदिए जस्तो मात्रै गरे । स्वएंम गिरीले पनि वास्ता गरेनन् । त्यहाँ फलेको एभोगाडो कहिलै टिपेर खाने प्रयास अहिलेसम्म नगरेको उनी बताउँछन् । अस्पताल सञ्चालक समिति कै सचिव सुरेन्द्रबहादुर खड्काका अनुसार देश विदेश गएकाहरु कहिले काँही आँखा अस्पताल पुगे भने उनीहरुले त्यहाँका एभोगाडोका फलहरु संकलन गरेर आफ्नो घरमा लैजान्छन् । त्यसै खेर गएको देखेर त्यस्ता ब्यक्तिहरु थकथकी मान्छन् ।


‘यस्को महत्व बुझेका ब्यक्ति कोही आउनु भयो भने झरेका ताजा फलहरु संकलन गरेर लैजानुहुन्छ,’ उनले भने ‘यहाँ कसैले प्रयोग नगर्ने हुँदा कुनै ब्यक्तिले लैजाँदा कसैले केही भन्ने कुरै आउँदैन।’ साउन ९ गते दिउँसो रक्षाचौरको राप्ती आँखा अस्पतालमा परिवारको आँखा उपचारका लागि गएका घोराही निवासी अधिबक्ता कुमारराज श्रेष्ठ त्यसरी छरप्रष्ट एभोगाडोको फलहरु देखेर आश्चर्य मान्दै नियाली रहेका थिए । ‘यो एभोगाडोको फलहरु होइन? ,’ उनी भन्दै थिए ‘ माइपाइ चाल नपाएको भनेको यही हो ।’


मानिसहरुले एभोगाडाको फलहरु कुल्चदै हिडेको देखेपछि अनायासै उनको मुखबाट त्यस्तो प्रतिक्रिया आएको थियो ।
अस्पताल संचालक समितिका सचिव खड्काले अस्पतालका संस्थापक स्वर्गिय नर्वेका डा. अलबर्ड कोल्ड स्टार्ड र ती रुखको बारेमा एउटा चाख लाग्दो किस्सा पनि सुनाए । एक दिन अस्पतालका सहयोगी कर्मचारी जंगबहादुर चौधरीलाई कुनै ब्यक्तिले तीनै रुखमा चढेर पात टिप्न पठाएका रहेछन् । किनकी एभोगाडोको पात सदाबहार हरियो हुन्छ । संयोगले डा। स्टार्ड चौधरी रुखमा चढेर पात वा हाँगा भाँचिरहेको समयमा त्यहाँ पुगे ।


त्यतिखेर डा. स्टार्ड निकै रिसाएका थिए रे । रुखमा चढेर पात टिपेकै कारण चौधरीको जागिर नै धरापमा पर्ने अवस्था आएछ । त्यसपछि त्यहाँ कार्यरत अन्य कर्मचारी र डाक्टरले उनलाई संझाई बुझाई गरि जागिर थमौटी भएको खड्काले बताए । सचिव खड्काको घर र अस्पताल लगभग आमनेसामने छन् ।


‘संस्थापक डा।स्टार्ड ती रुखका साना हाँगा भाँच्दापनि किन त्यसरी रिसाए होलान भनेर मजाग चल्दै आएको छ,’ सचिव खड्काले भने ‘ तर, हामी स्थानीयले अहिले सम्मपनि त्यो कुरा भित्रको महत्व बुझेनौं सकेका रहेन छौं।’ बिदेशीले तीन दशक भन्दा पहिले महत्व बुझेर नै एभोगाडोको विरुवा ल्याइ रापेको उनले बताए । उनले रोपेका बोट फल्दै आएपनि त्यसै खेर जानुमा चेतनास्तरलाई मान्न सकिने खड्का तर्क गर्छन ।


जग्गा जमिन प्रसस्त रहेका दंगालीमा फलफूल भन्दापनि दात, भात खानमै बढी जोड बल छ । फलफूलको कल्चर विस्तारै हाम्रो खानामा संलग्न हुँदै जान थालेको छ र पछिल्लो समय, ड्रागण फ्रूट, किबी, एभोगाडोको महत्व बढ्दै जाने थालेको छ । आँप, अम्बा जस्ता फलफूलहरु चिनेका स्थानीयले एभोगाडो नचिनेकै कारण र त्यसको महत्व नबुझेरै ३० बर्ष यता मानव स्वास्थ्यको लागि अतेन्तै राम्रो मानिने एभोगाडो फल त्यसै खेर गइरहेको कुरा नकार्न मिल्दैन ।

सचिव खड्काका अनुसार दाङ जिल्लामा सबै भन्दा पहिला एभोगाडोको विरुवा भित्र्याएर रोप्ने श्रेयपनि डा। स्टार्डलाई नै जाने गर्छ ।

रक्षाचौरको अहिलेको अवस्था

तुलसीपुर बजारदेखि चार किलोमिटर उत्तर दाङ–सल्यान सडक खण्डमा पर्ने रक्षाचौरस्थित डाँडोमा राप्ती आँखा अस्पताल छ । यही अस्पतालको परिशरमा हालसालै बहिरंग भवन निर्माण गर्ने क्रममा दर्जनौं रुखहरु काटिएका छन । अहिले फेरि गेट निर्माण गर्ने क्रममा यहाँका केही बोट विरुवाहरु काटिएका छन् ।

मास्टर प्लान अनुसार अस्पतालका लागि अर्को भनव बनाउन खोजिएको छ । त्यसो हुँदा थप दर्जनौ रुखहरु काट्नु परे रक्षाचौर डाँडो र अस्पालको परिचय गुमनाम हुनसक्ने स्थानीय कतिपयले चिन्ता जाहेर गर्छन । ‘अस्पतालका लागि आवश्यक भवन नबनाउने भनेको होइन,’ एक स्थानीयले भने ‘ रुख बिरुवा जति सक्यो कम क्षति हुने गरि बनाउनु पर्छ भन्ने कुराको हेक्का देखिएन ।’


दश बिगाहा क्षेत्रफलमा फैलिएको अस्पतालको चार बिगाहा जग्गा २०४५ सालमा राजा वीरेन्द्र आउँदा हुकुमबाट चार बिगाहा नाममा छ भने थप ६ बिगाहा सार्वजनिक जग्गापनि अस्पताल चर्चिदै आएको छ । जसमध्य अस्पतालले भोग चलन गर्दै आएको केही जग्गा तत्कालिन समयमा खिमबहादुर शाहले एक जना स्थानीयलाई अर्कौ ठाउँ जग्गा दिएर स्थान्तरण गराएका थिए ।


नर्वेका नागरिक डा. स्टार्डले सुदुरपश्चिमका लागि कैलालीको धनगडीस्थित साविक गेटा गाविसमा गेटा अस्पताल निर्माण पछि राप्ती र भेरीका लागि भनेर उपयुक्त स्थान खोजी गर्ने क्रममा रक्षाचौरमा अस्पताल स्थापना गरेका थिए । यो आँखा अस्पताल अहिलेपनि एनजियोको माध्यमबाट सञ्चाल हुँदै आएको छ ।


करिब तीन बर्ष पहिले डा.स्टार्डको मृत्यु भएको अस्पतालका सभापति कृष्ण गिरीले जानकारी दिए । त्यसपछि डा। स्टार्डले सहयोगीबाट दान बाफत रंकलन गरि खुर्तुकेमा जम्मा गरि दिएको रकम मध्य ४५ प्रतिसत हिस्ता राप्ती आँखा अस्पतालको नाममा आएको उनले बताए । डा। स्टार्डले आफ्नो खुतुर्केमा अस्पतालका लागि भनेर जम्मा गरेको रकम ७ करोड फेला परेको थियो ।

त्यही प्राप्त रकम बैंकमा जम्मा गरेको हुँदा त्यसबाट बार्षिक २५ लाख जति ब्याज अस्पताले प्राप्त गर्दै आएको छ । पछिल्लो समय प्रदेश सरकार तथा स्थानीय पालिकाहरुले पनि आँखा अस्पतालाई भवन निर्माण तथा उपकरण खरिदमा सहयोग गर्दै आएको अस्पताल पदाधिकारीहरुले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *