काठमाण्डौ,कात्तिक ५ । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्सा बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पछि घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फर्काइएको हो ।
दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन ।
एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए ।
दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन् ।
नगरप्रमुख साहले दशैँ बिदामा दुबई घुम्न गएका बेला त्यहाँ आफ्नै गाउँका युवा अलपत्र परेको थाहा पाएपछि आफ्नो भ्रमण समयावधि छोट्याएर उनीहरुलाई उद्धार गरी घर फर्काएका हुन ।
साहले अझै पनि आफ्नो गाउँका चार युवा दुबईमै अलपत्र परेको आफूले थाहा पाएकाले उनीहरुलाई पनि घर फर्काउन पहल गर्ने जानकारी दिए ।