
दाङ, साउन १७ । लुम्बिनी प्रदेश सभा सदस्य बिमला खत्री वलीले आफु बाँकेमा रहेको बताएकी छन् ।
घाँटीमा समस्या देखिएपछि उपचारका लागि आँफु नेपालगञ्जमा रहेको वलीले बताएकी छन् ।
दाङ जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुरेश काफ्लेले प्रदेश सांसद वलीले आफुलाई नेपालगञ्जमा उपचारका लागि गएको भनेर जानकारी दिएको बताए ।
शुक्रबारदेखि सम्पर्क बिहीन भएपछि सांसद वलीलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंकाहरु ब्याप्त बनेका थिए ।
त्यो आशंकाको अन्त्य गर्न नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशले शनिबार बिज्ञप्ति मार्फत वलीका आफन्तको हवला दिदै उनी उपचारमा रहेको भन्ने जानकारी गराएको थियो ।
एसपी काफ्लेका अनुसार सांसद वलीले आफूलाई कुनै पनि समस्या नरहेको भन्ने जानकारी दिएको बताए । तर, वली अझैंपनि अन्य ब्यक्तिहरूसँग भने सम्पर्कमा आएकी छैनन् ।
लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको हुँदा सांसद वली सम्पर्कमा आउन नचाहेको चर्चा राजनीतिक बृत्तमा छ ।
बिमलाका श्रीमान उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचनमा उनी तत्कालिन नेकपाले दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएकी थिइन । तर, पछिल्लो समय उनले माओवादी केन्द्र रोजेकी छन् ।