२०८३ असार २७ गते शनिवार

अखिल र युथ फोर्स खारेज गर्न योगेश भट्टराईको माग

काठमाडौं, साउन ९ । नेकपा (एमाले) का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाएका छन्।

पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएमा आपत्ती जनाउँदै नेता भट्टराईले शनिबार सामाजिक सञ्जालमार्फत त्यसको औचित्यमाथि प्रश्न गरेका छन्।

‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?,’ उनले भनेका छन्, ‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्छ।’

एमालेभित्र हालै मात्र गुटगत संगठनहरु निर्माण भएका छन् । समानान्तरण जनवर्गीय संगठन निर्माण गरेका माधव समूह निकट अनेरास्ववियुले अखिल फोर्स निर्माण गरेको छ ।

अध्यक्ष ओली पक्षले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो । नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ पनि ब्युँताउने तयारी गरेको छ।

पार्टीभित्र यसरी भिन्नभिन्न संगठन निर्माण गरेर समाजमा आतंकको आभास दिएको र युवालाई अराजनीतिकरण तथा अपराधीकरण गर्न उद्दत गरिएको नेता भट्टराईको टिप्पणी छ ।

‘पार्टीभित्रका गुटमा वैचारिक चरित्र सकिँदै जाँदा एक अर्काका विरूद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको होरु यदि हो भने हामी आफ्नो र कम्युनिष्ट आन्दोलनको चिहान आफैंले खनिरहेको स्वीकार गर्नुपर्छ’, उनले भने, ‘शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रनदिने जस्ता विशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन। तसर्थस् यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु।’

नेता भट्टराईले यस्ता समूहहरु तत्काल खारेज गर्न अध्यक्ष ओली र नेता माधव नेपाललाई आग्रहसमेत गरेका छन् ।

 

 

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *