मानपुर, असार २१ । ‘ल्याव खोइ ? विग्रेको छ । ल्याव पनि विग्रन्छ र ? चलाउने प्राविधिक नभएर ? कति भो बिग्रएको एक बर्ष ।’
मानपुर स्वास्थ्य चौकीले सेवाग्राही विरामीहरुलाई दिने जवाफ हो यो । विगत एक बर्षदेखि मानपुर स्वास्थ्य चौकीले निरन्तर यही जवाफ सेवाग्राहिहरुलाई दिंदै आएको छ ।
चौविसै घण्टा सुत्केरी सेवा उपलव्ध हुने भनिएको मानपुर स्वास्थ्य चौकीमा अहिले प्रयोग शाला समेत सञ्चालनमा नआउंदा स्वास्थ्य उपचार सेवानै ठप्प छ ।
रोग पहिचान गर्ने भन्दा बढी लक्षण सोध्ने र औषधि थमाइ दिने थलोका रुपमा मानपुर स्वास्थ्य चौकीको पहिचान स्थापित भएको छ ।
जसले तुलसीपुर उपमहानगरपालिकाको स्मार्ट हेल्थको अवधारणालाइ नै गिज्याइरहेको छ । तर, तुलसीपुर प्रमुख लगायत श्वास्थ्य प्रवद्र्धन केन्द्र पनि यो विषयमा मौन छ । प्रयोगशाला सञ्चालनमा कसैले चासो दिएको देखिएको छैन ।
अहिले स्वास्थ्य चौकीमा नियमित सेवा लिने भनेका गर्भवती महिलाहरु हुन् । उनीहरुको महिनै पिच्छे गरिने चेकजाँच भनेको उच्च रक्तचाप, पिसावमा सुगर र एल्वोमिननै हो । तर, प्रयोगशाला ठप्प हुुंदा गर्भवती महिलाहरुले समेत यो सेवा पाइरहेका छैनन् ।
मानपुर स्वास्थ्य चौकीका अनुसार प्रयोगशाला विग्रनु अघि दैनिक कम्तिमा ५० जनाले प्रयोगशालाबाट सेवा लिन्थे । त्यसमा अधिकांश गर्भवती महिला र वालवालिका हुन्थे ।
तर प्रयोगशालामा एक जना ल्याव अशिष्टेन्टको व्यवस्थापन हुन नसक्दा मानपुर स्वास्थ्य चौकीको सेवा प्रभावित बनेको हो । अहिले मुस्किलले आठ÷दश जना सेवाग्राही मात्रै सेवा लिन आउने गरेका छन् ।
कुनैवेला जिल्लाकै सेकन्ड स्वास्थ्य संस्थाका रुपमा चिनिने यो स्वास्थ्य चौकी अहिले आँफै बिरामी जस्तै बन्न पुगेको छ ।
दाङमा घोराहीमा रहेको महेन्द्र अस्पतालले पूर्वतर्फका विरामीलाई धानेको थियो । मानपुर स्वास्थ्य चौकीले पुरै पश्चिम दाङ लगायत रोल्पा, सल्यान र रुकुमका विरामीलाई पनि सेवा दिन्थ्यो ।
चर्चित नाम मोदीनी कुमार सिजापती डाक्टर यहि स्वास्थ्य केन्द्रबाट जमेका थिए । यस स्वास्थ्य केन्द्रमा सेवा दिंदादिंदै उनले घरजग्गा जोडेर घरजम समेत यतै गरेका थिए । तर मानपुर स्वास्थ्य चौकीको त्यो इतिहासालाई नामेट हुने अवस्थामा पुगेको छ ।
स्थानीयका अनुसार पटक÷पटक स्वास्थ्य चौकीका लागि आवश्यक प्राबिधिक तथा जन शक्ति माग गर्दापनि कसैले मतलब गर्दैनन् ।
‘स्वास्थ्य प्रवद्र्धन शाखालाई समेत गुहा¥यौं, तर, कसैले सुनेनन्,’ तुलसीपुर १७ का शेरवहादुर बस्नेतले भने ‘यो वडालाई नगरको नेतृत्वले फरक राजनीतिक चश्माले हेर्दै आएको हुँदा समस्या छ ।’
एउटा ल्याव अशिष्टेन्टको दरवन्दीपनि बनाउन नसक्नुले ‘स्मार्ट स्वास्थ्य’को कुरा आँफैमा मजागको बिषय बनेको बस्नेतले बताए ।
अहिले स्वास्थ्य चौकीको सञ्चालन, व्यवस्थापन र सेवा बृद्धिको सवै अधिकार स्थानीय पालिकालाई छ । त्यसै अनुरुप स्वास्थ्य क्षेत्रमा संघीय सरकार र प्रदेश सरकारले समेत स्थानीय पालिकालाई उल्लेख्य रुपमा बजेट दिंदै आएका छन् । तर, तीनै तहका सरकारले स्वास्थ्य चौकीको यो वेहालको अवस्थालाई संबोधन गर्न चासो दिएका छैनन् ।
मानपुर स्वास्थ्य चौकीका प्रमुख कृष्ण केसीले भने – ‘पटक÷पटक स्वास्थ्य प्रवद्र्धन शाखामा दरवन्दी माग गरी पठाएका छौं, तर अहिले सम्म सुनुवाई भएको छैन ।’
उनले प्रयोगशाला एक बर्षदेखि सञ्चालनमा आउन नसक्दा खिया लागेर काम नलाग्ने अवस्थामा जानथालेको समेत बताए ।
विश्व स्वास्थ्य संगठनले अनुदान दिएका प्रयोगशाला सामाग्रिहरु एक बर्ष अघिसम्म भोलेन्टियरका रुपमा कार्यरत ल्याव असिस्टेन्टले चलाएका थिए । तर उनी अन्यत्रै सरुवा भएर गएपछि प्रयोगशाला सञ्चालन हुन सकेको छैन ।
सो स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा नै उपलव्ध नभएपछि चौविस घण्टे प्रसुतिसेवा लिनेहरुको संख्यामा पनि उल्लेख्य रुपमा कमि आएको छ ।
‘हामीले वडाकै बजेटले राख्छौं भन्दा पनि उपमहानगरपालिकाले दिएन, आफै राख्ने आश्वासन दियो, तर, अहिले सम्म प्रयोगशाला सहायकको व्यवस्थापन गर्न भएन,’वडाध्यक्ष थलराज पुरीले भने ‘उपमहानगरपालिकाले मानपुर प्रति गरेको यो पक्षपात पूर्ण ब्यबहारको उपज हो ।’
मानपुर भन्दा निकै कम विरामी हुने अन्य स्वास्थ्य चौकीहरुमा समेत ल्याव अशिष्टेन्ट खटाइएको छ । तर, मानपुर जस्तो एउटा इतिहास बोकेको र ठूलो जनसंख्यालाई सेवा दिने स्वास्थ्य चौकीलाई भेदभावपूर्ण व्यवहार गरेको वडाध्यक्ष पुरीले गुनासो गरे ।
सरकारले यस्ता प्रयोगशाला शुल्क ज्येष्ठ नागरीकहरुलाई निशुल्क दिने गरेको छ । गर्भवती महिलाहरुलाइ ५० प्रतिसत छुट दिएको छ । कम्तिमा ३६ प्रकारका औषधिहरु निशुल्क गरेको छ । तर, यहाँ भने रोग पहिचान नै हुन नसक्दा यी निशुल्क स्वास्थ्य उपचार सेवा प्रभावित भएको छ ।
कोरोनाका कारण ढिलो भयोः श्वास्थ्य प्रवद्र्धन शाखा
उपमहानगरपालिका जनश्वास्थ्य प्रवद्र्धन शाखाले कोरोनाका कारण कर्मचारी व्यवस्थापनमा ढिलाइ भएको बताएका छन् ।
यस अघि प्रदेश सरकारबाट करार सेवामा ल्याव अशिष्टेन्टले काम गर्दै आएपनि करिव एक बर्ष अघि उनको करार अवधि प्रदेश सरकारले थप नगर्दा प्रयोगशाला प्राविधिक विहिन भएको तुलसीपुरका जनश्वास्थ्य प्रवद्र्धन शाखाका जनश्वास्थ्य निरिक्षक विमल केसीले बताए ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकमा समेत यो विषयमा प्रस्ताव गइ सकेको भन्दै उनले अव आर्थिक बर्षको सुरुवातमै मानपुर स्वास्थ्य चौकीमा ल्याव अशिष्टेन्टको व्यवस्थापन हुने र प्रयोगशाला सञ्चालनमा आउने केसीले विश्वास ब्यक्त गरे ।