काठमाडौं,असार २० । तनहुँकी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएकी छन्।
आइतबार सर्वोच्च अदालतमा शिक्षामन्त्री श्रेष्ठ विरूद्ध रिट दर्ता भएको हो।
उनले रिटमा जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुन अनुसार कारबाहीको माग गर्दै संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछूत जस्तो मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित पारेको भनिएको छ।
प्रभावित पारी अदालतबाट म्याद थप भइ अनुसन्धानमा रहेका विपक्षीलाई पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरूपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई पदबाट तत्काल हटाउन रूपाले माग गरेकी छन्।
साथै उनीमाथि पनि कारबाही गर्दै प्रहरीमा दिएको जाहेरी तत्काल दर्ता गराइ पाउँ भनेकी छन्।
थरकै कारण कोठा नदिएको भन्दै उनले बबरमहलकी घरबेटी सरस्वती प्रधान विरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरी पछि प्रधान पक्राउ परेकी थिइन्।
पक्राउ परेकी प्रधानमाथि प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान सकाएर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय बुझाएको थियो। तर कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रहरीलाई निर्देशन दिएको थियो।
घरबेटी सरस्वती प्रधान भने श्रीमान मुकुन्दको रोहबरमा जमानमा छुटेकी थिइन्। त्यहीबेला शिक्षा मन्त्री श्रेष्ठ सरस्वती प्रधानलाई लिन महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।
मन्त्रीले नै पीडकको पक्ष लिएर वृत्त पुगेर लिन गएको र झण्डावाला गाडीमा हालेर घर सम्म पुर्याएको भन्दै रूपा सुनारले सर्वोच्चमा मुद्दा हालेकी हुन्।