काठमाडौं,असार २० । नेकपा (एमाले)ले साउन २५ गते पार्टीको विधान सम्मेलन गर्ने भएको छ।
शनिबर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले असार मसान्तभित्र सदस्यता नविकरण गरेर साउन २५ गते विधान सम्मेलन गर्ने प्रस्ताव गरेको हो ।
केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन् ।
एमालेले साउन ५ गतेसम्म केन्द्रमा सदस्यता विवरण पठाउने, भदौ ५ गते वडा अधिवेशन, भदौ १५ गते पालिका अधिवेशन गर्ने प्रस्ताव गरेको छ ।
बैठकले एमाले केन्द्रीय विभागलाई पूर्णता दिने निर्णयसमेत गरेको छ । बैठकमा केन्द्रीय महाधिवेशनको मिति तय गर्ने प्रस्तावमाथि भने छलफल भइराखेको भट्टराईले जानकारी दिए ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली निवासमा शनिबार केन्द्रीय कमिटी बैठक बसेको हो ।
शुक्रबार बसेको बैठकले विभिन्न ७ बुँदे प्रस्ताव पारित गरेको थियो । दोस्रो दिन बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका हुन् ।