डिल्ली शाही, कोहलपुर, जेठ २२ । नेकपा एमाले जिल्ला कमिटी बाँकेले कोभिड—१९ का बिरामी र कुरुवाको सेवाका लागि भान्सा घर सञ्चालन गरेको छ ।
भान्सा घरमा हप्ताको चार दिन निःशुल्क खाना खुवाउँदै आइएको छ । अन्य तीन दिन भने एक छाक खानाको ३० रुपैंया लिने गरिएको छ । सो भान्सा घरमा दैनिक ६ सय भन्दा बढीले खाना खाने गरेको सरोकारवालाहरुले जनाएका छन् ।
मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कुरुवा र बिरामीलाई सहुलियतमा खाना खुवाउने भान्सा घर जेठ १ गतेदेखि सञ्चालनमा ल्याइएको हो ।
नेकपा एमाले जिल्ला कमिटी बाँकेको आयोजनामा कोहलपुर, बैजनाथ कमिटी र युवासंघको व्यवस्थापनमा भान्सा घर सञ्चालनमा ल्याइएको हो ।
भान्सा घरका संयोजक टेकबहादुर शाहीले समस्यामा परेका बिरामी र कुरुवाहरुलाई सहयोग गर्नका लागि भान्सा घर सञ्चालन गरेको बताए ।
‘यो भान्सा घरको पहिलो प्राथमिकता भनेको बिरामी र कुरुवा नै हुन,’ उनले भने ‘अहिले यो भान्सा घरमा दैनिक ६ सय जनाले खाना खाने गरेका छन ।’
बिरामी र कुरुवाहरुलाई खानेपानीको बोतल, जार र तातो र चिसो पानी निःशुल्क रुपमा दिने गरेको उनले बताए ।
हप्तामा ४ दिन दाल, भात र चट्नीसहित अण्डा, दूध, दही, मासु, माछा लगायतका परिकारहरु निःशुल्क र अन्य तीन दिन दाल, भात र चट्नी सहित ३० रुपैंया सहुलियतमा खाना खुवाउने गरेको संयोजक शाहीले बताए ।
भान्सा घरमा २० जनाभन्दा बढी व्यवस्थापन टिम छ । उक्त टिमले खाना खुवाउनेदेखि अन्य सेवा समेत प्रदान गर्दै आएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले अस्पतालले निःशुल्क रुपमा क्यान्टिन उपलब्ध गराएको र त्यसैमा खाना बनाउने गरिएको उनले जानकारी दिए ।
एमाले जिल्ला कमिटी सदस्य पोष्टराज भुषालले लकडाउनका कारणले सबै होटलहरु बन्द भएको अवस्थामा बिरामी र कुरुवाहरुको सुबिधाको लागि निःशुल्क र सहुलियतमा खान खुवाउन थालिएको बताए ।
सहयोगी दाताहरुमार्फत दाल, चामल, तरकारी सहयोग जुट्ने गरेको उनले बताए ।
बिभिन्न व्यक्तिहरुले आफ्नो जन्मदिनको अवसरमा सहयोग गर्ने गरेको उनले जानकारी दिए ।
त्यस्तै केएल दुगड ग्रुपले दूई महिनाका लागि चामल र दाल निःशुल्क रुपमा सहयोग गरेको भुषालले जानकारी दिए ।
भान्सा घरमा १९ दिनसम्म खाना खाँदै आएका बाँसगढी नगरपालिका वडा नम्बर ४ का कुरुवा ओम प्रकाश विश्वकर्माले आफ्नो जीवनमा पहिलो पटक ३० रुपैंयामा खाना पाएको भन्दै खुसी साटे ।
यसले आफुजस्ता बिपन्न र गरिबलाई ठूलो राहात पुग्ने उनले बताए ।
उनका बुबा २१ दिनदेखि मेडिकल कलेजमा उपचाररत छन् ।