२०८१ साउन ९ गते बुधवार

एउटै हातले ट्रयाक्टर चलाउने डाँगी


राजेश खत्री,
बबई,माघ ४ । दाङ बबई गाउँपालिका वडा नं. ७ ढोलपुर निवासी २५ बर्षीय इन्द्र डाँगीको एउटा हात छैन । तैपनि उनले एउटै ट्रयाक्टर चलाउँदै आएका छन् । रा १ त १४२२ नम्वरको यो ट्रयाक्टर उनको आफ्नै हो । डाँगीले भने – ‘म आफै मालिक, आफै चालक र आँफै लेबरपनि।’ उनी एउटै हातले खोलामा गएर ट्रयाक्टरमा ढुँगा लोड गर्छन । ढुंगा, बालुवा, गिट्टी जस्ता सामान ढुवानी गर्न उनी एउटै हातले चलाउँदै टाढा टाढा पनि पुग्छन् । तुलसीपुर, घोराही र लमहीसम्म पनि उनी एक्लै यसैगरी ट्रयाक्टर चलाएर सामान छोड्न गएका छन् ।

अनौंठो कुरा उनको सवारी चालक अनुमती पत्रपनि छैन । उनले लाईसेन्स पाउनको लागि कहिलै फर्मपनि भरेका छैनन् । उनलाई त्यो राम्रोसंग थाहाँ छ कि, एउटा हात नै नभएको व्यक्तिले लाईसेन्स पाउँदैन भन्ने कुरा । ‘त्यही भएर मैले लाईसेन्सको लागि प्रयास नै गरेको छैन,’ डाँगीले भने ।

एउटा हात नभएको व्यक्तिलाई लाईसेन्स दिन मिल्दैन – अधिकारी
डाँगी जस्ताले लाईसेन्स पाउन सक्छन् कि लाई भनेर हामीले यातायाता व्यवस्था कार्यालय राप्ती तुलसीपुरका प्रशासन प्रमुख रश्मिराज अधिकारीसंग जिज्ञासा राख्यौं । उनले शारिरीक रुपमा पूर्ण रुपमा अपांगता भएको व्यक्तिले लाईसेन्स पाउन नसक्ने स्पष्ट पारे । तर डाँगी जस्ताले मोपेडसम्मको लाईसेन्स पाउन सक्ने उनले बताए ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्दकुमार पोखरेलले पनि एउटा हात नै नभएको व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिन कानुनले नै नदिने बताए । लाईसेन्स नभएको व्यक्तिले क्षमता भएपनि कुनैपनि सवारी चलाउनु कानुन विपरितको कार्य हुने उनले जानकारी दिए । ट्राफिक प्रहरीले देखेमा डाँगीलाई कारवाही हुने उनले बताए ।

डाँगीले यसरी गुमाउनु पर्यो हात
२०६७ साल फागुन ११ गते सिमलकुना विद्यालयको दार (काठ) लिन गएको समयमा भएको ट्याक्टर दुर्घटनामा डाँगीको दाहिने हातमा गम्भीर चोट लागेको थियो । जतिबेला उनी कक्षा ८ मा पढ्थे । त्यही चोटका कारण उनले एउटा हात नै गुमाउनु परेको हो । बाँकेको हस्पिटलमा उपचारका क्रममा उनको हात चिकित्सकले काटिदिएका हुन ।

डाँगी हस्पिटलमा उपचाररत रहँदा नै उनका दाजुभाई छुट्टि भिन्दै बस्न थाले । साथीभाईले पनि त्यस्तै व्यवहार प्रर्दशन गरे । ‘उ एक हाते आयो’ भन्दै जिस्काए । ‘अब यस्को जीवन बवार्द भयो, केही गर्न सक्दैन भन्ने पिञ्च गरे छन्।’

डाँगीलाई त्यो कुरा नराम्रो संग विझेको थियो । त्यही भएर उनले केही गरेर देखाउने अठोट डाँगीले गरे । उपचारका क्रममा एक हात गुमाई सकेका डाँगीले अरु कुनै काम गर्ने भन्दा चालक बन्न अठोट गरे । बबई गाउँपालिकामा अन्य त्यस्तो कुनै अवसर र सुविधाहरु थिएनन् । विकसित ठाउँमा भइदिएको भए अन्य थुप्रै विकल्प हुन सक्थे । त्यसैले उनले एउटै हात भएपनि साहास गरे । ट्रयाक्टर चालक बन्ने । त्यही बाट जीवन यापन गर्ने एउटा जोखिम युक्त बाटो रोजे । सुरुमा एउटै हातले चलाउन सकिन्न कि, भन्ने जस्तो लागेको थियो,’ डाँगीले भने ‘ तर, प्रयास गर्दा आँट आयो।’

उनले आफुले रहले भन्दापनि बाध्यताले चालक जस्तो जोखिम युक्त काम रोजेको बताए । सरकारले आफु जस्तालाई कुनै काम दिन नसकेको उनले गुनासो गरे ।

उनले भने – ‘कुनैपनि अफिसियल काम दिए म यो चालकको काम तत्कालै छोड्ने छु।’ स्थानीय सरकारले समेत आफु जस्तालाई कुनै सहयोग नगरेको बताए । त्यही भएर बाँच्नको लागि ट्राक्टर चलाउनु परेको दुःखेसो पोखे ।

हात गुमाउँदा आत्महत्या गर्न खोजे
दुर्घटनापछि हात गुमाउँदा डाँगीलाई घर परिवारका दाजुभाईले समेत साथ दिएनन् । उनी पीडामा रहँदा दाजुभाई एकाएक घर छुट्टिएर गए । ‘एउटा हात गुमेपछि म हस्पिटलमा छँदै दाजुभाईपनि छुट्टिए,’ डाँगीले भने ‘ त्यो घटनाले आफ्नो भन्ने कोही रहेन छ अब बाँचेर काम छैन भन्ने लागेको थियो।’

उनले आत्महत्या गर्न खोजेछन् । तर, त्यो बीचमा उनलाई ढाडस दिनेहरु पनि भेटे । जीवन जीउन प्रेरित गरे । सानो तिनो चोटमा हरेश नखान मनोवल दिए । ‘अंकलले मेरो बाख्रा चराएर बस्लास भन्नु भयो,’ डाँगीले भने ‘ बाबु आमाले तेरो एक मानोको बन्दोबस्त जसरीपनि गरिदिन्छौं भनेर संझाउनु भयो अनि मैले आत्महत्या गर्ने गलत बाटो त्यागे।’

जीवन संघर्षले भरिएको छ । सास छँदासम्म आश त रहन्छ नै । जीउन आँट गर्नुपर्ने महत्वपूर्ण कुरा हो । एक दिन बाँचे नौंलाख तारा देखिन्छ त्यसै भनिएको होईन। आज एउटै हात भएपनि मेहनत गरेर डाँगी हाँसी खुसी जीवन व्यथित गरिरहेका छन् । मासिक १०देखि १५ हजार ट्रयाक्टर चलाएर बचाउँछन् । त्यसवाट उनकी पत्नि र छोराको आवश्यक्ता पनि पुरा भएको छ ।

हाम्रो कुराकानीको अन्यतिर डाँगीले भने – ‘आज म खुसी छु, आफ्नै पौखरमा बाँच्न सकेको छु । अरुलाई पनि जस्तो सुकै परिस्थिति भएपनि विचलित नहुन र आफ्नो परिवेश अनि परिस्थिति अनुरुपको काम हिम्मतले गर्नु होस।’

प्रकाशित मिति : २०७६ माघ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *