२०८१ माघ २६ गते शनिवार

मतदानको तीव्र प्रतिक्षामा मतदाता


राजेश खत्री,
दाङ,मंसिर १३ । हापुरे निवासी रचना शाह ठकुरी जीवनमा पहिलो पटक मतदान गर्ने अवसर पाएकी छन् । शुक्रवार बबई गाउँपालिका वडा नं. ४स्थित हापुरे बजारमा भेटिएकी शाह भोलिको तीव्र प्रतिक्षा गरिरहेको बताइन ।

‘आजको रात छिटो कटोस र छिटो भोलिको विहान आवस भन्ने चाहाना मनमा छ,’ शाहले भनिन् ‘ मैले जीवनमा पहिलो पटक प्राप्त गरेको अवसर कुनैपनि हालतमा गुमाउन चाहान्न।’

मतदानको लागि निकै उत्साहित शाहले आफ्नो घर परिवार र नातावादको सुविधामा लाग्ने स्वार्थी भन्दापनि समाजको हितमा सर्मपित हुने उम्मेदवारलाई मतदान गर्ने बताइन ।

श्रीगाउँ माविमा शुक्रवार मतदान परिचय पत्र लिन गएका दंगिशरण गाउँपालिका वडा नं. ६ बागर निवासी ७३ बर्षीय चेतबहादुर राणाको पनि शाहको जस्तै मिल्दो जुल्दो धारणा थियो । ‘आफ्नो भन्दापनि गाउँघरको विकाशमा ध्यानदिने व्यक्तिलाई मतदान गर्ने इच्छा छ,’ राणाले भने ‘ उम्मेदवारको विगतका गतिविधि हेरेर मतदान गर्ने छु।’

दाङमा शुक्रवारदेखि राम्रो संग आँकाश नखुलेको हुँदा चिसो बढेमा शनिवार विहान नगई दिउँसोमा मतदान गर्न आउने उनले बताए ।

‘ म त मौसमको अवस्था हेरेर मात्रै मतदान गर्न जाने सुरुमा छु,’ राणाले भने ‘विहान पानी नपरे विहानै र पानी परे दिउँसो जाने छु।’ उनले पनि गोप्य मतदान बाट कोहीपनि बञ्चित हुन नहुने तर्क गरे । ‘ आफ्नो अधिकारपनि प्रयोग नगरे त खत्तम मै भयो नि,’ राणाले भने ‘ एक दिन त सबै नागरिकले राज्यको लागि पनि योगदान दिनु पर्छ है ।’

त्यस्तै बबई ६ बुटिया निवासी ७० बर्षीया वशन्ती कामी शुक्रवार अपरान्ह पंचकुले मतदान केन्द्रमा आफ्नो मतदान परिचयपत्र लिन आएकी थिइन ।

उनले शनिवार विहान सात बज्नु भन्दा अगाडि नै केन्द्रमा पुग्ने र सुरुमै मतदान गरेर घर फर्किने योजना सुनाइन । ‘घर गृहस्थिपनि गर्नु प¥यो। त्यसैले हामीले सबेरै भोट हालेर घर जाने सल्लाह गरेका छौं,’ कामीले भनिन् । मतदान गरेर घरमा भात भान्सा गर्न जाने योजना उनले सुनाइन ।

आफुले इच्छाएको उम्मेदवारलाई मतदान गर्न पाउने अवसर गुमाउन हुन्न भन्ने मान्नेता राख्ने कामीले कसैले पनि पाएको अधिकार गुमाउन नहुने तर्क गरिन ।

पहिलो पटक मतदान गर्न लागेकी शाह, कामी र राणा तीनै जनाले कुरा भन्दापनि काम गर्ने र जनताको सुःख दुःखमा साथ दिने उम्मेदवारलाई जिताउने योजना सुनाए ।

कति छन् मतदाता ?
प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा मंसिर १४ गते दाङको निर्वाचन क्षेत्र नं. ३(२)मा पुनः उपनिर्वाचन हुन लागेको हो । दाङकै घोराही उपमहानगरपालिका वडा नं. १६ मा पनि वडा अध्यक्ष लक्षिण बुढा मगरको रोगका कारण मृत्यु भएपछि त्यहाँपनि नयाँ वडाअध्यक्ष चुन्नको लागि शनिवार मतदान हुँदै छ । त्यसको लागि ७३ हजार १ सय ७२ जना मतदाताले मतदान गर्दै छन् ।
प्रदेशसभा सदस्य चुन्नको लागि ६८ हजार ७ सय १९ जनाले मताधिकार पाएका छन् भने घोराही १६को वडा अध्यक्ष चुन्न ४ हजार ४ सय ५३ जनाले मतदान गर्ने भएका छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले सुरक्षाको अति नै राम्रो प्रवन्ध गरिएको भन्दै ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् ।

राजनीतिक दलहरुले भने यो उपनिर्वाचनलाई जनमत संग्रहको रुपमा लिएका छन् । सरकारको कार्यसैलीको निरन्तरता वा त्यो सच्याउने अवसरका रुपमा उपनिर्वाचनलाई लिइएको छ । यद्यपी यो उपनिर्वाचनले सरकार फेलवदलमा भने कुनैपनि भूमिका खेल्ने छैन ।

प्रकाशित मिति : २०७६ मङ्सिर १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *