
दाङ, भदौ १८ । नयाँ गठित संरचना अनुसार जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा संघीय र प्रदेश निर्वाचन क्षेत्र अनुसार नयाँ संगठन गठन गरिएको छ । नयाँ गठित संरचना अनुसार दाङको क्षेत्र नं. १ मा क्षेत्रीय सभापति भेषराज पाण्डे, २ मा सभापति भूपबहादुर डाँगी र निर्वाचन क्षेत्र नं.३ मा जगतबहादुर खड्कालाई चयन गरिएको छ ।
प्रदेश अन्तरगत निर्वाचन क्षेत्र नं. १ को (क)मा सभापति – ताराबहादुर डिसी, (ख)मा देवानजंग चौधरीलाई चयन गरिएको छ ।
निर्वाचन क्षेत्र नं. २ अन्तरगत (क)मा गिरिराज सुवेदी, (ख)मा कमल गौतम रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं. ३ को (क)मा सभापति – घनश्याम ढकाल र (ख) मा खिमबहादुर वलीलाई चयन गरिएको छ ।
यो संगै कांग्रेसको झन्डै दुई महिनासम्म चलेको केन्द्रीय कार्यसमिति बैठक पनि सकिएको छ।
काँग्रेस प्रबक्ता शर्माले देशका ५० बढी जिल्लामा संघीय संरचनाअनुसार संगठन गठन भइसकेको र बाँकी जिल्लामा छिट्टै समायोजनको काम सकिने जानकारी दिएका छन् ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गते पेश गरेको १४ एजेन्डामाथि छलफल गरी सहमतिमै विभिन्न निर्णयहरू गर्दै मंगलबार बेलुकी बैठक सकिएको हो।
प्रवक्ता शर्माका अनुसार बैठकले १४ एजेन्डालाई पारित गरेको छ। साथै भदौ २४ गतेदेखि सुरु हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी रूपमा देशैभर सञ्चालन गर्ने कांग्रेसले निर्णय पनि गरेको हो।
वैशाखमा पहिलो चरणमा देशैभर अभियान चलाएको कांग्रेसले संघीय संरचनाअनुसार संरचनाहरू गठन गरेर फेरि अभियान सञ्चालन गर्न लागेको छ। कांग्रेसका पूरानै समितिलाई समायोजन गरी संघीय संरचनामा रूपान्तरण गरेको छ ।
कांग्रेसले अन्तरिम संगठन संरचना कार्यविधि नै बनाएर संगठन रूपान्तरण सुरू गरेको हो। केन्द्रीय समिति बैठकमा भातृ संस्थाहरूबारे पनि छलफल भएको थियो।
भातृ संगठनको अधिवेशन गराउन साउदको नेतृत्वमा कार्यदल गठन
नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल किसान संघलगायत भातृ तथा विदेशस्थित जनसम्पर्क समितिका अधिवेशन गराउनका लागि केन्द्रीय सदस्य एनपी साउँदको नेतृत्वमा कार्यदल पनि गठन गरिएको छ। कार्यदलले एक साता अध्ययन गरी कम्तीमा छ महिना भित्रमा महाधिवेशन गरिसक्न भातृ संस्थाहरूलाई निर्देशन दिनेछ।
बैठकमा सभापति शेरबहादुर देउवाले सहमतिमै पार्टी अघि बढ्नुको विकल्प नरहेको बताएका थिए।