एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो घरमा संघीय अनुसन्धान व्यूरो (एफबिआई) ले गरेको छापाविरुद्ध रिट दायर गरेका छन् ।
ट्रम्पले अदालतसँग एफबिआईले आफ्नो मार–ए–लागो स्थित घरबाट लगेका कागजात सम्बन्धी अनुसन्धान फ्रिज गर्न माग गरेका छन् ।
रिटमा ट्रम्पको कानूनी समूहले फ्लोरिडास्थित घरबाट लगिएका कागजातको अनुगमनका लागि स्वतन्त्र वकिल नियुक्त गरिनु पर्ने माग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पको घरबाट अगस्ट ८ मा एफबिआईका एजेन्टले ११ सेट वर्गिकृत संवेदनशिल कागजात जफत गरेका थिए।
ट्रम्पले आफ्नो कार्यकाल सकिएपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट निस्कने बेला गोप्य तथा संवेदनशिल सूचनासहितका कागजातसँगै लगेका थिए ।
ती कागजात प्राप्त गर्ने प्रयास विफल भएपछि न्याय मन्त्रालयका आदेशमा एफबिआईले उनको घरमा छापा मारेको थियो ।
ट्रम्पले आफ्नो घरबाट लगिएका कागजात कार्यकारी विशेषाधिकारभित्र पर्ने दाबी गरेका छन्। विशेषाधिकारभित्र पर्ने नपर्ने हेर्नका लागि स्वतन्त्र वकिलको व्यवस्था गर्न उनले माग गरेका हुन् ।
न्याय मन्त्रालयले आफ्ना वकिलहरु ट्रम्पको रिटबारे जानकार रहेको र त्यसको जवाफ अदालतमा दिने वक्तव्यमा उल्लेख गरेको छ।