मंसिर १६। चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको माध्यमबाट सीधै हाई स्पीड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार, आगामी वर्ष चीनको गाँसु प्रान्तस्थित जिउकुआङ प्रक्षेपण केन्द्रबाट उक्त स्याटेलाइट लञ्च गरिनेछ । सन् २०२० सम्म अन्तरीक्षमा यस्ता १० वटा अरु स्याटेलाइट पनि पठाउने योजना छ ।
त्यस्तै सन् २०२६ सम्ममा अन्तरीक्षमा लिंकस्योरका यस्ता २ सय ७२ वटा स्याटेलाइट हुनेछन् । त्यसले पूरै विश्वमा निःशुल्क वाईफाई नेटवर्क उपलब्ध गराउनेछ ।
कम्पनीका सीईओ वांग जिग्यिंगका अनुसार, यस योजनालाई सफल बनाउन कम्पनीले झण्डै ५ हजार करोड रुपैयाँ बराबरको रकम लगानी गर्नेछ ।
चिनियाँ सञ्चार माध्यमहरुका अनुसार अन्तरीक्षबाट आउने वाईफाई नेटवर्कलाई मानिसहरुले सजिलैसँग आफ्नो स्मार्टफोनलगायतका ग्याजेटमा सजिलैसँग कनेक्ट गर्न सक्नेछन् । रिपोर्टअनुसार, विश्वमा अहिले ३ अर्बभन्दा धेरै मानिसले इन्टरनेट प्रयोग गर्न पाएका छैनन् । एजेन्सी