२०८३ असार ११ गते बिहिवार

यी ४ वटा निर्माणधिन अधकचल्टा पुलले तुलसीपुर – घोराहीको यात्रा यो बर्षामा पनि बन्ने छ जोखिमपूर्ण

तुलसीपुर , असार ११ ।
तुलसीपुर–घोराही चार लेन सडक बिस्तारको काम धमाधम अगाडि बढेको छ ।
गत मंसिर १ गतेदेखि घोराही उपमहानगरपालिका – १० अम्राइ क्षेत्रवाट भौतिक रुपमा सडकको स्तरउन्नतिको काम सुरु भएको थियो । बितेको ७ महिनाको अबधिमा १६ प्रतिसत भौतिक प्रगति र बित्तीय प्रगति १० प्रतिसत पुगेको सडक डिभिजन कार्यालय दाङका प्रमुख इञ्जिनियर दिपेन्द्रबहादुर विष्टले बताए ।
तर, सोही सडक खण्डमा चार वटा पुल निर्माणको काममा भने बिलम्ब भइ रहेको छ । जस्ले गर्दा यो बर्षामा पनि सर्वसाधारण यात्रुले खोलाहरुमा यात्रा गर्दा ठूलो सास्ति खेप्नु पर्ने तथा जोखिम मोल्नु पर्ने अवस्था सृजना हुने खतरा छ । आउने बर्षासम्म निर्माणाधिन सबै चार वटै पुल अधकचल्टो अवस्थामा रहने तथा ती क्षेत्रमा डाइभर्सन निर्माण गरिने हुँदा बाढी आउँदा बिषेश गरि साना सवारी साधनका चालकलाई ठूलो जोखिम उठाउनु पर्ने अवस्था सृजना हुने आँकलन गरिएको छ ।
अहिलेसम्म कुन पुल निर्माणको काम कति भयो ?

कालो खोला पुल
तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत तुलसीपुर – ७ मा पर्ने कालो खोलाको पुल निर्माण गर्न २०७९ असार २९ गते ठेक्का सम्झौता भएको थियो । यो पुल निर्माणको जिम्मा ‘शर्मा सगुन जेभी, बुटवल १३ रुपेन्देही’ले पाएको छ ।
सम्झौतामा २०८२ भदौ २८ गते पुल काम सक्ने सर्त थियो। कुल ९० मिटर लम्बाइ र साढे २० मिटर चौडाइको यो पुल बनाउन १७ करोड ८२ लाख ७९ हजार ८ सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । मिती गुर्जिए पछि मात्रै निर्माण कम्पनीले केही समय अघि मात्रै पुल निर्माणको कामको थालनी गरेको छ । जस्को हालसम्मको भौतिक प्रगति २० प्रतिसत र बित्तीय प्रगति ० प्रतिसत छ । हालसम्म उस्ले एउटा फाउन्डेसको काम सकेको छ भने एउटा स्ट्रक्चर निर्माणको चरणमा रहेको छ ।
पहिलो म्याद पछि यो पुल निर्माण गरि सक्ने समय सीमा २०८४/०५/२७ गतेलाई तोकिएको छ ।

ग्वारखोला पुल

त्यसको केही पूर्व तिर पर्ने तुलसीपुर ग्वारखोलामा पहिले दुई लेनको पुल निर्माण गरिएको हुँदा सोही आकारको समानान्तर थप दुई लेनको २२० मिटर लम्बाइ र ११ मिटर चौडाइको अर्कौ पुल निर्माण गर्न थालिएको छ । २२ करोड ५ लाख ४७ हजार ५ सय रुपैंयाँमा यो पुल निर्माण गर्ने जिम्मा पनि सोही ‘शर्मा सगुन जेभी, बुटवल १३ रुपेन्देही’ले नै पाएको छ ।
निर्माण पक्ष संग २०७९ असार २९ गते भएको सम्झौता अनुसार यो पुलपनि २०८२ भदौ २८ गते निर्माण पुरा भइ सक्नु पर्ने थियो । तर, हालसम्म ३ वटा फाउन्डेसन र एउटा सवस्ट्रक्चर निर्माणको काम मात्रै पुरा भएको छ । जस्को भौतिक प्रगति २५ प्रतिसत मात्रै छ भने बित्तीय प्रगति ० प्रतिसत छ ।
पहिलो म्याद पछि अब २०८४/०५/२७ गते पुल निर्माणको काम निर्माण पक्षले पुरा गर्नु पर्ने छ ।

हापुर खोला पुल

ग्वारखोलाको केही पूर्व तुलसीपुरमै पर्ने हापुर खोलामा चार लेनको १५० मिटर लामो पुल बनाउने जिम्मा पनि सोही निर्माण कम्पनीले पाएको छ । हापुर खोलाको पुल २७ करोड ८४ लाख ३१ हजार ७ सय रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
निर्माण कम्पनी संग २०७९ असार २९ गते भएको ठेक्का सम्झौता अनुसार यो पुलपनि २०८२ पुस मसान्तमा निर्माण पुरा भइ सक्नु पर्ने थियो ।
तर यस्को पनि हालसम्मको भौतिक प्रगति ४० प्रतिसत मात्रै छ भने बित्तीय प्रगति १० प्रतिसत छ । निर्माण कम्पनीले हालसम्म पुलका ३ वटा फाउन्डेसन र एउटा सबस्ट्रक्चर निर्माणको काम पुरा गरेको छ । थपिएको पहिलो म्याद पछि अब निर्माण पक्षले २०८४/०९/२७ गते सम्म पुल निर्माण सकिसक्नु पर्ने छ ।
तुलसीपुर–घोराही २४ किलोमिटर सडकखण्ड अन्तर्गत तुलसीपुर क्षेत्रमा ३ वटा र घोराही क्षेत्रमा १ गरि चार वटा खोलामा पुल बनाउन एकसाथ ठेक्का लागेको थियो।

सेवार खोला पुल


घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोलामा ७० मिटर लम्बाइ र २०.५ मिटर चौडाइको पुल निर्माणका लागि २०८० जेठ ३० गते संझौता भएको थियो । यो पुल निर्माण गर्न २३ करोड २२ लाख ४३ हजार ३ सय रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यहाँ पुल निर्माणको जिम्मा एमएस रायमाझी कन्स्ट्रक्सन जेभी काठमाडौँले पाएको छ । पुल सेक्टर कार्यालय बाँके नेपालगन्जका इन्जिनियर रामकिसुन चौधरीका अनुसार निर्माण पक्ष संगको सम्झौता अनुसार पहिलो म्याद थपिए पछि यो पुल गत २०८३ जेठ २८ गतेमै पुरा हुनुपर्ने थियो ।
तर, संझौताको मिती गुजारी सक्दापनि हालसम्म तीन वर्षमा पुल निर्माणको काम ६५ प्रतिशत जति मात्रै भएको छ । बित्तीय प्रगति ५० प्रतिसत जति छ ।
निर्माण पक्षले हालसम्म ३ वटा फाउन्डेसन र एउटा सबस्ट्रक्चर निर्माण पुरा गरेको छ भने एउटा स्प्यान सवस्ट्रक्चरको फाउन्डेसन ढलानको तयारी गरि रहेको छ ।
निर्माण कम्पनीले हालसम्म यो पुल निर्माणका लागि भनेर १० करोड ९३ लाख भुक्तानी लगि सकेको छ । सम्झौता अनुसार समयमै पुल निर्माणको काम गर्न नसकेपछि फेरि आगामी चैत मसान्तसम्म म्याद थपका लागि फाइल तयार गरेर पुल विभागमा निर्माण कम्पनीले पठाएको छ ।
निर्माण पक्षको लापरबाहीका साथै बजेट अभावका कारणले गर्दापनि समयमै पुल निर्माण हुन नसकेको इञ्जिनियर चौधरीले बताए ।
कतै एउटै निर्माण कम्पनीले एउटै सडक खण्ड तथा एकै ठाउँमा ३ वटा पुलहरु ओगट्नु तर समय गुजारी सकेपछि मात्रै निर्माणको काम थाल्नुले सर्वसाधारणले यात्राका क्रममा सास्ति खेप्नु परेको छ । पुल निर्माणका बिलम्ब हुन पुगे सडक बिस्तारको काममा पनि असर पुग्ने देखिएको छ ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *