तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ कुमलगढीको थारु गाउँमा जहिलै जाँदापनि विभिन्न खालका तरकारी लट्रम्म फेलेको हुन्छ ।
जहाँ गाउँका ४० घर परिवारले करिव २२ विगाहा जग्गामा व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । यो गाउँमा तरकारी खेतीबाट वार्षिक १ करोड ५० लाख वरावरको आम्दानी हुने गरेको छ ।
त्यसवाहेक अन्य ४५ घर परिवारले पनि उपभोगको लागि तरकारी खेती गर्दै आएका छन् । सुरुमा यो गाउँमा २ कठ्ठा जमिन बाट जंगवहादुर चौधरीले २०५४ सालदेखि व्यवसायिक तरकारी खेती गर्न थालेका थिए । ३९ बर्षीय चौधरीले हाल त्यो विस्तार गरेर २२ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । जंगबहादुर त्यसपूर्व घरमा वाईरिङको काम गर्दथे । जंगबहादुरको मेहनत र सफलता देखेर गाउँले सबैले उनको सिको गरे । त्यसैको परिनाम आज पुरै कुमलगढी गाउँभर तरकारी खेती हुने गरेको छ । जंगबहादुरले कम्तिमा बार्षिक ७ लाख नाफागर्ने गरेको जानकारी दिए । उनले यो बीचमा झन्डै २ विगाहा जति जग्गा पनि जोडि सकेका छन् । उनी त एउटा उदाहरण मात्रै हुन । कुमलगढी गाउँमा अन्य किसानले पनि यसैगरी तरकारी खेती बाट मनग्य आम्दानी गर्दै आएको जानकारी दिएका छन् ।
सबैले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेपछि गाउँ सम्वृद्धिको मार्गमा लम्किएको चौधरीले बताए । त्यतिबेला गाउँ खोलिएको सानो समुहको साहेताले चौधरी जिल्ला विकास समिति र स्थानीय विकास ट्रष्ट कोषले प्रदान गरेको एक महिने तरकारी खेती सम्वन्धि तालिम लिएका थिए । ‘त्यो तालिममा सिकेका कुराहरु मैले व्यवहारमा उतार्दै उतार्दै यहाँसम्म आइ पुगेको छु ।’ चौधरीले भने ।
हाल सरस्वती कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका चौधरी गत असारमा तुलसीपुर उपमहानगरपालिका बाट पुरस्कृत र सम्मानित कृषक मध्यका एक हुन । उनले प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना बाट सहुलेतमा खेतवारी जोत्ने पाउर ट्रेलर पनि प्राप्त गरेका छन् । चौधरीले उपमहानगरपालिका बाट कृषि प्राविधिक, विउ विजन र उपकरणमा सहयोग प्राप्त हुन थालेको भन्दै खुसी साटे ।
तर उनले थप उत्पादन वृद्धिका लागि सिँचाई सुविधामा राज्यले सहयोग गर्न नसकेको दुखेसो गरे । उनले बर्षे पानी भण्डारण गर्नको लागि दुई कठ्ठा क्षेत्रफलमा पानी पोखरी पनि निर्माण गरेका छन् । त्यसमा माछा पालन गर्दै उनले बार्षीक ५० हजार सम्म आम्दानी गर्दै आएको जानकारी दिए ।
‘यहाँ सिँचाईको निकै समस्या छ, चिराको पानी र कुवाको पानी मोटरले तानेर तरकारी खेती गर्दा बढी खर्च भएको छ ।’ उनले भने ।
त्यो समस्या समाधान गर्न सकेमा अझै उत्पादन वृद्धि हुने र आम्दानी गर्न सकिने उनको कथन छ । सिँचाईको भरपर्दाै सुविधा नभएको हुँदा ईनार बाट मोटरले पानी तानेर सिंचाई गर्नु परेको अर्की कृषक पार्वती चौधरीले बताइन । ‘बर्षौंसाल मोटर किन्नु पर्छ, पाईप किन्नु पर्छ, विद्युत तार किन्नु पर्छ त्यसले अनावश्यक खर्च बढेको छ ।’ पार्वतीले भनिन ।
तरकारी खेती गर्नकै लागि गाउँका सबैले हरेक घरमा २ ÷ २ वटा इनार वनाएको पार्वतीले बताइन । ‘एउटामा पानी सुके अर्को प्रयोग गर्छौ।’ चौधरीले भनिन् ।
उनले आफ्नो जग्गामा वर्षमा चार पटक तरकारी खेती गर्ने गरेको हुँदा खेतवारी कहिलै बाँझो नरहने जानकारी दिइन । पार्वतीको ६ कठ्ठा वारीमा अहिले खुर्सानी, टमाटर र काउँली लटरम्म फलेका छन् ।
स्थानीय जयराम चौधरीले ९५ घर धुरी रहेको कुमलगढी गाउँमा ४५ जनाले निर्वाहमुखी तरकारी खेती गर्ने गरेको भएपनि त्यो विस्तारै व्यवसाय उन्मुख बन्दै गएको जानकारी दिए । तर उनले निजकमा बजारको उचित व्यवस्थापन नहुनु, चिस्यान केन्द्र नहुनु जस्ता कारणहरुले किसान समस्यामा परेको बताए ।
‘खेतमै किन्न आउनेहरुले सस्तोमा लैजान खोज्छन्, बजार जान ८ किलोमिटर टाढा पर्छ ,’ चौधरीले भने ‘ हाम्रो आफ्नै साधन छैन हिडेर जाँदा सास्ती हुन्छ ।’
सबै किसान मिलेर तरकारी विक्री गर्नका लागि गाडी भाडामा ल्याउने गरेता पनि त्यो प्रयाप्त नभएको वताए । ‘हाम्रो पसिनामा विचौलियाको जगजगी छ त्यो रोक्न सथनीय सरकारले ध्यान दिनुपर्छ ।’ चौधरीले भने ।
तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख तिलक केसीले भने किसानका समस्या समाधान गरेर व्यावसायिक तरकारी खेतितर्फ अग्रसर गराउन किसानलाई खेतमै कृषि प्राविधिक उपलब्ध गराउने गरि पहल गरिरहेको वताए । उपमहानगरपालिकाका आर्थिक समिति संयोजक माधव वलीले किसानहरुलाई कृषि उपज विक्री वितरणमा सहज होस् भन्नका लागि उपमहानगरपालिकाले कृषि उपज वजार केन्द्र निर्माण गर्न लागेको जानकारी दिए । उनले किसानहरुको सम्मानका लागि कृषि परिचय पत्र वितरण गर्न लागेको जानकारी दिए ।
वडा नम्वर २ का वडाध्यक्ष राजु आचार्यले सिंचाईको समस्या समाधानका लागि पहल गर्ने वताए । उनले डिपवोरिङ निर्माणका लागि वडाले पहल गर्ने जानकारी दिए ।