दाङ, बैशाख २० ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङले पुर्नंबासको बिकल्प बिना सुकुमबासीलाई नहटाउन आग्रह गरेको छ ।
पार्टीका दाङ जिल्ला सचिव तिलक सीले आइतबार बिज्ञप्ति जारी गर्दै सरकारले न्यूनतम मानवीय मूल्य र अधिकारको समेत बेवास्ता गरेको बताएका छन् ।
उनले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा गरिब किसानको जमिन र आवासको सुनिश्चितता नगरी कुनै पनि बहानामा जबर्जस्ती विस्थापन नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
वैकल्पिक व्यवस्था बिना नै सुकुम्बासी बस्तीहरूमा घर भत्काउने कार्य गरिरहेको भन्दै उनले बिरोध गरेका छन् ।
वक्तव्यमा देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीहरूमा डोजर चलाउने क्रम तीव्र बनिरहेको र त्यसकै निरन्तरतामा दाङका बस्तीहरूलाई पनि निशाना बनाउने तयारी भइरहेको भन्दै बिरोध जनाइएको छ ।
त्यसले सर्वसाधारण नागरिकमा त्रास सिर्जना गरेको तथा आफ्नो बसोबास जोगाउन बाध्य भएर संघर्षमा उत्रिनुपर्ने अवस्था आएको बिज्ञप्तिमा उल्लेख छ ।
साथै, सुकुम्बासीहरूले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गामा यथासिघ्र प्रमाणका आधारमा स्वामित्व प्रदान गर्नुपर्ने माग गरिएको छ ।
स्थानीय सरकारको समेत ध्यानाकर्षण गराउँदै सुकुम्बासीहरूको पक्षमा उभिन आग्रह गरिएको छ । सुकुमबासीको न्यायपूर्ण आवाज र संघर्षमा आफ्नो पूर्ण समर्थन रहने बिज्ञप्तिमा उल्लेख छ ।