तुलसीपुर, जेठ १२ ।
तुलसीपुर गोरौरीकी एक महिला घर नजिकै मृत अवस्थामा फेला परेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका –१० गोलौरीकी अन्दाजी ५९ वर्षीया जगनी चौधरी सोमबार बेलुली घरदेखि करिब एक सय मिटर टाढाको बारीमा मृत अवस्थामा फेला परेकी थिइन । प्रहरी स्रोतका अनुसार चौधरी बिहान ११ बजेतिर छिमेकीको घरमा घर आँगन बढार्न प्रयोग हुने बरनी दिन पुगेकी थिइन । त्यसपछि उनी घर पुगिनन् ।
बेलुकी पौने ७ बजेतिर चौधरीको शब मृत अवस्थामा फेला परेको सूचना पछि इलाका प्रहरी कार्यालय तुलसीपुर बाट प्रहरीको टोली ८ बजेपछि घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटना संकाष्पद देखिएपछि प्रहरीले रातभर बारीमै चौधरीको शबको सुरक्षा गरि बसेको थियो ।
बाँकेबाट तालिम प्राप्त कुकुरसहितको बिज्ञ टोली राति नै तुलसीपुर आइ पुगेको थियो । त्यसैले मंगलबार बिहान दाङका प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठ, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली, प्रहरी निरीक्षक बिनोदराज खत्री लगायतको टोली तालिम प्राप्त कुकुरसहितको बिज्ञ टोलीका साथ घटनास्थल पुगेर प्रारम्भीक अनुसन्धान गरेको थियो ।
प्रहरीले शब बिहान १० बजेपछि मृतकको शब उठाएर पोष्ट मार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएको थियो ।
इप्रका प्रमुख पराजुलीका अनुसार मृतकको शरिरमा घाउखत केहीपनि देखिएको छैन । कानमा लगाएका सुनका गरगहनापनि छँदै छन् । उनी घरमा श्रीमान र छोरा बुहारीको साथमा बस्दै आएकी थिइन ।
पोष्टमार्टम रिपोर्ट पछि चौधरीको मृत्युको कारण भन्न सजिलो हुने प्रहरीले बताएको छ ।
