
तुलसीपुर, जेठ १२ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउने गरि प्रस्ताब गर्ने काँग्रेस संसदीय दलको बैठक निर्णय गरेको छ ।
यो निर्णय संगै बिगतको सहमति कार्यान्वयमा भएमा पूर्व मुख्यमन्त्री तथा दाङको क्षेत्र नं. ३ (१) बाट निर्वाचित डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ ।
लुम्बिनी प्रदेशस्थित काँग्रेस संसदीय दलको कार्यालयमा सोमबार संसदीय दलका नेता चौधरीको अध्यक्षतामा बसेको बैठकमा उपस्थित सबै सांसदहरुले अब काँग्रेसको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने कुरामा एकमत राखेका थिए ।
त्यो बैठकले बिगतको सहमति र संझौता अनुरुप काँग्रेस नेता चौधरीको नेतृत्वमा सरकार गठन गर्नका लागि नेकपा (एमाले) संसदीय दल संग आग्रह गर्ने निर्णयपनि गरेको छ ।
दुई दलका बीचमा बिगतमा भएको सहमति अनुसार आलोपालो (२०/२०) महिना नेतृत्व गर्ने सम्झौता भएको हुँदा त्यसको कार्यान्वयमा जानु पर्ने काँग्रेस संसदीय दलले निष्कर्ष निकालेको हो ।
काँग्रेस र एमालेका बीचमा आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने सहमतिकै आधारमा एमालेका चेतनारायण आचार्य २०८१ को साउन ७ मा लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए । हालपनि उनकै नेतृत्वको सरकार छ ।
दुई दल बीचको सहमति कार्यान्वयमा ढिलाइ भइ सकेको हुँदा तत्काल सरकारको नेतृत्व काँग्रेसले लिने गरि सहमति कार्यान्वयमा जोड दिने बैठकले निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सभा यसअघि ८७ सदस्यीय थियो । चार जना सांसदले राजीनामा दिएर फागुन २१ गतेको चुनाव लडेका थिए । हाल लुम्बिनी प्रदेशसभा ८३ सदस्यीय छ । सरकार गठनका लागि ४२ सांसद भए पुग्छ । काँग्रेस र एमाले मात्रै मिलेर बहुमतको सरकार बनाउन बहुमत पुग्छ । लुम्बिनीको ठूलो दल एमाले हो । उस्का २९ सांसद छन् । दोस्रो दल कांग्रेसका २७ र तेस्रोत दल नेकपा १३ सांसद छन् । त्यस्तै राप्रपा नेपालका ४, जनमत र जसपा नेपालका समान ३ / ३, जसपाका २ , राजमो १ र स्वतन्त्र १ जना सांसद छन् ।
अब बन्ने काँग्रेस नेतृत्वको सरकारमा साना दलको सहभागिता नहुने स्रोतको दाबी छ ।
लुम्बिनीमा मुख्यमन्त्रीसहित १२ मन्त्रालय छन् । साउन १ गतेदेखि लागु हुने गरि मन्त्रालयको संख्या घटाएर ८ मात्रै कायम गर्ने निर्णय भइ सकेको छ । जस्ले गार्दापनि साना दलको सरकारमा सहभागिता रहने संभावना देखिदैन ।
अब नयाँ बन्ने सरकारमा काँग्रेस र एमालेका बीचमा समान चार / चार वटा मन्त्रालयमा भाग बण्डा गर्ने गरि छलफलहरु भइ रहेको छ ।
