

तुलसीपुर, जेठ १८ ।
तुलसीपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर बाबु छोराको मृत्यु भएको छ । आमा घाइते छिन् ।
लमही नगरपालिका – ५ का ३५ बर्षीय मनोज नेपाली र उनका ५ बर्षीय छोरा मिनराज नेपालीको उपचारका क्रममा बाँकेको नेपालगंजस्थित नर्सिंङ होममा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रेशम बोहराले बताए ।
३४ बर्षीया अनुषा नेपालीपनि घाइते छिन् । उनको दाँतहरु भाँचिएको भएपनि अवस्था सामान्ने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होबहादुर पराजुुलीले बताए ।
उनीहरु सवार रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई गुल्म चोकमा सोमबार विहान साढे ५ बजेतिर रा १ ख २१९२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । मोटरसाइकल तुलसीपुर बाट घोराही हुँदै लमही तर्फ जाँदै थियो भने टिप्पर प्रदेश प्रहरी कार्यालय लुम्बिनी तर्फ अर्थात गुल्म चोक तर्फ जान मोडिरहेको थियो ।
त्यही क्रममा टिप्परले मोटरसाइकललाई ठक्कर दिएको डिएसपी पराजुलीले बताए । दाङकै शान्तिनगरका टिप्पर चालक इप्रका तुलसीपुरको प्रहरी नियन्त्रणमा छन् ।
दुर्घटना लगतै घाइतेलाई उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रोदेशिक अस्पताल पुर्याइएको थियो । त्यहाँ प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगंजस्थित संजिवनी कलेज अफ मेडिकल साइन्सेजमा दुबै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
डिएसपी पराजुलीका अनुसार चिकित्कसले छोरालाई पौने १० बजेतिर र बाबुलाई १० बजेपछि मृत घोषणा गरेका थिए ।
उनीहरु आइतबार बिदाको दिनमा तुलसीपुर उपमहानगरपालिका – ६ स्थित सुशुरालीमा आएका थिए ।
सोमबार बिद्यालय संचालन हुने हुँदा बिहानै श्रीमान, श्रीमति र छोरा घर तर्फ फर्किदै थिए । ससुराली बाट हिडेको केही बेरमै उनीहरु दुर्घटनामा परेका थिए ।
दुर्घटनामा बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
