‘वडाध्यक्षको धर्ना ‘स्टन्ट’ मात्रै हो’
दाङ, जेठ ३ ।
कालीमाटी गाउँपालिका – ७ का वडाध्यक्ष मित्रलाल रिजाल शुक्रबारदेखि धर्नामा बसेका छन् । उनी कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको प्रदेश राजधानी सुर्खेतस्थित कार्यालयको पर्खाल बाहिर धर्नामा बसेका छन् ।
नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष रिजाल एमालेकै मुख्यमन्त्री कडेलको कार्यालय बाहिर शुक्रबारदेखि धर्नामा बसेका छन् ।
वडाध्यक्ष रिजालको यो अभियानलाई साथ दिन वडा सदस्य तिर्थबहादुर राना, वडाका प्राबिधिक मनोज बासकोटा र सामाजिक अभियान्ता हिमाल पुन मगरपनि साथमै धर्नामा बसेका छन् ।
वडाध्यक्ष रिजालले आँफुले राखेका माग पुुरा नहुँदासम्म धर्ना जारी रहने बताए ।
वडाध्यक्ष रिजालले रत्न राजमार्ग अन्र्तगतको सुर्खेत बबई हुँदै घुँइयाँबारीसम्मको १८ किलोमिटर सडकको स्तउन्नति र कालो पत्रे गर्ने बजेट बिनियोजन गर्न माग गर्दै आँफुहरु धर्नामा बस्नु परेको बताए ।
हरेक आर्थिक बर्षमा सुर्खेत घुँइयाबारी सडकको लागि बजेट माग गर्दै फाइल पेश गर्दै आएको भएपनि बिगत लामो समयदेखि सुनुवाई नभएको हुँदा धर्नामा बस्नु परेको वडाध्यक्ष रिजालले जानकारी दिए ।
सुर्खेतको क्षेत्रमा पर्ने गिद्देखोला, सल्यान खण्डमा पर्ने कुइने खोला, अम्लिसेवा खोला लगाएत दर्जन जति खोलाहरुमा पुल नहुँदा बर्षामा यातायात ठप्प हुने हुँदा सडकको स्तउन्नति जरुरी रहेको उनले बताए ।
सुर्खेत घुँइयाबारी सडक खण्ड २०६४/०६५ मा नयाँ ट्रयाक खोलिएको थियो । सडक खण्डमा कालीमाटी गाउँपालिकाले आफ्नो क्षमता अनुसार बर्षेनी ग्राभेल, ग्याबिन वाल र तारजाली गर्दै आएको भएपनि स्तरउन्नतिका लागि गाउँपालिका संग थप बजेट नभएको हुँदा प्रदेश सरकार संंग माग्नु परेको उनले बताए ।
संघीय सरकारको बजेट बाट बबइ नदीमा झन्डै २०० मिटर लामो पक्की पुल गत बर्ष नै निर्माण कार्य पुरा भएपनि आसपासका खोलाहरु कारण त्यो पुल हालसम्म प्रयोगमा आउन नसकेको वडाध्यक्ष रिजालले बताए । त्यो पुल प्रयोगमा आएको भए सल्यानको हात्ती ढुँगा जोड्ने सडक खण्डमा गाडी संचालन गर्न थप सहज हुने उनले बताए ।

कालीमाटीको ७ नम्बर वडा बाँके, बर्दिया र सुर्खेत संग सीमाना जोडिएको वडा हो ।
झन्डै चार हजार जनताले राम्रो बाटो नहुँदा उत्पादित बस्तु बजारसम्म पुर्याउन नसकेको, विद्यालय जाने बालबालिकाले बर्षामा खोला र नदीहरुमा हेलिएर बिद्यालय जानु परि रहेको हुँदा तत्काल बाटो बन्न अति जरुरी रहेको वडाध्यक्षले बताए ।
त्यस्तै उनले बाटो बाहेक आफ्नो वडामा कतैपनि हालसम्म बिद्युत नपुगेको, टेलिफोनको नेटवर्कका लागि डाँडा काँडा उक्लिनु पर्ने बाध्यता रहेको हुँदा घुँइयाबारीमा टेलिकमको टावर स्थापना हुनुपर्ने माग गरे ।
धर्ना बस्नु पूर्व आँफुहरुका ती मागहरु पुरा गरि दिन आग्रह गर्दै वडाध्यक्ष रिजालसहितको चार जनाको टोलीले कर्णालीका मुख्यमन्त्री यामलाल कडेल, भौतिक पूर्वाधार तथा शहरी बिकास मन्त्री शेरबहादुर बुढालाई भेटेर उनीहरु समक्ष ती मागहरु राखेका थिए । त्यो माग पुरा हुने अवस्था नदेखिएपछि आँफुहरु धर्ना बस्नु परेको वडाध्यक्ष रिजालले बताए ।
आँफुहरु बिहीबार सल्यान बाट सुर्खेत पुगेर मुख्यमन्त्री कडेल, भौतिक मन्त्री बुढा लगाएतलाई भेटेर मागहरु राख्दापनि कुनै सुनुवाई नभएपछि धर्ना बस्न बाध्य भएको तथा मन्त्रीहरु सोही बाटो ओहोर दोहोर गर्दापनि आँफुहरुलाई बेवास्ता गरिएको वडाध्यक्षले गुनासो गरे ।
यो बिषयमा मुख्यमन्त्री र भौतिक मन्त्रीका सचिवालयहरुले नाम उल्लेख नगर्ने सर्तमा वडाध्यक्ष रिजालको धर्नालाई ‘स्टन्ट’को संज्ञा दिए । ‘के टेलिकमको टावर स्थापना गर्ने कार्य र बिद्युतिरकणको कार्य प्रदेश सरकारको क्षेत्राधिकार भित्र पर्छ र ,’ उनले प्रश् गरे ‘ यो एउटा स्टन्ट मात्रै हो । धर्ना बसेर कँही बजेट मिल्छ । कर्णालीका सात सय अठार वडाध्यक्षहरु सबैले त्यसै गर्न थाले भने के हुन्छ ?’
वडाध्यक्ष रिजाल दोस्रो कार्यकालका लागि निर्वाचित भएको ब्यक्ति भएको तथा उनी कार्यपालिका सदस्यपनि रहेको हुँदा नौं बर्षसम्म उनले पालिकाको तर्फबाट बाटोका लागि कुनै काम गर्न नसकेपछि आँफु प्रति भइ रहेको आलोचना छल्न प्रदेश मुख्यमन्त्रीको कार्यालय बाहिर आएर धर्ना बस्ने नाटक मञ्चन गरि रहेको अर्का एक सचिवालयका ब्यक्तिको आरोप थियो ।
‘त्यो सडक खण्ड कालोपत्रे गर्न तत्काल तीन अर्ब जति बजेट चाहिन सक्छ, के कर्णालीको तेत्तो सामथ्र्य छ,’ उनले भने ‘ यो सबै नौ बर्षसम्म आँफुले बाँडेको आश्वासन अनुसार केहीगर्न नसकेपछि लाज छोप्न र आँफु चोख्खिन गरेको नाटक मात्रै हो ।’
यद्यपी धर्नामा बसेका वडाध्यक्षलाई सचिवहरु मर्फत संझाइ बुझाई गर्ने तथा अनशन तोड्नका लागि आग्रह गर्ने प्रयासहरु भइ रहेको उनीहरुले बताएका थिए ।
