
नारायणपुर, जेठ ३० । घोराही उपमहानगरपािलका वडा नं. १० चारबगियामा दश बिगाहा क्षेत्रफलमा तरकारी खेति गर्दै आएका एक किसानको अधिकाँस तरकारी बारीमै कुहिएको छ । किसान महेन्द्र खड्काले जसबाट आफुलाई २० लाख बढी क्षति भएको जानकारी दिएका छन् ।
लकडाउन भन्दा पहिला उत्पादित तरकारी मध्य झन्डै २० लाख जतिको तरकारी बेचेपनि आधा बढी तरकारी बारीमै कुहिएको हूँदा थप २० लाख भन्दा बढी क्षति भएको उनले बताए । किसान खड्काका अनुसार उनले अघिल्लो लटमा दश बिगाहा मध्य चार बिगाहामा टमाटर खेति, झन्डै एक बिगाहामा क्राँका, दूई अढाई बिगाहामा भेडे खुर्सानी र बचेको जग्गामा बाडी, पिरो खुर्सानी लगाएतका तरकारी रोपेका थिए ।

त्यो सबै तरकारी खेति गर्दा ४० लाख जति खर्च भएको र त्यसमध्य आधा मात्रै उठाउन सकेको उनले बताए । ‘ ४० लाख मध्य २० लाखको तरकारी मात्रै बेच्न पाँए,’ खड्काले भने ‘ लकडाउन पछि अरु जम्मै तरकारी बारीमै कुहियो ।’ लकडाउन नभइ दिएको भए त्यसबाट आफुले झन्डै १०÷१५ लाख मुनाफा लिन सक्छु भन्ने कल्पना गरेको उनले बताए ।
उनले बिगत तीन बर्षदेखि नारायणपुर माविको जग्गा भाडामा लिएर त्यहाँ ब्यबसायिक तरकारी खेति गर्दैै आएका छन् ।
दाङमा बैशाख १७ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि बजार, यातायात, उद्योग, ब्यापार सबै ठप्प बन्दा तरकारी खोज्न कोही नआएको र सबै तरकारी बारीमै कुहिएको उनले जानकारी दिए । अहिले भएको क्षति अर्कौ लटमा उठाउने गरि हाल आफुले तरकारी मास्न बिषादी प्रयोग गरेको खड्काले बताए ।

