घोराही, असोज ७ । स्वर्गद्धारी टिप्पर व्यवसायी यातायात प्रालिमा आवद्ध टिप्पर व्यवसायीहरुले भाडा बढाउने निर्णय गरेका छन् ।
घोराहीमा बुधवार सम्पन्न व्यवसायीहरुको बैठकले चुनढुंगा खानीबाट सिमेन्ट कारखाना सम्म बोक्दै आएको चुनढुंगाको भाडा बढाउने निर्णय गरेको हो ।
स्वर्गद्धारी टिप्पर व्यवसायी प्रालिका अध्यक्ष भरतनाथ योगीको अध्यक्षतामा बसेको बैठकले घोराही सिमेन्ट कारखानाका लागि प्रतिटन २५ रुपैंया र देउखुरीको सम्राट सिमेन्ट कारखानाका लागि प्रतिटन एक सय रुपैया भाडा बृद्धि गर्न संबन्धित उद्योग संग माग गर्ने निर्णय गरेको छ ।
हाल घोराही सिमेन्टमा प्रतिटन ५ सय २५ रुपंैया र सम्राट सिमेन्टमा प्रतिटन ६ सय ५० रुपैंयामा चुनढुंगा बोक्दै आएको प्रालिका पदाधिकारीले जानकारी दिएका छन् ।
भाडादर कायम गराउनका लागि उद्योगसंग वार्ता गर्न भरतनाथ योगीको संयोजकत्वमा ५ सदस्य वार्ताटोलि समेत गठन गरिएको छ ।
वार्ता टोलिका सदस्यहरुमा रमेश डाँगी, शिव पुरी, भेषराज खत्री, पुर्ण शाही रहेका छन् ।
व्यवसायीहरुले आफ्ना माग यहि असोज १६ गतेसम्म पुरा नभए आन्दोलन गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ ।
