२०८१ बैशाख २० गते बिहिवार

आँखा पाक्ने समस्या बढ्दै गएपछि बिद्यालय बन्द

सल्यान,भदौ १ । पछिल्लो समय सल्यानका बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि बिद्यालय बन्द हुन थालेका छन् ।

बालबालिकामा दिनप्रतिदिन आँखामा समस्या बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलताका कारण विद्यालय बन्द गर्न थालिएको हो ।

अहिले जिल्लाका केही सामुदायिक र संस्थागत बिद्यालय केही दिनलाई बन्द भैसकेका छन् । जिल्लाका ग्रामिण भेगमा त्यति धेरै समस्या नभएपनि वजारक्षेत्रमा रहेका बिद्यालयमा अध्ययनरत बालबालिकासँगै शिक्षकहरुमा पनि आँखा पाक्ने समस्या बढ्दै गएको छ ।

जसका कारण पठनपाठनलाई नै थाती राखेर बिद्यालय बन्द गर्नु परेको हो । जिल्लाका केही बिद्यालयहरु एक साताका लागि बन्द भएका छन् । आँखामा संक्रमण बढ्दै गएपछि विद्यालयमा आउने विद्यार्थीहरूको संख्या दैनिक रूपमा घट्दै जाँदा पनि विद्यालय केही दिनका लागि बन्द गर्नु परेको हो ।

शिवजन माध्यमिक बिद्यालय शितलपाटीका प्रधानाध्यापक हिरालाल नेपालीले आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएकाले बिद्यालय बन्द गरिएको बताउनुभयो । उहाँले साउन ३१ गतेदेखी बन्द भएको बिद्यालयमा भदौँ ३ गते आइतवार देखी पढाई सुरु हुने बताए ।

आँखामा संक्रमण भएका विद्यार्थी विद्यालयमा आउँदा स्वस्थ विद्यार्थीमा पनि सर्ने तथा विद्यार्थीका माध्यमबाट प्रकोप प्रत्येक घरमा पुग्ने क्रम बढ्दै गएकाले विद्यालय बन्द गरिएको उनको भनाइ छ ।

उनले बिद्यार्थी तथा शिक्षकमा आँखा पाक्ने समस्याका कारण पढाइ प्रभावित भएकाले बिद्यालय बन्द गरिएको बताए।

आँखा पाक्ने समस्या बढ्दै गएपछि विद्यार्थीलाई संक्रमित हुनबाट जोगाउन एक साताको लागि बिद्यालय बन्द गरिएको मोर्डन तुल्सी सेकेण्डरी स्कुल शितलपाटीका भाइस प्रिन्सिपल दिपेन्द्र डाँगीले जानकारी दिए ।

उनका अनुसार साउन २८ गतेदेखी बन्द गरिएको बिद्यालय भदौँ ३ गते खुल्ने छ । तर परिस्थिती हेरेर बिद्यालय थप केही पनि बन्द हुनसक्ने उनको भनाइ छ ।
यसैबिच आँखा उपचार केन्द्र शितलपाटीमा आँखा पाक्ने समस्याका बिरामी दैनिक एक सय जना आउने गरेका छन् । यो भाइरस एकबाट अर्कोमा सहजै सर्ने भएको हुँदा सजक रहनु पर्ने आँखा उपचार केन्द्रका इन्चार्ज नविना चौधरीले बताए ।

प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको उनको भनाइ छ । आँखा पाकेका मानिसले आँखा मिच्ने, आँखामा पानी छ्याप्ने, जथाभावी औषधिको प्रयोग गर्न हुँदैन भने घरबाहिर निस्कँदा कालो चस्मा प्रयोग गर्नुपर्ने उनले सुझाव दिए ।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *