२०८१ मङ्सिर १८ गते मङ्गलवार

यसरी शिक्षण सिकाइ प्रभावकारी बनाउन सकिन्छ

नेत्रलाल भट्टराई (नारायण) । बिद्यालय हाम्रो समाज र समुदायको साझा थलो हो । यो कुरा सबैलाई थाहा भएको बिषय हो ।


हाम्रा बिद्यालयहरुमा समाजका सम्पूर्ण बालबालिकाहरुले स्वतन्त्रता पूर्बक रमाउन, खेल्न, सिक्न, आफ्नो प्रस्तुती दिन पाउनु पर्छ । त्यसबाट उनीहरु आफुमा निखारता ल्याउन र आफुलाई अरु संग अन्तरघुलन हुन मौका पाउँछन् ।


हामी शिक्षण पेशामा लाग्ने शिक्षक, बिद्यालय प्रशासन, बिद्यालय ब्यबस्थापनमा रहने निकाय, सम्बन्धित सरकारी निकाय, स्थानीय तह चाहे ती अभिभावकसमेत , सबैको पहलबाट नै कक्षा कोठालाई पूर्ण समावेसी बनाउन संभव हुन्छ । त्यो जरुरी नै हुन्छ ।

त्यसैगरि शिक्षण सहजीकरण प्रक्रिया पनि पूर्ण रूपमा समावेसी हुन अत्यन्त जरुरी हुन्छ। त्यसमा अरु सबै भन्दा महत्वपूर्ण भूमिका शिक्षककै हुन्छ । शिक्षकले कक्षाकोठामा आफ्नो कक्षा शिक्षण गर्दा आफ्नो कक्षा कोठामा भएका सम्पूर्ण बालबालिकाले समान सिक्ने अवसर पाय कि पायनन् ? भन्ने कुरामा मिहिन ढंगले सोच्न आवश्यक हुन्छ । त्यो रुपमा पूर्ण हेक्का राख्न सक्ने शिक्षक नै एक असल शिक्षक हुन्छ ।


हामीले शिक्षण गर्ने हरेक कक्षा कोठामा भएका छात्रा, अपांगता भएका बालबालिका, अल्पसंख्यक, विभिन्न वर्ग र समुदायका बालबालिका तथा केही शिक्षण सिकाइका दृष्टिकोणले मात्रै मूल्याङक गर्दा कमजोर क्षमता भएका बालबालिकाहरु हुन सक्छन् ।


तर, ती सबैलाई एक असल शिक्षकले समान व्यबहार एवम समान अवसर दिन सक्नु पर्छ । उनीहरुको सिकाई क्षमताका आधारमा कक्षा शिक्षण गर्नु नै शिक्षण सिकाइमा समाबेशिकरण हो भन्ने म ठान्छु । मेरो अहिले सम्मको अनुभवले त्यही भन्छ ।


प्रायः हामी शिक्षण गर्ने शिक्षकको बानी जो बोल्छ, जसले क्रस प्रश्न गर्छ, जो अली टाँठो बाठो छ त्यसैलाई मात्रै नियाल्ने, ढाडस दिने , उसैका मात्रै कुरा सुन्ने र त्यही अनुसार कक्षा शिक्षण गर्ने चलन हुन्छ । बास्तमा त्यो सही हैन । शिक्षकको यस्तो ब्यबहारले अरुलाई नजरअन्दाज गरे जस्तो पर्न जान्छ । जो सही होइन । कारण यस्ले बिभेदका रेखाहरु कोर्छ । त्यसले बिभेद विजारोपन मात्रै हुने होइन । बरु अन्य बालबालिकामा तपाँईको ब्यबहारले आघात पु¥याउन सक्छ । शिक्षको त्यस्तै ब्यबहारका कारणले कक्षा कोठाका त्यस्ता तमाम बालबालिका सिकाइबाट बञ्चित भएका हुन सक्छन् । यस्ता कुराहरुमा एउटा असल शिक्षकले गम्भीर हुन आवश्यक छ ।


कक्षा शिक्षण गर्दा सबै बालबालिकालाई जिज्ञासा राख्ने मौका दिने, उनीहरुको प्रतिक्रिया सुन्ने, छलफलमा भाग लिने, ब्यक्तिगत क्षमतालाई ध्यान दिदै सिकाइ प्रक्रिया अगाडि बढाउन प्रेरित गर्दै सकेमात्र अपेक्षित उपलब्धि हासिल गर्न लाग्न सक्नेहरु एक असल शिक्षकको परिचय स्थापित गर्न सक्छन् ।


शिक्षकले आफ्नो कक्षाकोठामा बिषयबस्तुको सिकाई क्रियाकलापलाई पूर्ण समाबेसी बनाउन ब्यक्तिगत शिक्षण तथा समुह शिक्षण जस्ता विभिन्न प्रक्रिया अपनाउनु पर्दछ । चाहे विद्यार्थीलाई कक्षा कार्यमा सहभागी गराउदा होस वा गृहकार्य गराउदा होस, विद्यार्थीको क्षमता, रुची तथा स्वभावलाई एक असल शिक्षकले उच्च सम्मान गर्नु पर्छ ।
कक्षा कोठामा पूर्ण रुपमा समाबेसी बनाई गरिने शिक्षण सिकाइले विद्यार्थीको आत्मबलको बिकास मात्रै गर्दैन विद्यार्थीहरुमा भएका अन्तर्निहित क्षमताको प्रस्फुटन, सहयोगी भावनाको बिकास, लगनशिलता, इमानदारी, सदाजारी, उत्तरदायी, पूर्ण जिम्मेवार, अनुशासित जस्ता गुणहरुको बिकास गर्न मद्दत गर्छ ।


विद्यार्थीहरुमा यी गुणको बिकास गर्न पनि कक्षा कोठामा हुने सिकाइ पूर्ण समाबेशी हुन अत्यन्त जरुरी छ ।
अबको युग बिज्ञान, प्रविधिको युग हो । बिज्ञान प्रविधिको प्रयोग बिना अबको शिक्षण सिकाइले खासै सार्थकता पनि पाउदैन । अझ भनौं– प्रविधिबिनाको सिकाइले अहिलेको समयले मागेको दक्ष जनशक्ति उत्पादन गर्न प्रायः सकिदैन ।


अहिले प्रयोगमा आएका विभिन्न प्राविधिलाई हामीले शिक्षण सिकाइमा प्रयोग गर्दै गयौं भने मात्रै बिषयबस्तुले दिन खोजेको सीप सिकाउन सकिन्छ । शिक्षण गर्ने शिक्षकपनि समय अनुसार परिमार्जित हुन अपरिहार्य भैसकेको छ। आजका बालबालिकाले प्रविधिको प्रयोगले घरमै पनि धेरै कुरा सिकिसकेका हुन्छ्न ।
बालबालिकालाई त्यही अनुसार शिक्षण गर्न शिक्षण आफै प्रबिधिमैत्री हुन अपरिहार्य छ। कक्षा कोठामा प्रविधिको प्रयोगमा पनि समाबेशिकरण अपरिहार्य हुन्छ ।


सबैले देख्न सक्ने, सुन्नु सक्ने, प्रयोग गर्न अवसर प्राप्त गरेमा मात्रै सम्पूर्ण विद्यार्थीहरुको क्षमता बिकास हुन्छ । यसरी अबको शिक्षण प्रविधिमैत्री तथा पूर्ण समाबेसी बनाउन सके मात्रै सिकाइले सार्थकता पाउँछ । शिक्षण सिकाइ प्रभावकारी बनाउनु छ भने, सिकाइमा समाबेशिकरण अनिवार्य हुनै पर्छ । यसमा सम्बन्धित सबैको ध्यान जान जरुरी छ।


नेत्रलाल भट्टराई (नारायण) बिज्ञान बिषयका शिक्षक हुन ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *