२०८१ बैशाख १५ गते शनिवार

संवैधानिक कानुन पढाउने म्यामलाई चिठि

म्याम ! म तपाईंको विषयमा कहिल्यै पास हुन नचाहाने
अ-संवैधानिक विद्यार्थी
सधैँ अन्तिम बेन्चमा बसेर तपाईंले पढाएको
बुझ्नै नसक्ने, कमजोर छात्र
नेपालको संविधान सर्वोत्कृष्ट संविधान भन्ने विषय
पटकै मन नपराउने तपाईंको अप्रिय छात्र
कक्षाकोठामा तपाईंकै घन्टीमा
रुल अफ ल पढ्दै गर्दा
विधिको शासनको धज्जी उडाएको देशको नागरिक म
जातकै आधारमा भेदभाव हुँदैन भनी
पढेर घर फर्कंदै गर्दा
दलित भएकै कारण मर्नुपरेको नवराज बि.क.को
क्षेत्री जातको छिमेको म
सबै नागरिकलाई समान न्यायको हक हुन्छ भन्ने
दैनन्दिन घोकिरहँदा
वर्षौँ बिते पनि न्याय नपाएकी निर्मलाहरूको
छिमेकी दाइ म
धारा ३३ मा प्रत्येक व्यक्तिलाई रोजगारीको हक हुनेछ भनी
परीक्षामा लेख्दा
पूर्णाङ्क पाउने जेहेन्दार छात्र र
घरमा बेरोजगार भएकै कारण
विदेशिनु परेको दाइको अभागी भाइ म
भ्रष्टाचार गर्न हुन्न यो अपराध हो
पढेर तपाईंकै लागि
हदभन्दा बढी शुल्क तिर्नुपरेको सोझो छात्र म
म्याम ! तपाईंले नै भने मुताविक
संवैधानिक सर्वोच्चता, स्वतन्त्र न्याय र विधिको शासन सिकाउँदै हिँड्दा
पागल ठहरिएको तपाईंको छात्र म
केही माननीयले संविधान र कानुन मिचेको
इतिहास पढाएदेखि विधिको शासन बचाउँछु भनी
निस्किएको अयोग्य अभियन्ता म
इमान्दारीको सिद्धान्त बोकेर कानुन पढ्दै गरेको एक जेहेन्दार विद्यार्थी
कहिल्यै सोचिनँ
‘ल मेकर आर ल ब्रेकर’ भन्ने कुरा
म्याम !
यो देशमा कानुन बनाउनेहरूलाई पढाइदिनुहोस् न
कि
कानुनभन्दा माथि तिमीहरू पनि छैनौ ।

लेखक : तिलक रावत
उनी तुलसीपुर मेट्रो कलेजका कानुन विद्यार्थी हुन ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *