२०८२ फाल्गुन २१ गते बिहिवार

फेसबुक कम्पनीको नाम अब मेटा

एजेन्सी

सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ।

समाचार संस्था रोयटर्सका अनुसार यसअघि फेसबुक इन्क नामको कम्पनीलाई अब मेटा भनिनेछ। फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको भर्चुअल कन्फरेन्समा बोल्दै बिहीबार नयाँ नाम घोषणा गरेका हुन्।

फेसबुक इन्कले फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायत सामाजिक सञ्जाल चलाउँदै आएको छ। प्यारेन्ट कम्पनीको नाम परिवर्तन भए पनि ती सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ।

अमेरिका र अरू विभिन्न मुलुकका कानुन निर्माता र नियामक निकायहरूले फेसबुकमाथि निगरानी कडा पारेका बेला जुकरबर्गले कम्पनीको रिब्रान्ड गर्न नयाँ नाम घोषणा गरेका हुन्।

यो कुरा कम्पनीको नाम परिवर्तन गर्नेमा मात्र सीमित नभई भविष्यमा ‘मेटाभर्स’ मा जानका लागि गरिएको जुकरबर्गको भनाइ छ।

मेटाभर्स शब्द उपन्यासकार निल स्टेफेन्सनले बनाएका हुन्। सन् १९८२ प्रकाशित उनको उपन्यास ‘स्नो क्र्यास’मा पहिलो पटक यो शब्द प्रयोग गरिएको थियो। यो मेटा र युनिभर्स जोडेर बनाइएको शब्द हो।

द गार्डियनका अनसार मेटाभर्स एउटा यस्तो दुनियाँ हो जहाँ भौतिक र डिजिटल संसार एक हुन्छन्। मानिसहरू इन्टरनेटका माध्यमबाट काम गर्न सक्छन्, मिटिङ गर्न सक्छन्, कन्सर्टमा जान सक्छन् र किन्न लागेको नयाँ लुगा पनि आफूलाई फिट भएरनभएको हेर्न सक्छन्।

मेटाभर्स बनाउनका लागि फेसबुकले यसअघि नै युरोपमा १० हजार नयाँ कर्मचारी राख्ने घोषणा गरेको थियो।

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *