२०७९ साउन २७ गते शुक्रवार

एक ढिक्का दाङ, रोकियो बाउजर

साउन १५ गते आइतबार नै तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता पठाउन खोजिएको थियो । हवाई इन्धन कार्यालय दाङका प्रमुख विपिन श्रेष्ठले सोही जानकारी दिएका थिए । त्यो खबर सार्वजनिक भए लगत्तै चौतर्फी विरोधका स्वरहरू सुरू भए । उद्योगी, व्यवसायी, सर्वसाधारण नागरिक, स्थानीय सरकार सबै विरोधमा उत्रिए । सर्वसाधारण नागरिकहरूले नेताहरूलाई रोक्न दबाब दिए । नागरिकको आवाज नेताहरूले गम्भीरत पूर्वक लिए । आ–आफ्नो क्षेत्रबाट दबाब दिए । त्यही विरोध र दबाबका कारण दाङ विमानस्थलबाट बाउजर रामेछापको मन्थली लैजाने प्रक्रिया तत्काललाई रोकिएको हो ।

जसका लागि अहम् भूमिका तुलसीपुरबासी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र काँग्रेस नेता तथा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले निर्वाह गरे । उनीहरूले कुनैपनि हालतमा बाउजर नलैजान आग्रह मात्रै गरेनन् चेतावनी पनि दिए । केन्द्रदेखि प्रदेशसम्म आ–आफ्नो तर्फबाट पहल गरे । स्रोतका अनुसार नेता गिरी र मन्त्री चौधरीको पहलबाट बाउजर रोकिएको हो । तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको नेतृत्वमा तुलसीपुर–१२ का वडा अध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसी लगायतको टोली टरिगाउँ एयरपोर्टमा गएर आइतबार दिउँसो बाउजर र इन्धन ट्याङ्की रहेको गेटमा तालाबन्दी गरी दबाब सिर्जना गरेको थियो ।

तुलसीपुरका मेयर तथा एमाले नेता टीकाराम खड्का, पूर्वमेयर तथा एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डेलगायतले बाउजर लैजान खोजिएको कुरा सार्वजनिक हुनासाथ तीब्र विरोध जनाएका थिए । दाङको एकता र विरोधपछि पठाउन खोजिएको बाउजर रोकिएको हो । विकासमा राजनीति गरिनुहुँदैन । जसरी यतिखेर जिल्लाबासीले एकता प्रदर्शन गरे भविष्यमा पनि यहाँको विकास निर्माणको सवालमा यस्तै उदाहरण प्रदर्शन हुन आवश्यक छ । दंगाली नमिल्नु, क्षेत्रीय राजनीतिका कारण धेरै सम्भावना बोकेको दाङ विकासका दृष्टिकोणले ओझेलमा परेको छ ।

नेपालगंज र भैरहवाजस्ता विमानस्थलका सामु दाङ एयरपोर्टको अवस्था लाजमर्दो छ । विक्रम सम्वत २०११ सालदेखि विमान सञ्चालन भएको टरिगाउँ एयरपोर्टमा इतिहासमै पहिलो पटक गत जेठ महिनामा विमानमा इन्धन भर्न प्रयोग हुने बाउज ल्याइएको थियो । त्यही बाउजर पनि फिर्ता लैजाने कुरा दाङलाई हेप्नु समान थियो । त्यो सैह्य हुने कुरै थिएन । त्यसैले दाङ एक ढिक्का भयो । हाल विमानस्थलको धावन मार्ग ७५० मिटर लम्बाई र ३० मिटर चौडाइमा मात्रै कालोपत्रे छ ।

त्यसले गर्दा साना विमान मात्रै यहाँ अवतरण हुन सक्छन् । ठूला विमान आउन नसक्दा यात्रुले चाहेको समयमा टिकट पाउँदैनन् । अर्कोतर्फ भाडा पनि नेपालगंजको भन्दा तुलनात्मक रूपमा महंगो छ । एसियाकै ठूलो उपत्यका दाङमा विमानको धावन मार्ग विस्तार गर्ने ठाउँ छैन भन्नु आफैमा लाजमर्दो हो । भविष्यमा पनि यस्तै एकता प्रदर्शन गर्न सक्ने हो भने टरिगाउँ विमानस्थलको धावन मार्ग विस्तार गर्न सहज हुनेछ ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.