२०८३ जेष्ठ १ गते शुक्रवार

खेलाडीको भूमिका राष्ट्रियताको सवालमा सिपाही सरह हुन्छ – मुख्यमन्त्री आचार्य


तुलसीपुर, जेठ १ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणका लागि खेल क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् ।
दाङ तुलसीपुको बेल्झुण्डीस्थित रंगशालामा शुक्रबार आयोजित लुम्बिनी प्रदेश स्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घााटन गर्दै उनले खेलाडीको भूमिका राष्ट्रियताको सवालमा सिपाही सरह हुने बताए ।
आचार्यले खेलकुदले जिल्ला, प्रदेश र देशलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गरे ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद हाम्रो मुख्य लक्ष्य हो ,’ उनले भने ‘ खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’
आचार्यले खेल पूर्वाधार निर्माण, खेलाडी उत्पादन तथा नियमित प्रतियोगिता आयोजना भइरहेको दाबी गरे ।

पछिल्लो समय युवा कुलतमा फस्नु चिन्ताको विषय बनेको भन्दै उनले युवालाई खेल क्षेत्रमा आकर्षित गर्न आवश्यक रहेको बताए ।
‘खेल अनुशासन हो । स्वस्थ जीवनका लागि खेलकुद अनिवार्य छ । युवाहरु कुलतमा फस्नु सबैका लागि चिन्ताको विषय बनिरहेको छ,’ उनले भने ‘ युवा अनुशासन र नियममा बाँधिन जरुरी छ ।’
उनले खेलाडीलाई प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्न आग्रह गरे ।

प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका विद्यार्थी खेलाडीको सहभागिता छ ।
प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबड्डी र एथलेटिक्स विधाका खेलहरु खेलाइने छ्न ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव तिरणदाज गौतमको अध्यक्षता उद्घाटन कार्यक्रम भएको हो ।
प्रतियोगितामा बिभिन्न खेल क्षेत्रका अगुवा, प्रशिक्षक तथा खेलाडीको सहभागिता छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *