नेपालगन्ज, बैशाख २१ । नेपाली कांग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का उम्मेदवारले आफ्ना मतदाता समक्ष प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
जहाँ वडाअध्यक्ष पदमा प्रदिप साह (तेली), खुल्ला सदस्यमा उत्तमसिंह सिजापति र मोहम्मद सलिम मुसलमान, महिला सदस्यमा अस्मिता शाह महतरा र दलित महिला सदस्यमा सुशिला कोरी उम्मेदवार रहेका छन् ।
कांग्रेस नेपालगन्ज वडा नम्बर ४ चुनाव प्रचार प्रसार समितिले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा निर्वाचित भएपछि वडाबाट प्राप्त हुने कुनै प्रकारको सेवा सुविधा नलिने, विकासको योजना छनोट र कार्यान्वयन समुदायको सहभागिता तथा सहकार्यबाट गरिने, वडाभित्रका सम्पूर्ण सडकहरुको कालो पत्रे पाँच बर्ष भित्र गरि सक्ने कुरा उल्लेख छ ।
त्यस्तै शैक्षिक बेरोजगारीलाई न्यूनिकरण गर्नका लागि शैक्षिक योग्यताको प्रमाण पत्र धितो राखी ऋण उपलब्ध गराउन पहल गर्ने, वडा नम्बर ४ को अक्षयकोष स्थापना गरिने र गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने, वडाका टोलहरुमा वाईफाई फ्री गरिने र वडामा हुने सम्पूर्ण गतिविधीको निगरानीका लागि हरेक चोक चोकमा सिसि टीभी क्यामेरा जडान गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
यो वडामा कांग्रेसले सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाएको थियो । २०७४ सालको निर्वाचनमा काँग्रेस पराजित भएको थियो । त्यतिखेर पार्टी भित्रैबाट स्वतन्त्र उम्मेदवारी परेको थियो ।
त्यस्लाई मध्यनजर गर्दै यसपटक सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाइएको काँग्रेसका नेताहरुले बताएका छन् ।