२०८१ भाद्र २३ गते आइतवार

माघीको महिमा

अञ्जना चौधरी ।
हिन्दू धर्मावलम्वीहरुको महान पर्व,थारु तथा मगर जातिको विशेष चाड माघे संक्रान्ती संघरमै आईपुगेको छ । माघे संक्रान्तिको अवसरमा टाढा रहेका छोरीचेलीहरु माईत आउने परम्परा रहि आएको छ ।

विशेष गरी थारु जातिले विशेष महत्वका साथ मनाउदै आइरहेको यस पर्व पुस महिनाको अन्तिम दिनदेखि मान्न सुरु गरिन्छ । थारु समुदायले पुस महिनाको अन्तिम दिन सुङ्गुर काटेर घरघरमा मासु लग्ने परमपरा चलि आएको छ । त्यसैगरी त्यहि रातमा थारु अगुवा र बुढापाखाहरु एकै ठाउँमा जम्मा भएर ठूला, ठूला काठका मुढा बालेर आगो ताप्दै ढुम्रु गीत गाउँदै रात बिताउने गर्छन् । त्यो गीतमा उनीहरुको जीवन पद्धती बोल्ने गर्छ ।

‘हरे उतहलालारे माग कही सेडुरा छुट पानी घाट निद छुटे भिनसार रेलाला कारी मरद संग नै सोईबु रे’ । थारु समुदायमा उक्त दिन भाले नबास्दै खोला तथा नदीहरुमा गई स्नान गर्ने चलन रहेको छ । घरका लोग्ने मान्छेहरु स्नान गर्न जाने र महिलाहरु भने ढिक्री, अनदीको रोटी, मासु र विभिन्न परिकार बनाई आएका आफन्त तथा पाहुनाहरुलाई खुवाउने काममा व्यस्त हुने गर्छन । स्नान गरेर पुरुषहरु घरमा आइसकेपछि चामल, मासको दाल र नुनलाई आफ्ना चेलीबेटीहरुका लागि दाजुभाइहरुले छुट्याउँछन् । जस्लाई निस्राउ भनिन्छ । प्राचिन कालदेखि नै थारु समुदायहरुले आफ्ना दिदी बहीनीहरुलाई निस्राउ छुट्याउने परम्परा रही आएको छ । जो अहिले सम्म पनि कायम छ ।

घरमा पाकेको परिकारहरु खाएर आफूभन्दा मान्नेजनहरु संग आर्षिवाद लिदै माघे संक्रान्ती हर्षो उल्लास पूर्वक मनाईन्छ । त्यस पश्चात अर्को दिन निस्राउ लिएर दाजुभाईहरु दिदी बहिनीहरुको घरमा गई आफ्नो क्षमताअनुसार दक्षिणा दिने चलन रहेको छ ।

माघको १ गते आफूभन्दा ठूलावडाहरु संग आर्शिवाद लिने गरिन्छ । त्यसपछि प्रत्येक आफन्तहरुका घरघरमा गई माघी पर्व मनाउने चलन छ । दिनभरी घरघरमा गीत गाउँदै र बेलुका सम्पूर्ण इस्टमित्रहरुका घरमा गई नाच्ने चलन छ ।

तर पछिल्लो समय थारु पहिचान झल्काउने पुरानो कला संस्कृती, रितिरिवाज मासिदै जाने खतरा बढेको छ । पश्चिमा संस्कृतिले नयाँ पुस्तालाई प्रभावित तुल्याएको छ । त्यसैले आदीवासी थारु जातीको मौलिक कला र संस्कृति संकटमा पर्ने चिन्ता सर्वत्र जाहेर हुन थालेको छ ।

त्यो चिन्ता संगै जागरणको युगपनि सुरु हुन आवश्यक छ । थारु जातिको मौलिक कला संस्कृतिको जगेर्ना गर्नको लागि थारु अगुवादेखि युवा पुस्ता होसियार बन्न आवश्यक छ । कला, संस्कृती जगेर्ना र संरक्षण गर्न विभिन्न खालका क्लब,संघ संस्था स्थापना गरिनु खुसीको कुरा हो ।

तर त्यस्ता संघसंस्थाहरुले आशातित रुपमा काम गर्न सकेका छैनन् । त्यसैले खासै उपलव्धी भएको छैन । दिनदिनै थारु जातिको संस्कृति र परम्परा संकटमा पर्ने खतरा बढ्दो छ । थारु कल्यानकारिणी सभा क्षेत्र नं ३ का उपाध्यक्ष प्रमिला चौधरीले त्यही चिन्ता जाहेर गरिन । थारु समुदायको ऐतिहासिक र मौलिक पर्व माघी मनाउने प्रचलन पहिलेको तुलनामा धेरै परिवर्तन आएको भन्दै उनले चिन्ता जाहेर गरिन । समय अनुसार मान्छे फरक भएता पनि चार्ड पर्व हाम्रा पुर्खाहरुले मनाए जस्तै गरेर मनाउनु पर्ने उनको भनाई छ ।

माघीको अवसरमा पहिला÷पहिला प्रत्येक घरघरमा गएर रातभरी नाच्ने,माघीको शुभकामना दिने अनि नाचेका घरहरुवाट दक्षिणा लिने गरिन्थ्यो । तर आजभोलि त्यो प्रचलन हट्दै गएको छ । युवा पुस्ता थारु पश्चिमा गीत संगित डिजे र साउन्ड सिस्टममा रमाउन थालेको छ । त्यो अर्काको संस्कृती हो र त्यसले आफ्नो मौलिक संस्कृती खुइलिदै गएको छ भन्ने हेक्का उनीहरुमा नहुनु गम्भीर भुल हो ।

आफ्नै विशिष्ट मौलिक कला र संस्कृतिको धनी थारु समुदाय समयमै सजग नहुने हो भने भविस्यमा आफ्नै संस्कृती जोगाउन कठिन हुने निश्चत छ ।

माघीको अवसरमा जुन घरमा नाचिन्छ त्यो नाचेको घरबाट दक्षिणा माग्दा तोकेर दक्षिणा माग्ने नराम्रो प्रचलन पनि सुरुवात भएको छ । यो विकृति हो । थारु जातीको कला, संस्कृति र परम्पराका विरुद्धका अभ्यास रोकिनु पर्छ । थारु बुद्धिजिवी छोटीलाल थारुले आफ्नो इतिहास र परम्परा नयाँ पुस्ताले भुल्दै गएको देख्दा निकै दुःख लाग्ने गरेको बताउँछन् ।

माघी पर्व साझा पर्व हो । सबै जातजातीले यो पर्व मनाउने गर्छन । तर थारु समुदायको लागि भने यो अति नै महत्वपूर्ण पर्व हो । जस्लाई उनिहरु नयाँ वर्ष आरम्भ भएको पर्वको रुपमा पनि मनाउने गर्छन । यही दिनदेखि नै थारुहरु बार्षिक कार्ययोजना तय गर्छन । के गर्ने र के नगर्ने भन्ने सबै निधो यही दिनमा गरिन्छ । घर छुट्टिने वा नछुट्टिने, जग्गा जमिन खरिद विक्रि तथा अन्य कुनैपनि नयाँ कामको सुरुवात गर्ने कि नगर्ने ? पुराना कामलाई निरन्तरता दिने कि नदिने जस्ता सबै निर्णय यही माघी कै दिन तय गरिन्छ । गाउँ र घरको अगुवा चुन्ने कामपनि यही दिन पुरा हुने थारु बुद्धिजिवी छोटीलाल चौधरीको भनाइ छ ।

तर थारु युवा युवतीहरुको भनाई भने फरक छ । बर्ष दिनमा मनाउने माघी आफ्नो ईच्छा अनुसार सोच अनुसार मनाउन पाउनुपर्ने धारणा राख्छन् । त्यो सोच गलत हो भन्न मिल्दैन । तर स्वतन्त्रताको नाममा स्वच्छन्दा अर्थात आफ्नै मौलिक कला र संस्कृतिमाथि धावा बोल्ने खालको संस्कृतिमा रमाउनु भने सरासर गलत हो । त्यो आफ्नै पूर्खा र अग्रजको बर्खिलाप हो । धर्ती पुत्र मानिने थारु जाति कडा मेहनत र कृषि कर्ममा रमाउँदै आएको सत्य हो ।

तर पछिल्लो पुस्ता भने हरेक फिल्डमा प्रवेश गर्दै आएको छ । त्यो राम्रो पनि हो । उच्च शिक्षा हासिल गरिरहेका युवापुस्ताले गाउँ घरमा जागरणको लहर पैदा गरेका छन् । राजनीति, जागिर, पत्रकारिता लगाएत जताततै युवा पुस्ता छाइरहेको छ । पछिल्लो समय देश विदेशमा थारु युवा युवती पुगेका छन् । त्यो खुसीको कुरा हो । तर जहाँ पुगेपनि उस्ले आफ्नो पूर्खाले जनतगरेर जोगाएर राखेको कला संस्कृति भने मास्न मिल्दैन । स्वतन्त्रताको नाममा आफ्नै पूर्खाको नासो मेट्ने दिशामा युवापुस्ता पश्चिमा संकृतिमा रमाउनु कदापी सहि हैन ।

पछिल्लो समय राज्यले नै कानुनी रुपमै दासताको प्रतिकको रुपमा रहेको कमैया कमलहरी राख्न नपाइने प्रवन्ध गर्नु खुसीको कुरा हो । त्यसैले गर्दापनि पछिल्ला बर्षहरुमा माघी विषेश महत्वको उत्सव जस्तै बन्न थालेको छ । त्यो गलत प्रर्थालाई अव सदा सदाको लागि मन बाटै मेटाउन आवश्यक छ । तर त्यसका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । अझैंपनि थारु बालवालिका विद्यालयको पढाई बीचमै छोडेर काम काजमा लाग्ने गरेका छन् । थारु समुदायमा परिवर्तन ल्याउने सबैभन्दा शसक्त माध्यम शिक्षा नै हुन सक्छ । त्यो जागरण अझैं प्रत्येक थारुको घर घरमा पुर्याउन पढे लेखेका, जागिर खाएका, देश विदेशको अनुभव संगालेका युवा पुस्ताले गर्न आवश्यक छ ।

माघीको वाहाना मदिराको अम्मली बन्नु गतल सोच हो । पछिल्लो समय त्यसमा उल्लेखनिय सुधार आएको छ । परम्पराको नाममा हुने गलत कुरा चिर्नु ठूलो जोस र होस चाहिन्छ । जो युवा पुस्तामा छ ।

सबैमा माघीको माघी उल्लासमय बनोस । शुभकामना ।

प्रकाशित मिति : २०७५ पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *