
बुटवल, साउन ७ । अविरल वर्षाले पहिरो जाँदा गुल्मीमा १० जनाको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका ३ र ४ मा पहिरोले घर बगाउँदा १० को मृत्यु भएको हो।
सत्यवती ४ लिम्घामा तीन घर पहिरोले पुर्दा ८ जनाको मत्यु भएको छ । पहिरोमा परेर ३२ वर्षीया निर्मला विक, २९ वर्षीया पम्फा विक, १२ वर्षीया अञ्जला विक, ७० वर्षीय छलि विक, ९ वर्षीया शिवानी विक, ९ वर्षीय तारा विक र ५ वर्षीय हिमान्सु विकको ज्यान गएको छ भने एकजना मृतक बालकको अझै परिचय नखुलेको गाँउपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए।
त्यस्तै सोही गाउँपालिकाको वडा न ३ ठूलो लुम्पेकस्थित कसिङथलामा पहिरो जाँदा २ जनाको मृत्यु भएको हो। ठूलो लुम्पेकका ३४ वर्षीया तिलकुमारी तरामु र ९ वर्षीय छोरा दर्शन तरामुको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।
लिम्घास्थित भिरकुनाका तीन घर पहिरोमा पुरिएका छन्। दुई सय मिटर माथिबाट आएको पहिरोले ढाल बहादुर विक, छलि विक र पम्फा विकको घर पुरेको छ।
सोमबार राति घरमा सुतिरहेको अवस्थामा माथिबाट खसेको पहिरोले ती घरहरु बगाएर करिब ५० मिटर तल पुर्याएको छ।