
तुलसीपुर,असोज २८ । तुलसीपुर उपमहानगरपालिका – १७ झिङ्गैका ३३ बर्षीय राजन लामिछाने सात वर्ष यता व्यवसायिक रूपमा बदिया भाले पाल्दै आएका छन् ।
भालेलाई (खसी पार्ने) बन्ध्याकरण गर्ने बिधिलाई बदिया भनिन्छ । २०७५ सालदेखि व्यवसायिकरूपमै बदिया भाले पाल्न थालेको उनले सालिन्दा एक सय जति त्यस्ता भाले बेच्ने गरेको बताउँछन् ।
जसबाट उनले बार्षिक तीन लाख जति आर्जन गर्छन भने डेढ लाख चोखो बचन हुने बताउँछन् । ब्यबसाय राम्रो हुँदै गएपछि उनले ‘ठाकुर बाबा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म’ दर्ता नै गरेका छन् ।
बिभिन्न तीन वटा निजी विद्यालयमा प्लस टूमा सामाजिक र नेपाली विषय अध्यानपन गर्दै आएका उनले दिर्घकालिन रुपमा बदिया भाले पाल्ने योजना सुनाए ।
‘साँझ बिहान फुर्सदको समयमा समय दिए पुग्छ,’ उनले भने ‘ अघि पछि चासो राखेर म आफ्नो अध्यपान लगाएतका अन्य काममा जाने गर्छु ।’ राजनलाई उनकी श्रीमति र पढ्दै गरेका छोराले पनि उत्तिकै साथ सहयोग दिदै आएका छन् । उनी काम बिषेशले कतै गए एक टाइम कुखुरा डुलाउने र दाना पानी दिने काम उनीहरुले गर्ने गरेको राजनले बताए ।
राजनका अनुसार चल्ला चार महिना पछि कुखुराको भाले बदिया बनाउनका लागि योग्य मानिन्छ । बदिया बनाएको भाले ६ महिना पछि खानका लागि योग्य हुने राजन बताउँछन् । राजन गाउँ घरबाट कुखुराका चल्ला खरिद गरि केही समय पालेर ती बदिया बनाउँछन् ।
बदिया बनाएको ६ महिनादेखि एक बर्ष पछि बल्ल बिक्री गर्न थाल्छन् । उनी भालेको बन्ध्याकरण गर्ने काम पनि आँफै गर्दैनन् । बरु स्थानीय प्राबिधिकलाई बोलाएर गर्ने गर्छन । एउटा भाले बन्ध्याकरण गरेको ५० रुपैंयाँ तिर्छन ।
लोकल भाले भन्दा बदिया भालेको मूल्य दुई गुणा बढी हुन्छ । जस्तै लोकल भाले गाउँमा ज्यूँदो खरिद गर्दा यति खेर बढीमा ६ सय रुपैयाँ केजीमा पाउँछ भने बदिया भाले कम्तिमा १२ सय नभइ पाउँदैन ।
लामिछानेका अनुसार उनले एउटा बदिया भाले तीन हजारदेखि तीन हजार छ सयसम्ममा बिक्री गरेका छन् । प्राय जसो बदिया भाले तौल गरेर भन्दा पनि हेरेर एक मुष्ट अर्थात कुत्वा बिक्री हुँदै आएका छन् । सामान्ने रुपमा कुखुरालाई बदिया बनाइ गरिने ब्यापार पछिल्लो समय दाङको पहिचान बन्दै गएको छ ।
दाङबाट काठमाडौं लगाएत ठूला सहर बजारमा दाङबाट बदिया भालेको माग हुने गरेको छ । राजन पनि बिभिन्न सामाजिक संजालको माध्यमबाट आउने माग अनुसार बदिया भाले बिभिन्न सहर बजारमा पठाउँदै आएको बताउँछन् ।
त्यस्तो माग दसैं, तिहारमा जस्ता पर्वहरुमा ह्वात्तै बढ्ने उनी बताउँछन् । दाङका बिभिन्न किसान यस प्रति आकर्षित छन् ।
लमही नगरपालिका – ६ खैरीमामा ब्यबसायिक रुपमा बदिया भाले पालन हुँदै आएको छ । कमलजंग सिंह ठकुरीले ३० कठ्ठा जग्गामा विगत ६ वर्षदेखि निरन्तर व्यावसायिक रूपमा बदिया भाले पाल्दै आएका छन् ।
ठकुरी देउखुरी उद्योग बाणिज्य संघका अध्यक्षपनि हुन । उनले ‘बुह्रान बहुउद्देश्यीय कृषि फर्म’ दर्ता गरि ब्यबसायिक रुपमा बदिया भाले पाल्दै आएका छन् । जसबाट उनले राम्रो आम्दानी पनि गर्दै आएका छन् ।
लमही नगरपालिका–३ नारायणपुरको ‘नारायणी महिला कृषि सहकारी संस्था’ले पनि व्यावसायिक रुपमा बदिया भाले पाल्दै आएको संस्थाका अध्यक्ष गंगा चौधरीले जानकारी दिए ।


तस्बिर सबै फरककोण ।

