दाङ, साउन ८ । साउन ६ गते बेलुका भेरी नदीमा टिपरसहित खसेका दाङका एक जनासहित तीन जना अझैं फेला परेका छैनन् ।
टिपरसहित नदीमा खसेका मध्य दाङका टिपर चालक मनिराम चौधरी, रुकुम पश्चिम सानिभेरी गाउँपालिका – ३ का धनविर बराइली र रुकुम पूर्वको सिस्ने गाउँपालिका – ८ स्यालापाखाका हरि बिक हालसम्म फेला पर्न नसकेको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएपपी प्रमेश बिष्टले जानकारी दिए ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –१४ पिपलचौरस्थित भेरी नदीमा साउन ६ गते बेलुका पौने ८ बजेतिर टिपरसहित खसेका तीन जना अझंै फेला परेका छैनन् ।
जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड अन्तरगत जाजरकोटको नलगाड नगरपालिका – ११ चिसापानीबाट वडा नं. १४ को छेपारे तर्फ जाँदै गरेको रा १ क १५०१ नम्बरको टिपर साउन ६ गते बेलुकी पौने ८ बजेतिर खसेको थियो ।
रुकुम पश्चिमको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले टिपरमा चालकसहित तीन जना सवार रहेको यसअघि नै बताएका थिए ।
भेरी नदीमा पानीको बहाब बढेका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको प्रहरीले जानकारी दिएको छ । रुकुम पश्चिम प्रहरी र जाजरकोट प्रहरीले मिलेर उनीहरुको खोजी गरिहेका छन् ।
टिपर भने बुधबार बेलकी खसेको ठाउँ भन्दा झन्डै ५ सय मिटर दक्षिणमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
