
सल्यान, जेठ २३ ।
सल्यानको कपुरकोटमा भलिबल, ब्याडमिन्टन र महिला दौड प्रतियोगिता सुरु भएको छ । प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत कपुरकोट गाउँपालिका, खेलकुद विकास समितिको आयोजनामा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले उद्घाटन गरेका हुन् ।
पञ्चेबाजा, सोरठी तथा लहरे नाचसहित प्रतियोगिताको उद्घाटन गरिएको हो । अध्यक्ष सेनले खेल क्षेत्रको विकास लागि अध्यक्ष कप सञ्चालन गरेको बताए । प्रतियोगिताअन्तर्गत पुरुष भलिवलमा ६ वटा वडाबाट एक÷एकवटा समूह, ब्याडमिन्टनमा १२ वटा समूह तथा चार सय मिटर महिला दौडमा एक वडाबाट एकजना गरी ६ जनाले प्रतिस्पर्धा गर्दैछन् ।
भलिवलमा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार पाउने छन् । ब्याडमिन्टन प्रतियोगितामा प्रथम समूहलाई ८ हजार, द्वितीयलाई ६ हजार र तृतीय हुनेलाई ४ हजार प्रदान गरिने भएको छ । महिला दौडमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडिलाई क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्रदान गरिने छ । २५ गते प्रतियोगिता समापन गर्ने आयोजकले जानकारी दिएको छ ।