
तुलसीपुर, असोज ६ ।
तुलसीपुरमा भोलि (बुधबार) बिहान महिला स्लो रेस स्कुटर प्रतियोगिता हुने भएको छ ।
बिहान सात बजे तुलसीपुरस्थित अरणिको मैदानमा प्रतियोगिता हुने भएको हो ।
‘आर्टिष्टिक इन्टरट्रेनमेन्ट’को आयोजनामा हुने प्रतियोगितामा प्रथम हुनेले नगद पाँच हजार पुरस्कार पाउने छन् । त्यस्तै दृतिय हुनेले दुई हजार पाँच सय र तृतिय हुनेले एक हजार दुई सय ५० रुपैयाँ पुरस्कार प्रदान गरिने कार्यक्रमका संयोजक झग्गु भण्डारीले बताए ।
प्रतियोगितामा सहभागी सबैलाई नेपाली कथानक चलचित्र ‘बा एक योद्धा’ हेर्नका लागि निशुल्क टिकट प्रदान गरिने भएको छ । साथै प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विजेताका परिवारका सदस्यलाई समेत चलचित्र ‘बा एक योद्धा’ हेर्नका लागि अबशर प्रदान गरिने भएको छ ।
दाङका निर्माताले निर्माण गरेको नेपाली चलचित्र ‘बा एक योद्धा’ असोज ९ गतेदेखि रिलिज हुँदै छ । सोही चलचित्रको प्रचार प्रशारका लागि तुलसीपुरमा महिलाका लागि स्लो स्कुटर रेस प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
भण्डारीका अनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेका महिलाले मात्रै प्रतियोगितामा भाग लिने पाउने छन् । प्रबेश शुल्क लाग्ने छैन ।
स्थानीय महिला दिदी बहिनीहरुको सहभागितामा हुने प्रतियोगिताले उनीहरुमा आत्मविश्वास अभिबृद्धी गर्नुका साथै सुरक्षित सवारी संस्कृतिलाई प्रोत्साहन गर्ने आयोजकको अपेक्षा छ ।
प्रतियोगितामा सहभागिताका लागि क्यूआर कोडमा स्क्यानिङ गरि घरबाटै पनि दर्ता गर्न सकिने छ । इच्छुक महिला दिदी बहिनीले आयोजकले उपलब्ध गराएको दर्ता प्रक्रियामार्फत सहभागिता जनाउन सक्ने भण्डारीले बताए ।
प्रतियोगिताबारे जानकारी दिन ‘आर्टिष्टिक इन्टरट्रेनमेन्ट’ले सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेको थियो ।




