दाङ, कात्तिक ९ । दाङमा आमाले आफ्नै १६ दिने छोरीको हत्या प्रयास गरेको आरोपमा पक्राउ परेकी छन् ।
लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ बर्षीया निर्मा चौधरीले आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले निर्मालाई पक्राउ गरेको हो ।
बुधवार दिउँसो ४ बजेतिर आफ्नै घरको घर पछाडि लगेर तरकारी काट्ने चक्कुले छोरीको घाँटी रेटी रहेको अवस्थामा निर्माका देवरले देखेका थिए ।
सिशुको घाँटीमा चक्कुले काटेको खत छ । हाल उनको उपचार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भइ रहेको छ ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बच्चीको अवस्था गम्भीर जानकारी दिए ।
प्रहरी निरीक्षक श्रेष्ठले प्रहरी थुनामा राखिएकी निर्मामा मानसिक समस्याका लक्षणहरु देखिएकोपनि जानकारी दिए ।
निर्माले असोज २३ गते छोरीलाई जन्म दिएकी थिइन ।
निर्मा र शिबकुमार चौधरीबाट अर्की ३ बर्षीया छोरीपनि छन । पति शिबकुमारसहित घरका अन्य सदस्य काममा ब्यस्त रहेको समयमा निर्माले छोरीको हत्या प्रयास गरेकी थिइन ।
सुत्केरी पछि कतिपय आमाहरु डिप्रेसनमा पुग्ने खतरा रहने चिकित्सकहरुले बताएका छन् ।