२०८२ पुष ३० गते बुधवार

राजनीति र माहुरीपालनमा डाँगी


दाङ, साउन १७ । राजनीतिमा जति सक्रिय छन्, डाँसबहादुर डाँगी कृषि कर्ममा पनि त्यत्तिकै छन् । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष डाँगी जनताको सेवासँगै विगत १० वर्षदेखि माहुरीपालन व्यवसाय गर्दै आएका छन् ।

माहुरीपालनमा पनि डाँगीले लोकल स्थानीय जातको सेरेना माहुरीलाई व्यावसायिक रूपमा पालन गर्दै आएका छन् । खास गरी जङ्गलमा रुख र भिरहरूमा बस्ने माहुरीलाई व्यवस्थित रूपमा घारहरू निर्माण गरेर एकदशकदेखि डाँगीले व्यावसायिक माहुरी पाल्दै आएका छन् । जङ्गलबाट खोजेर घरमा ल्याउँदै पाल्ने गरेका डाँगीले १० वर्षको अवधिमा माहुरीका करिब डेढ सय घार बनाउन सफल भए पनि अहिले माहुरीको सङ्ख्या घटेको बताए ।


जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि घरभन्दा जनताका लागि समय दिन थालेपछि माहुरीको घार घट्न पुगेको बताए । वडा अध्यक्ष समेत रहेका डाँगीले भने, ‘राजनीति मात्रै गर्दा घरमा बढी समय दिन पाइन्थ्यो तर अहिले जनप्रतिनिधि भएपछि घरभन्दा जनताको काममा बाहिर बढी समय दिनुपर्ने भएको छ । जसले गर्दा घरमा माहुरीलाई समय दिन पाएको छैन ।’

पहाडी क्षेत्रमा चिउरीलगायतका विभिन्न फलपूmलका बिरुवाहरू हुने भएकाले चरनको समस्या नहुने भए पनि माहुरीलाई अरिङ्गाल र बच्छिउबाट बचाउन समस्या हुने गरेको उनले बताए । उनले भने, ‘शून्य घारबाट सुरु गरेको माहुरीलाई बढाउँदै–बढाउँदै डेढसयसम्म लगेको थिएँ तर राजनीतिमा लागेपछि घरमा समय दिन पाइनँ, जसले गर्दा माहुरीहरू अहिले माहुरीको घार घटेर ५० देखि ६० घारहरू मात्रै बच्न सफल भएका छन् ।’


डाँगी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनले भने, ‘भौगोलिक विकटताका कारण वडाको ठुलो भूगोल छ । जसले गर्दा वडा कार्यालयबाट दैनिक रूपमा घरबाट आउन जान सक्नुपर्ने अवस्था छैन । डेरा गरी बस्दा माहुरीलाई नियमित हेरचाह नहुने हुँदा माहुरी घट्न पुगेका छन् ।’ उनी नहुँदा घरमा माहुरी श्रीमती गोमा डाँगीले हेर्ने गर्छिन् । करिब दुई सय माहुरी पु¥याउने लक्ष्य रहेको डाँगीले बताए ।


वडा अध्यक्ष नभएर माहुरीपालनमै समय दिन पाएको भए अहिले करिब दुई सय बढी माहुरी भइसक्ने उनले बताए । उनले भने, ‘माहुरीलाई चराउन लग्न नपर्ने र गाईबाख्रालाई जसरी गाँस पराल दिन नपर्ने भएकाले पाल्न सजिलो हुने गरेको छ तर यसलाई मार्ने किराहरूबाट बचाउन ध्यान दिनुपर्छ ।’ डाँगीसँग करिब ५० घार सेरेना जातको माहुरी र करिब १० घारजति पुत्का जातको माहुरी रहेको बताए ।

पुत्का माहुरीको सबैभन्दा सानो जातको माहुरी हो । यसको मह प्रतिकिलो १० हजार रूपैयाँमा बिक्ने गरेको उनले बताए । पुत्का माहुरीको मह औषधीका रूपमा समेत प्रयोग हुने भएकाले महँगो मूल्यमा बिक्री हुने गरेको श्रीमती गोमाले बताइन् । लोकल सेरेना जातको माहुरीको मह समय अनुसार ८ सयदेखि १२ सय रूपैयाँसम्म प्रतिकिलो बिक्री हुने गरेको छ ।


उनका अनुसार कार्तिक महिनामा निकालेको मह १२ देखि १३ सय रूपैयाँ प्रतिकिलो बिक्री हुने गरे पनि चैत, असार महिनातिर निकालेको मह कम मूल्यमा बिक्री हुने गरेको छ । वर्षमा साढेचार लाखसम्म मह बिक्री गरेका डाँगीले अहिले करिब दुई लाखसम्म वार्षिक रूपमा आम्दानी हुने गरेको बताए । लोकल माहुरीको मह आपूmले उत्पादन गर्ने भएकाले बिक्रीका लागि अहिलेसम्म कुनै समस्या नभएको उनले बताए ।

उनले भने, ‘बजारमा व्यावसायिक रूपमा पालिने माहुरीकोभन्दा लोकल माहुरीको मह मन पराउने धेरै हुनुहुन्छ । जसले गर्दा सिजनमा घरमै मह खोज्न आउनुहुन्छ, उत्पादन भएको माहुरी बिक्रीका लागि समस्या हुँदैन ।’ उनले भने, ‘माहुरीको घार बढाउन सके बिनालगानी राम्रो आम्दानी लिन सकिन्छ ।’

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *