२०८१ बैशाख २१ गते शुक्रवार

एक बर्ष पछि बल्ल जडान भए राप्ती प्रादेशिक अस्पतालमा डायोलाइसिस मेसिन

मुख्यमन्त्री चौधरी भन्छन् – तुलसीपुरमा सबै सेवा उपलब्ध हुने गरि अस्पतालको बिकास गर्र्छौं

तुलसीपुर, असार ४ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गएको बर्ष साउनमा ल्याइएका डायोलाइसिस मेसिन एक बर्षपछि बल्ल जडान गरिएको छ ।

अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठ वटा नयाँ मेसिन पठाएका थियो । तर, ती मेसिन जडानका लागि आबश्यक पर्ने रकम नहुनु , ठाउँ अभाब रहनु र दक्ष जन शक्तिको समेत अभावलाई कारण देखाउँदै मेसिन थन्काउँदै आइएको थियो ।

पछिल्लो समय लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले ती मेसिन जडानका लागि आबश्यक पर्ने २५ लाख रकम, १० जना स्टाफ नर्सिङ स्टाप र दुई जना कार्यालय सहयोगी पठाए संगै मेसिन जडान गर्न सहज भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले जानकारी दिए ।

अस्पतालमा आएका मेसिन समयमै जडान गर्न नसकेको भन्दै आलोचना हुने गरेको थियो । मेसिन उपयोग बिहिन भएपछि तीन वटा मेसिन काम चलाउनका लागि बाँके जिल्लाका अस्पतालमा लगि उपयोग गरिएको थियो । ती मेसिन पनि हालसालै फिर्ता ल्याएर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमै जडान गरिएका छन् ।

मेसिन जडान भएसंगै विरामीलाई सेवादिन सहज भएको अस्पताल प्रशासन बताउँछ । अस्पतालमा नयाँ आठ वटा मेसिन जडान भए संगै अब कुल १३ वटा डायोलाइसिस मेसिनजडान भएका छन् । यस अघि पाँच वटा मेसिन मात्रै थिए । त्यस मध्येपनि एउटा बिग्रिएको हुँदा चारवटा मेसिनले मात्रै सेवा दिदै आइएको थियो ।


हाल १२ वटा मेसिनबाट डायोलाइसिस भइरहेको अस्पतालका निमित्त मेसु डा. अर्यालले बताए ।
यस अघि २२ जनाविरामीलाई नियमित डायोलाइसिस भइरहेकोमा पपछिल्लो समय दोब्बर बढी ४२ जनालाई डायोलाइसिस सेवा दिन थालिएको छ ।
ती मध्य केही बिरामीलाई अवस्था हेरि हप्तामा तीन पटक सम्म डायोलाइसिस गर्ने गरिएको उनले बताए ।

अस्पतालमा नयाँ डायोलाइसिस मेसिन सञ्चालनमा आए संगै विरामीलाई पनि सहज भएको अस्पताल प्रशासन मात्रै हैन बिरामीहरु पनि बताउँछन् ।
यस अघि लमहीमा डायोलाइसिस गराउँदै आएका सल्यान दार्माका धनबहादुर सार्कीले तुलसीपुरमै सेवा पाउँदा खुसी साटे । उनले केही समयमा घोराहीमा सोही सेवा लिन गएको र ती ठाउँमा जाँदा थप सास्ति दुःख कष्ट तथा खर्चपनि बढी परेको बताए ।

तुलसीपुरमा डायोलाइसिस गराउनका लागि ११ महिना अघि नाम टिपाएको बताउने उनले तुलसीपुरमा नयाँ मेसिन जडान गरिएपछि अस्पतालले आँफै सेवा लिनका लागि बोलाएको जानकारी दिए ।

पछिल्लो समय मन्त्रालयले नयाँ १० जना नर्सिङ स्टाप र दुई जना कार्यालय सहयोगी पठाएको छ । पहिलेका ४ जना नर्सिङ र एक जना कार्यालय सहयोगी छँदै थिए । डायोलाइसिसमा काम गर्ने जनशक्ति मात्रै हैन मेसिनपनि बढेको हुँदा सेवा प्रवाहमा थप सहज भएको अस्पताल प्रशासन बताउँछ ।
तीन सिफ्टमा सबै मेसिन संचालन गर्न सकेमा तुलसीपुरमै ६० जना बढीलाई सेवा दिन सकिने अस्पताल प्रशासनका पदाधिकारीको अनुमान छ ।

अस्पतालको बिगत

पहिले बजारमा भाडामा बस्दै आएको साबिक राप्ती अंचल अस्पताल २०६५ सालमा आफ्नै भवन बनेपछि पहिलेको अंचलाधिसको भवन भएको ठाउँमा आएको हो ।
तत्कालिन सल्यानी राजाले बनाएको आकर्षक दरबारको केही हिस्सा सशस्त्र द्धन्दको समयमा तत्कालिन बिद्रोही शक्ति नेकपा माओबादीका कार्यकर्ताले बम हानेर केही भागमा क्षति पु¥याएका थिए । त्यसपछि त्यो कलात्मक र आकर्षक दरबारलाई धत्काएर त्यही ठाउँमा अस्पतालको भवन निर्माण गरिएको हो ।


अंचल अस्पतालको भवन निर्माण गर्नका लागि तुलसीपुरबासीले महायज्ञ लगाइ झन्डै साढै दुई करोड जति रकमको जोहो गरेका थिए । त्यतिले नपुगेपछि अस्पतालको स्तर बृद्धिका लागि तुलसीपुरबासीले आन्दोलनपनि गरेका थिए ।


तुलसीपुर – घोराही सडक खण्ड मात्रै नभइ अमेलिया पुगेर पूर्व–पश्चिम राजमार्गसमेत बन्द गराएका थिए । त्यसपछि बल्ल भवन निर्माणका लागि राज्यले रकम दिएको थियो । ५० बुडको मात्रै स्वीकृति भएपनि राप्ती प्रोदशिक अस्पतालमा हाल एक सय ३५ बेड संचालनमा रहेका छन् ।


हालसालै तुलसीपुरका स्थानीय बासिन्दा तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकारबाट यो हस्पिटललाई दुई सय बेडको संचालन गर्ने निर्णय गराइ सकेका छन् । अस्पताल प्रशासनले सोही अनुसार सर्भे तथा कागजी प्रक्रियाको काम भइ रहेको जानकारी दिएको छ ।


बिगतमा रिफर रेन्टरको रुपमा परिचित यो अस्पतालमा पछिल्लो समय सेवा सुबिधा थपिदै जान थालेपछि बिरामीको मनपनि जित्दै गएको छ । दैनिक कम्तिमा पनि दुई सय ५० बढी बिरामी सेवा लिन आउने गरेको यो अस्पताल पश्चिम दाङका साथै रोल्पा, सल्यान र रुकुमका बिरामीपनि उपचार गराउन आउने गर्छन ।


ऋबको हप्ता दिन भित्रै एनआइसियु सेवा संचालनको तयारी गरेको यो अस्पतालमा अझैं आइसियु सेवा भने संचालनमा आएको छैन । त्यस्तै मुटु, नशा, मुत्र रोग जस्ता रोगहरुका बिशषेज्ञ डाक्टरपनि यहाँ उपलब्ध छैनन् । एमआरआइ मेसिनकोपनि यहाँ खाँचो छ । फिजियो थेरापी सेवापनि उपलब्ध छैन ।


मुख्यमन्त्री चौधरीले भविश्यमा यी सबै उपचार सेवाहरु तुलसीपुरमै दिने गरि अस्पतालको बिकास गरिने बताउँदै आएका छन् । यो अस्पतालमा डाक्टर, नर्स र अन्य कर्मचारीसमेत गरि दुइ सय ३४ जना कार्यरत छन् । ती मध्य ३८ जना डाक्टर र ७६ जना नर्सिंङ स्टाप र अन्य कर्मचारीहरु रहेका छन् ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *