२०८१ जेष्ठ ५ गते शनिवार

सन्दीपको मुद्दामा आज अन्तिम बहसको पेशी


काठमाडौँ,जेठ ७ । राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको फाइनल चरणको बहसका लागि जिल्ला अदालत काठमाडौँले आइतबारका लागि पेशी तोकेको छ।

पटक-पटक फाइनल चरणको बहसका लागि पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन नसक्दा मुद्दाले अन्तिम किनारा पाउन सकेको छैन।

सर्वोच्च अदालतले गत १५ फागुनमानै काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अबलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी दिएको आदेशको करिब तीन महिना पूरा हुँदा पनि मुद्दाले किनारा पाउन सकेको छैन।

यसअघि गत १९ वैशाखमा मुद्दाको पेशी न्यायाधीश दीपक ढकालको इजालासमा परेको थियो। जहाँ सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरिसकेका थिए।

न्यायाधीशले इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिनुपर्ने आमचलन रहँदै आए पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइनेमा राखेपछि पुन: फाइनल चरणको बहस भएको छैन।

सन्दीपका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले आजको बहसमा किनारा लगाउनका लागि आग्रह गर्ने बताए।

उनले भने, ‘कोर्टलाई हामी टाइम फिक्स गरेर निरन्तर सुनुवाइका लागि आग्रह गर्ने छौँ। अदालतले पनि सर्वोच्चको आदेशलाई अपनत्व लिने विश्वास छ।’

घिमिरेले यो विषय सन्दीपका लागि मात्र नभएर देशको प्रतिष्ठा र क्रिकेट र अन्तर्राष्ट्रिय खेलहरूका लागि समेत महत्त्वपूर्ण भएकाले अदालतले निरन्तर सुनुवाइको प्रक्रियामा लगेर मुद्दा टुंग्याउनु पर्ने आफूहरूको बलियो मत रहने बताए।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *